PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रचण्ड - नेपाल पक्षका सांसद पनि सत्तापक्षकै लहरमा, कार्यव्यवस्था परामर्शमा कसलाई डाकिन्छ, देव गुरुङ कि विशाल भट्टराई?



कमलराज भट्ट

प्रचण्ड - नेपाल पक्षका सांसद पनि सत्तापक्षकै लहरमा, कार्यव्यवस्था परामर्शमा कसलाई डाकिन्छ, देव गुरुङ कि विशाल भट्टराई?
फोटो : एनएएन

काठमाडौं : आज ४ बजेका लागि डाकिएको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूह सत्ता पक्ष या प्रतिपक्ष कुन स्थानमा बस्लान् भन्ने चासो सबैमा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएका दाहाल नेपाल समूह अन्तत: सत्ता पक्षकै 'रो' मा बस्नुपर्ने भएको छ। पुस ५ गते प्रधानमन्त्रीले विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि आज पहिलो पटक बैठक बस्दैछ।

'सचिवालयले सत्ता पक्षलाई चारवटा 'रो' मा बस्ने व्यवस्था मिलाएको छ। यसमा कुनै फरक व्यवस्था छैन,' आज बस्ने बैठकको तयारीबारे जानकारी दिनेक्रममा संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भने। 

उनका अनुसार सत्ता र सडकमा उत्रिएका दुवै नेकपा एउटै स्थानमा रहने छन्। पहिले झै सत्ता पक्षका लागि चारवटा रो तयार गरिएको छ। बैठकका लागि भौतिक तयारी पूरा भइसकेको पाण्डेले जानकारी दिए।

उनका अनुसार राष्ट्रपतिबाट प्राप्त पत्र पढ्ने, शोक प्रस्ताव र सात वटा अध्यादेश पेश गर्ने कार्यसूची बनेको छ। त्यसबाहेक अन्य एजेन्डाहरु सभामुखले तय गर्ने उनले जानकारी दिए।  

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका प्रमुख सचेतक देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई जिम्मेवारी सुम्पेका कारण संसद बैठक संचालनका लागि कार्य व्यवस्था परामर्शको बैठकमा कसलाई बोलाइन्छ त? प्रवक्ता पाण्डेलाई सोधिएको प्रश्नमा उनले त्यो सभामुखको अधिकार क्षेत्र भएको जवाफ दिए। 

संसद सचिवालयले भट्टराईलाई गाडीसहितको सुविधा भने प्रदान गरिसकेको छ। संसद सचिवालयले नेकपाका दुई जनालाई एउटै पदको सुविधा प्रदान गरिरहेको विषयमाथि पाण्डेले 'संक्रमणकालीन अवस्था' भएको टिप्पणी गरे। 

'संक्रमणकालको अवस्थामा लिने दिने चलिरहन्छ। पुरानोलाई पनि सुविधा छ, नयाँलाई पनि दिइएको छ,' उनले भने, 'कानुनत एक जनालाई दिने हो। संक्रमणकाल भएकाले दुवैलाई दिएका छौं। निर्वाचन आयोगले प्रष्ट पारेपछि मिल्छ। कसलाई मान्यता कसलाई दिने भन्ने अधिकार दलको हो, हाम्रो होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell