काठमाडौं: आजबाट सुरु भएको काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले वाग्मती प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको हो।
सुरुवाती ब्याटिङ गरेको पुलिसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन र सुनिल धमला, अनिल शाह र दीलिप नाथले समान १०/१० रन जोड्दै ७२ रन बनाए। पुलिसलाई सस्तैमा समेट्न अरियो पौडेलले सर्वाधिक ४ विकेट लिँदा नन्दन यादवले ३ र सोनु देवकोटाले १ विकेट लिए।
झिनो लक्ष्य पछ्याए पनि वाग्मती प्रदेशले लक्ष्य भने भेट्उन सकेन। ७३ रनको लक्ष्य पछ्याएको वाग्मती २७.२ ओभरमा अलआउट हुँदै ७० रनमा समेटियो।
वाग्मतीका लागि कप्तान ज्ञानेन्द्र मल्लको २२ रन र आदिल खानको १० रन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
वाग्मतीलाई लक्ष्यसम्म पुग्न नदिन पुलिसका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४ विकेट लिँदा ललित राजवंशीले ३ विकेट, सागर ढकालले २ विकेट र राशिद खानले १ विकेट लिए।