PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

गृहजिल्लामा उद्घाटन र शिलान्यासमा व्यस्त अर्थमन्त्री पौडेल, ‘गेम चेञ्जर’ परियोजनाहरुले जिल्लाको मुहार फेर्ने दाबी



पूजा पन्थी

गृहजिल्लामा उद्घाटन र शिलान्यासमा व्यस्त अर्थमन्त्री पौडेल, ‘गेम चेञ्जर’ परियोजनाहरुले जिल्लाको मुहार फेर्ने दाबी

बुटवल : अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गृहजिल्ला आएर रुपन्देहीमा कार्यान्वयनमा रहेका र निर्माण हुने ‘गेम चेञ्जर’ परियोजनाहरुले जिल्लाको मुहार फेर्ने बताएका छन्। जिल्लाकै तिलोत्तमामा निर्माण हुने मेडिकल कलेज, अन्तर्राष्ट्रिय खेलमैदान, पार्क, सडक सञ्जाल, प्रादेशिक बसपार्कलगायतका पूर्वाधारले यहाँको विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने उनको विश्वास छ।

तिलोत्तमा नगरपालिकाले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवनको बिहीवार उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले निकट भविष्यमा कार्यान्वयनमा आउने महानगरको आवश्यकतालाई पूरा गर्नेगरी तिलोत्तमा नगरपालिकाले ‘प्राइम लोकेशन’ मा भवन निर्माण गरेको उल्लेख गरे। तिलोत्तमा रुपन्देहीकै केन्द्र भागमा रहेकोले बुटवल, तिलोत्तमा, सिद्धार्थनगरलगायतका पालिका समेटी बन्ने महानगरको कार्यालय यहीँ ठाउँमा निर्माण हुने उनले स्पष्ट पारे।

अर्को स्थानीय तहको निर्वाचनसम्ममा यो क्षेत्र महानगरको रुपमा विकाश हुने उनको दावी थियो।

तिलोत्तमाका जनप्रतिनिधिहरुले जनताको हित र विकासप्रति समर्पित भएर काम गर्ने असल एवं सफल जनप्रतिधिको पहिचान बनाएको बताउँदै नगर प्रमुख, उप-प्रमुखलगायतका जनप्रतिनिधिहरुको प्रशंसा गरेका थिए। साथै उनले विकासप्रति यहाँका जनप्रतिनिधिले देखाएको सक्रियतामा आफ्नो सधैं साथ रहने स्पष्ट पारे।

रुपन्देही देशमै विकासको रोलमोडल बनिरहेको चर्चा गर्दै अर्थमन्त्री पौडेलले जिल्लाको मध्यभागमा रहेको तिलोत्तमा समेत यसमा एकाकार रहेको उल्लेख गरे। तिलोत्तमाले विकास निर्माण, सामाजिक परिवर्तन, वातावरण संरक्षण, सरसफाईमा दह्रो कदम चालेको उल्लेख गर्दै उनले तिलोत्तमा अब अघि नै बढिरहने बताए।

तिलोत्तमा नगपालिका आफ्नै भवनमा

२०७४ माघ ७ गते तत्कालीन प्रतिनिधिसभा सदस्यको रुपमा आफैँले शिलान्यास गरेको भवनको बिहीवार अर्थमन्त्रीको रुपमा उनी आफैंले उद्घाटन गरेका छन्। 

आठ बिगाहा १४ कट्ठा क्षेत्रफलमा फैलिएको प्रशासनिक भवन परिसरमा १९१२.६ वर्गमिटरमा फैलिएको चार तलाको भवन निर्माण भएको छ। भवनमा करिव १२० जना क्षमताको सभाहलसहित ४० कोठा रहेका छन्। अपाङ्तामैत्री, लिफ्ट सुविधासहितको भवनमा आकर्षक गार्डेनिङको काम अघि बढेको छ। ८ करोड ७९ लाख लागत अनुमान रहेको भवनको निर्माण सम्झौता ६ करोड ४२ लाखमा भएको थियो।

अर्थमन्त्री विष्णु पौडेल गृहजिल्ला आएसँगै शिलान्यास र उद्घाटनमा व्यस्त हुन्छन्। बिहीवार तिलोत्तमा नगरपालिकाको भवन उद्घाटन गरेका अर्थमन्त्रीको शुक्रवारको लागि मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell