PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु



पहिलोपोस्ट

देशका विभिन्न स्थानमा सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौँः देशका विभिन्न स्थानमा शुक्रवार भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ।मोरङ, सिरहा, कास्की, कैलाली, बाँके र रुपन्देहीका छुट्टाछुटै स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको।

मोरङ, कटहरी गाउँपालिका-७ तकिया चोकस्थित सडकमा प्रदेश नम्बर १-०२-०४३ प २०७८ नम्बरको स्कुटर अनियन्त्रित भई शुक्रवार साँझ दुर्घटना हुँदा स्कुटर चालक ग्रामथान गाउँपालिका-४ बस्ने २५ वर्षीय धिरज माझीको घटनास्थलमै मृत्यु भएको थियो।

सिरहा, लहान नगरपालिका-११ पडरिया चोकस्थित सडकमा मे १ च ६८३६ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदल यात्री सोही नगरपालिका-१२ बेली जटियाही बस्ने ४० बर्षीया बुधनी देवी सदाको शुक्रवार दिउँसो मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारको लागि राउ स्मारक अस्पताल हुँदै थप उपचारको लागि विराटनगर तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।  पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्की, पोखरा महानगरपालिका-१७ विरौटामा बा ४ ख ६३८० नम्बरको टिपरले ग ५ प २५२३ नम्बरको मोटरसाइकललाई शुक्रवार राति ठक्कर दिँदा मोटरसाइकल चालक मुस्ताङ लो-घेकर दामोदरकुण्ड गाउँपालिका-६ घर भएका ४४ वर्षीय तेन्जिङ नवाङ गुरुङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कैलाली, गोदावरी नगरपालिका-१ मनहरा पुल नजिकै से ६ प ३१०३ नम्बरको मोटरसाइकल शुक्रवार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका-५ जाँई बस्ने २२ वर्षीय जगत चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो।

बाँके, डुडुवा गाउँपालिका ४ शान्ति चोकस्थित सडकमा रा १ ख २५०८ नम्बरको टिपरले भे १ प ४४२५ नम्बरको मोटरसाइकललाई शुक्रवार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा नारायण नगरपालिका-८ बस्ने ४६ वर्षीय रामदेव मण्डलको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मण्डलको नर्सिङ होम नेपालगंज हुँदै भारतको लखनउमा थप उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार टिपर चालकको प्रहरीले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।

रुपन्देही, ओमसतिया गाउँपालिका ६ नरैनापुरस्थित भित्री सडकमा ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री सोही ठाउँ बस्ने ३८ वर्षीय दयाराम मल्लाह सहनीको शनिवार बिहान मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell