PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

विप्लवसँग रातारात वार्ता भएको होइन: प्रम ओली, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला?’



पहिलोपोस्ट

विप्लवसँग रातारात वार्ता भएको होइन: प्रम ओली, ‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गर्‍यो, राष्ट्रसंघले कसरी मूल्यांकन गर्ला?’

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन्।

नेत्रविक्रम चन्द विप्लव समूह ३ बुँदे सहमतिमार्फत मुलधारको राजनीतिमा आएसँगै हिंसात्मक द्वन्द्वको युग अन्त्य भएको ओली भनाइ छ।

‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ। अब हिंसात्मक द्वन्द्व छैन। हिंसात्मक बाटो र आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरिरहेको छैन। शान्तिपूर्ण देश बनेको छ। यहाँ शान्ति छ। अब द्वन्द्व छैन। शान्ति छ,’ राष्ट्रियसभा गृहमा सहमतिमा हस्ताक्षर समारोहमा ओलीले भने।

ओलीले साहसिक निर्णयका लागि विप्लवलाई बधाइ पनि दिए। ‘राष्ट्रियता र स्वाधिनताको रक्षा र सहि प्रयोग, राष्ट्रिय अखण्डताको हितहरुको रक्षा, लोकतन्त्रको रक्षा र सुदृढिकरण, समाजिक न्याय र समानता, अधिकारसम्म पुग्ने बाटोका लागि नेपाली जनताले चाहेको शान्ति, निर्भय तरिकाले शान्तिपूर्ण राजनीति र शान्तिपूर्ण समाजको चाहना आज पूरा भएको छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले शान्ति प्यारामिटरमा संयुक्त राष्ट्रसंघको मूल्यांकनमा नेपाल धेरै अगाडि आएको बताउँदै भने, ‘केही समयअघिको राष्ट्रसंघको मूल्यांकनमा अमेरिका, चीन, पाकिस्तान, भारतभन्दा शान्तिको मापदण्डमा नेपाल धेरै अगाडि बढेको थियो। भरेबेलुका मूल्यांकन गर्ने हो भने कसरी गर्ला राष्ट्रसंघले? पहिले नै माथि पुगेको प्यारामिटर अब कहाँ पुग्ला? यस योगदानका लागि विप्लवजीलाई धन्यवाद।’

शान्तिपूर्ण र र मुलधारको राजनीतिमा अवतरण गर्नु साहसिक कदम भएको र यसबाट विप्लवले नेपाली जनताको मत जितेको ओलीको भनाइ थियो।

विप्लवको अवतरणलाई ओलीले भने, ‘यो फोर्स ल्याण्डिङ होइन। क्रयास ल्याण्डिङ होइन। सेफ ल्याण्डिङ हो। आन्दोलनलाई अझ सफलतापूर्वक अगाडि बढाउने, सपनाहरु पूरा गर्ने अझ प्रबल सम्भावनाको बाटोमा अगाडि बढाउनुभएको छ।’

प्रधानमन्त्री ओलीले विप्लवसँग रातारात सहमति नभएको पनि प्रष्ट पारे। ‘रातारात भयो भनेर पढेको थिएँ। रातारात होइन वर्षौदेखि चलिरहेको थियो। वार्ता हल्ला गरेर होइन वार्ता नै गर्‍यौ। गम्भीरताका साथ गर्‍यौ। ८/१० वर्ष भयो विप्लव र म भेटेर गम्भीरताका साथ कुरा गरेका थियौं। हामी दुबैप्रतिको विश्वास त्यसै समयदेखि मजबुत हुँदै आएको थियो। आज यस ठाउँमा आइपुगेको छ,’ उनले भने।

उनले सहमतिका लागि तीन बुँदे नै काफी भएको तर्क गरे। ‘१८ पुराणमा व्यासले निष्कर्षमा दुइटा कुरा भने। हाम्रो लागि तीन बुँदे नै काफी छ। धेरै वार्ताको निष्कर्ष हो। हामी छलफल र वार्ताबाट टुग्याउँछौं, कुस्ती खेल्दैनौं,’ ओलीले भने।

विप्लवले अब शान्तिपूर्ण वातावरणबाट गतिविधि सञ्चालन गर्ने विश्वास ओलीले लिए। ‘शान्तिपूर्ण ढंगले गर्ने भइसकेपछि उहाँका नेता कार्यकर्ता प्रक्रिया पुरा गरेर मिलाएर छोड्छौं। मुद्दा मामिला भए टुंग्याउछौं,’ उनले भने।

प्रधानमन्त्री ओलीले नेपाललाई एउटा नयाँ दिनमात्र होइन नयाँ युगमा प्रवेश गराएको बताए। युग परिवर्तनका लागि काम गराएको उनको दावी छ। ‘पृथकतावादी सीके राउतलाई राष्ट्रिय राजनीतिको मुलधारमा ल्यायौं। उहाँहरु पनि मुलत आइसक्नुभएको छ,’ उनले भने।

विप्लवको फरक पृष्ठभूमि भएकाले मुलधारमा अभिव्यक्तिको तरिका एकीकृत हुन केही समय लाग्ने ओलीले बताए। ‘भाषाहरु बन्न पनि समय लाग्छ। अमेरिकनले नेपालीमा तिम्रो बाउ मेरो बाउ माछा मार्न गयो भने कस्तो सुनिन्छ। अंग्रेजी टोन आइहाल्छ। हामीले अंग्रेजीमा भन्नुपर्दा उहि तिम्रो बाउ मेरो बाउ भनेजस्तै हो। अभिव्यक्तिको तरिका एकीकृत हुन केही समय लाग्छ। यो एउटा सिलसिला र प्रक्रिया हो। हामी एउटै उद्देश्यमा छौं। समृद्ध नेपाल, स्वाधिन समृद्ध नेपाल शान्तिपूर्ण नेपाल बनाउँछौं,’ उनले भने।

ओलीले सबै एकताबद्ध भएर नेपाललाई समृद्ध नेपालका रुपमा अगाडि बढाउनुपर्ने धारणा राखे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell