PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

'क्लासिक विथ इन्दिरा' मा गुञ्जिँदै सदाबहार गीतहरु



लक्ष्मी बलायर

'क्लासिक विथ इन्दिरा' मा गुञ्जिँदै सदाबहार गीतहरु
Photo : Indira Joshi / Youtube Screenshot

'राजामति कुमति जिके वसा पिरती हाय बाबा राजामति चा…' 

करिब दुई हप्ता अघि गायिका इन्दिर जोशीले नेपालभाषाको यो गीतलाई होम सा ले गीतसँगै म्यासअप गर्दै गाइन्। 'क्लासिक विथ इन्दिरा' नाम दिइएको सिरिज जब युटयुबमा अपलोड भयो उनले तारिफका साथै आलोचना समेत ब्यहोर्नु पर्‍यो।

धेरैले राजामति गीत बिगारेर गाएको भन्दै आलोचना गरे। तर उनले भने हाल चलनचल्तीमा रहेको गीतको भर्सन भन्दा अलि पुरानो भर्सनमा गीत गाएकी थिइन्। जसबारेमा धेरैलाई थाहा थिएन।

सेतुराम श्रेष्ठले भारतको कलकत्तामा सय वर्षअघि नै यो गीत रेकर्ड गरेका थिए। सन् १९०८ मा रेकर्ड भएको यो गीत अहिले गुनगुनाउने गीत भन्दा फरक रहेको उनले बताइन्।

भनिन्छ, राजमती धुन यति चर्चित थियो कि राणा प्रधानमन्त्री जंगबहादुर राणा बेलायत जाँदा उनलाई ‘गार्ड अफ अनर’ दिँदाको समय यही गीतको राष्ट्रिय गानका रूपमा बजाइएको थियो।

त्यसैले पुरानो गीतबारे धेरैले थाहा नभएकोले आलोचना हुनुलाई उनी सहर्ष स्वीकार्छिन्। भन्छिन्,'मैले गर्न खोजेको मेरो नियत भने गलत छैन। थाहा नपाएको लाई थाहा हो भनेर मूल गीत गाएको हुँ।'

आफ्नो गायनको मूल्यांकन गर्दै सेतुरामको भर्सन किन गाएको भनेर सोध्दा उनी खुसी नै छिन्। 'किनकी म जस्तै धेरैलाई पुराना गीत के हो भनेर थाहा थिएन अब थाहा हुने भयो' उनी भन्छिन्।

राजामति म्यासअपपछि इन्दिराले राई झुमार गीत सार्वजनिक गरिसकेकी छिन्। इन्दिराले १२ हप्तासम्म १२ ‌ओटा विभिन्न भाषाका पुराना गीतहरु गाएर हाल्ने योजना बुनेकी छिन्। व्यवसायिक भन्दा पनि अर्गानिक तरिकाले यो प्रोजेक्ट अगाडि सारेको उनको तर्क छ। दर्शकहरुको चासो र अनुरोधलाई मध्यनजर पुराना गीत समावेश गर्दैँ लैजाने उनले सुनाइन्।

संगीत जति परिपक्व हुँदै जान्छ  त्यति नै पुराना कलाकारहरुको मूल्य बढ्दै गएको उनको बुझाइ छ। तर नेपालमा पुराना अग्रजहरुलाई त्यति सम्मान गर्ने संस्कृति नरहेको मा दु:ख लागेको उनी बताउँछिन्।

भन्छिन् 'नेपालमा संगीतको दुई/चार पुस्ता मात्र भएको छ। तर यता अग्रजभन्दा म केमा कम छु भन्ने घमन्ड रहेको छ।'

क्लासिक गीतहरु गाउँदा निकै अनुसन्धान गर्नुपरेको उनी सुनाउँछिन्। पुरानो गीतमा रहेका केही शब्दहरुलाई अहिले परिमार्जन र समायोजन गर्ने प्रयास समेत गरेको उनले बताइन्।

'कतिपय पहिले बोलिने शब्दहरु अहिले ठ्याकै भन्न नमिल्ने हुन्छ। जस्तै: राजमतीमै यत्रो उमेर भइसक्यो श्रीमान नपाएकोले कर्म फुटेको भनिएको छ। जुन कुरा त्यो जमनामा भन्दा फरक पर्दैनथियो। तर अचेल त्यस्ता शब्द राख्दा राम्रो हुँदैन। त्यस्ता शब्दलाई हटाएर गाएकी छु।' उनले भनिन्,'त्यस्तै होम सा ले मा भोटेको दरबार भनिएको छ। अहिले भोटे भन्दा नराम्रो सुनिन्छ। त्यसैले भोटेको ठाउँमा भोटको दरबार राखिएको छ।'

उनको क्लासिक सिरिजलाई यासागुम्बाले स्पोन्सर गरेको छ। म्यूजिक नेपालको सहकार्यमा प्रोजेक्ट अघि बढाइएको उनले बताइन्।

'मनैदेखि गर्न मन लागेर 'क्लासिक विथ इन्दिरा' अगाडि बढाइएकी हुँ। म्युजिक नेपालबाट गीतको सबै अधिकार लिएर यो प्रोजेक्ट अघि सारेकी हु। सबै कुरा क्लियर गर्न एक दुई महिना लागेको थियो।'

आफ्नो यो सिरिजले पुराना गीतसंगीतलाई नयाँ पुस्तासम्म पुर्‍याउनेमा उनी आश्वास्त छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell