PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

विवाहेतर सम्बन्धले निम्त्याएको क्रुर घटना : आफैँले मार्न नसकेपछि सुपारी दिएर मार्ने योजना दोस्रो पटकमा सफल



एम बम

विवाहेतर सम्बन्धले निम्त्याएको क्रुर घटना : आफैँले मार्न नसकेपछि सुपारी दिएर मार्ने योजना दोस्रो पटकमा सफल

कैलाली : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ५ गेटामा बस्ने शिवचरण रानाको बिहान ४ बजे पसलबाट भैँसी दुहुन घर पुग्नु र फेरी पसलमै फर्किनु दैनिकी नै थियो। उनी गेटा आँखा अस्पताल नजिकपसल सञ्चालन गरेर त्यहीँ बस्ने र बिहान ४ बजे भैँसी दुहुन घर पुगेर फेरी पसलमै फर्किन्थे। तर, गत फागुन १५ गते भने उनी सधैँझैँ पसल फर्किन पाएनन्।

टाउकोमा गहिरो चोट लागेको अवस्थामा पसल र घरको बीचमा पर्ने बाटोमा १५ गते बिहान वीभत्स तरिकाले हत्या गरिएको अवस्थामा मृत फेला परेका रानाको हत्या गरिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। उनको हत्याको कारण भने विवाहेतर सम्बन्ध देखिएको छ।

प्रहरीकाअनुसार वडा नम्बर ५ मै बस्ने विवाहित जयन्ती चौधरी र विवाहित शिवचरण रानाबीचमा अनैतिक सम्बन्ध रहँदै आएको कुरा २ वर्ष अघि नै समाजमा बाहिर आएको थियो। जयन्तीका श्रीमानले घरबाट निकालेपछि शिवचरणले दुई लाख दिने र आइन्दा नभेट्ने सर्तमा उनी राजी भएका थिए। त्यसपश्चात् त्यति बेला दुई लाखमा उक्त घटना समाजमा गुपचुप मिलाइयो। केही समय दुवै जनाका बीचमा सम्बन्ध नरहे पनि फेरी अघि बढ्यो।

दुई महिनाअघि मात्रै जयन्तीले शिवचरणको सम्बन्ध फेरी अर्कै युवतीसँग रहेको कुरा थाहा पाइन्। उनले उक्त युवतीलाई छोड्न आग्रह गर्दा शिवचरणले उल्टै धम्की दिएर भेट्ने र अर्की युवतीलाई छोड्न नमानेपछि जयन्तीले बदला लिन शिवचरणलाई मार्ने योजना बनाएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर जबराले भने, ‘बदलाको भावमा अभियुक्तले आफन्तलाई प्रयोग गरी मार्न लगाएको खुल्न आएको छ।’

प्रहरीकाअनुसार उनीहरूबीच तेस्रो युवतीका कारण विवाद हुन थालेपछि जयन्तीले सुरुमा शिवचरणलाई आफैँ मार्ने योजना बनाएकी थिएन्। तर, त्यसमा उनी विफल भएपछि उनले नजिकका आफन्तलाई सुपारी दिएर मार्न लगाएको पाइएको छ। यद्यपि सुपारी दिएको विषयमा प्रहरीले पुष्टि भई नसकेको जनाएको छ।

जयन्तीले शिवचरणको हत्या गर्न लगाएका दुई पुरुषले अघिल्लो दिन नै उनलाई मार्ने योजना बुने पनि त्यस दिन उनी घरबाट पसल ढिला फर्केपछि योजना विफल भएको प्रहरीले जनाएको छ।

‘त्यसपछि सोही दिन बेलुका जयन्तीले भोलि जसरी पनि मार्नुपर्छ भनेर फोनमा दबाब दिएपछि दोस्रो बिहान अर्थात् १५ गते बिहान ४ देखि ५ बजेको बिचमा धारिलो हतियार प्रयोग गरी शिवचरणको हत्या गरिएको पाइयो,’ जबराले सुनाए।

घटनाकी मुख्य योजनाकार प्रहरी नियन्त्रणमा आएपनि अन्य दुई जना पुरुष भने फरार रहेका छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell