काठमाडौं : आज बोलाएको प्रतिनिधिसभा बैठक सुरु नहुँदै प्रधानमन्त्री केपी शर्मा ओली बाहिरिएका छन्। केही समय अगाडि बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका प्रधानमन्त्री ओली पौन पाँच बजेतिर संसद भवनबाट बाहिरिएका हुन्।
एक्कासी उनी किन बैठक नै छोडेर निस्किए त? भित्री कारण खुलेको छैन तर सर्वोच्च अदालतबाट आएको पछिल्लो फैसला त्यसको कारण भएको आँकलन गर्न सकिन्छ। बैठकबाट बाहिरिँदै गर्दा प्रधानमन्त्रीले भने - 'सर्वोच्च अदालतको फैसलालाई मान्छौ, पूर्ण पाठ पढेपछि थप प्रतिक्रिया दिउँला।'
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई हामीले सोध्यौं - प्रधानमन्त्री किन बैठक सुरु नहुँदै फर्किए? जवाफमा थापाले भने, 'उहाँ ४ बजे बैठक भनेर जानुभएको हो। बैठक सुरु नभएपछि पर्खेर बस्नु भएन। अग्नि सापकोटाजीले समयमा सुरु गर्नुपर्यो नि त। पर्खेर त उहाँ बस्नु हुन्न नि।'

आजको बैठकमा सहभागी हुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री रामबहादुर थापा, नेता बाबुराम भट्टराई लगायत संसदहरु संसद भवन पुगिसकेका छन्।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएसँगै नेकपा (एमाले) र नेकपा माओवदी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको छ। यसले फेरि राजनीति वृत्त थप तरङ्ग ल्याएको छ। प्रतिनिधिसभा विघटन पछि नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट अलगिएका पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल समेत छलफलमा जुटेका छन्। माओवादी केन्द्रका अध्यक्ष दाहालले अदातको फैसला अपेक्षा विपरित आएको प्रतिक्रया दिएका छन्।
