काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सडक संघर्ष गरेका नेपाल कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूह यतिखेर आज बस्ने बैठकको रणनीति निर्माणमा जुटेको छ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनालाई गैर संवैधानिक भएको ठहर गरेपछि आज पहिलो पटक बैठक बस्दैछ। सर्वोच्च अदालतको फैसला अनुसारको 'डेडलाइन' भित्र हुने गरी डाकिएको बैठकमा के हुन्छ अन्यौलपूर्ण अवस्था कायमै छ।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले उल्ट्याए पनि प्रधानमन्त्री ओलीले राजीनामा नदिइ, संसद फेस गर्ने बताइसकेका छन्। प्रतिनिधिसभा विघटनपछि आज उनीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुने या नहुने यकिन हुन सकेको छैन। त्यसैले पनि दाहाल नेपाल नेतृत्वले गर्ने निर्णयलाई महत्वका साथ हेरिएको छ।
संसदीय दलको कार्यालयमा दाहाल नेपाल र नारायणकाजी श्रेष्ठ छलफलमा छन्। उनीहरुको प्रतीक्षामा सांसदहरु संसदीय दलको कार्यालयमा आउनेक्रम जारी छ। केही सांसदीय दलको कार्यालय बाहिरतिर पनि छन्।
दाहाल नेपालबिचको छलफलपछि सांसदहरुसँग उनीहरुले रणनीतिका बारेमा छलफल गर्नेछन्। नेता भीम रावलका अनुसार नेकपाको संसदीय दलको अनौपचारिक बैठक बस्दैछ।
