PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

भीम रावलको प्रश्नै प्रश्न : ओलीजी तपाईँ प्रधानमन्त्री कुन पार्टीको? वैधता गुमाइसकेको सरकारले अध्यादेश ल्याउन मिल्छ? अदालतले पार्टी गठन गर्ने?



पहिलोपोस्ट

भीम रावलको प्रश्नै प्रश्न : ओलीजी तपाईँ प्रधानमन्त्री कुन पार्टीको? वैधता गुमाइसकेको सरकारले अध्यादेश ल्याउन मिल्छ? अदालतले पार्टी गठन गर्ने?

काठमाडौं : नेकपा एमालेका सांसद डा भीमबहादुर रावलले सरकारले वैधता गुमाएको बताएका छन्।

संसद बैठकमा बोल्दै रावलले सर्वोच्च अदालतबाट नेकपा दल एकीकरण नभएको फैसलाले वैधता गुमाएको सरकारले ल्याएको अध्यादेश कसरी कार्यसूचीमा गर्‍यो भनी प्रश्न गरे।

‘अध्यादेश कहाँबाट आयो? जुन कुराको वैधता संवैधानिक कानुनी हिसाबबाट छैन, अभ्यास गरिँदैन। प्रतिनिधिसभाको हत्या गर्ने प्रधानमन्त्रीको अवस्था के हो?,’ उनले प्रश्न गरे।

रावलले नेकपा खारेज गर्ने अदालतको निर्णयमाथि पनि प्रश्न उठाए।

‘यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो? अदालतले पार्टी गठन गर्ने दिन आयो। नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने प्रधानमन्त्री कुन पार्टीको हो? प्रधानमन्त्रीजी कुन पार्टी प्रतिनिधित्व गर्नुहुन्छ? कुन पार्टीको सरकार हो? स्पष्ट हुनुपर्छ। त्यसपछि मात्रै अध्यादेशको कुरा गरौला,’ रावलले भने।

रावलले यो सरकार वैध नदेखिने र वैधता गुमाइसकेको सरकार र त्यसका प्रधानमन्त्री तथा संविधान र कानुनी सबै रुपमा वैधता गुमाइसकेको सरकारबाट अध्यादेश आउन नसक्ने तर्क गरे।

‘सरकार र प्रधानमन्त्रीको वैधता पहिला पुष्टि हुनुपर्छ। अनि अध्यादेश र अरु कुरा आउँछन्। सरकारले सबै वैधता गुमाइसकेको र आफैंले हत्या गरेको प्रतिनिधिसभा प्रधानमन्त्री कुन मुखले आएको भनी प्रश्न गरे। कार्यसूची परिमार्जन गरिएन भने हामी मान्दैनौं। बहिष्कार गर्नुपर्ने हुन्छ,’ रावलले चेतावनी दिँदै भने।

सभामुख अग्नि सापकोटाले रावलको गुनासो दर्ज भइसकेको भन्दै कारवाही अगाडि बढाएका छन्। रावल बोल्दा प्रधानमन्त्री ओली समूहका सांसद खगराज अधिकारीले उठेर नियमापत्ति जनाएका थिए। उनले पहिलो बैठकमै अध्यादेश ल्याउने व्यवस्था भएको स्मरण गराएका थिए। जसलाई सभामुखले पनि स्वीकृति दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell