काठमाडौं : संसदीय दलको नेता परिवर्तनको सूचना दर्ता गर्न संसद सचिवालयले आलटाल गरेपछि पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल समूहका सांसदहरु आफैँ उपस्थित भएर हस्ताक्षर प्रमाणिकरण गर्न थालेका छन्।
आज बसेको आन्दोलनरत नेकपाको संसदीय दलको बैठकले संसद सचिवालयल र सभामुखलाई संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएको औपचारिक जानकारी गराउने निर्णय गरेको थियो।
संसद सचिवालयका महासचिव भरतराज गौतमले 'परामर्श गरेर अगाडि बढ्ने' बताएका छन्। उनले 'कानुनी रुपमा बुझेर मात्र काम गर्ने बताउँदै' पत्र दर्ता नगरेको सांसद अञ्जना विशंखेले जानकारी गराइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारढ दल दुई भागमा विभाजित भएको थियो। विघटन विरुद्ध प्रचण्ड-नेपाल समूह आन्दोलनमा समेत उत्रिएको थियो। सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्रीको कदम गैर संवैधानिक ठहर गर्दै प्रतिनिधिसभा ब्युँताएपछि आज पहिलो पटक बैठक बस्दैछ।
आज प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याइने चर्चा भए पनि तत्कालका लागि त्यो टरेको छ। संसद सचिवालयले संसदीय दलको नेता फेरिएको विषयको सूचना दर्ता गर्न नमाने पछि नेताहरु महासचिवलाई भेट्न पुगेका थिए।
सत्तारुढ दलभित्रको खिचातानीका कारण आजको प्रतिनिधिसभामा सबैको ध्यान खिचिएको छ। प्रधानमन्त्री ओलीले अविश्वासको प्रस्ताव आएमा फेस गर्ने बताएका छन्। निर्वाचन आयोगले नेकपाभित्रको विवादको विषयलाई नसुल्ट्याउँदा अझै यस प्रकरणले लामो समय लिने सम्भावना बढ्दै गएको छ।
