PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

काठमाडौंमा प्रधानमन्त्री ओलीसँग एकै मञ्चमा विप्लव मुस्कुराउँदै गर्दा गाउँका भित्तामा धुमिल बन्दै 'एकीकृत जनक्रान्ति'का नारा



विधुर ढकाल

काठमाडौंमा प्रधानमन्त्री ओलीसँग एकै मञ्चमा विप्लव मुस्कुराउँदै गर्दा गाउँका भित्तामा धुमिल बन्दै 'एकीकृत जनक्रान्ति'का नारा

काठमाडौं : २०७५ फागुन २८ गते नेत्रविक्रम चन्द 'विप्लव' माथि सरकारले प्रतिबन्ध लगायो। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट मोहन वैद्य 'किरण'सहित अलग भएर नेकपा-माओवादीमा लागेका विप्लव दोस्रो संविधानसभामा नेकपा-माओवादीबाट संविधानसभाको बहिस्कार गरे।

तत्कालीन नेकपा-माओवादीमा नेता रामबहादुर थापा 'बादल'सँग शक्ति संघर्षका कारण वैद्यलाई साथ छाडी छुट्टै पार्टी बनाए २०७१ सालमा। २०७१ सालमा वैद्य नेतृत्वको पार्टीको केन्द्रीय कमिटीको बैठक बस्दै गर्दा खड्कबहादुर विश्वकर्मा 'प्रकाण्ड' ले फरक मत राख्दै बादल र वैद्यले आत्मालोचना गर्नुपर्ने फरक प्रस्ताव राखेका थिए।

सोही करणमा उनलाई स्पष्टीकरण सोधियो। तर, विप्लवले चितवन पुगेर भेला गरे। अनि काठमाडौंमा आएर नयाँ पार्टीको घोषणा गरे।

पार्टीको नेतृत्व गर्ने हुटहुटी, युद्धको ह्याङ्ओभर, अनि असन्तुष्ट लडाकुहरुको साथ लिएर अगाडि बढेका उनले चितवनबाट 'एकीकृत जनक्रान्ति'को रणनीति बनाए।

त्यसपछि अर्ध भूमिगत जस्तै थिए। शहरी क्षेत्र भन्दा ग्रामीण इलाकामा उनका गतिविधिहरु अगाडि बढ्दै गए। २०७५ फागुन १० गते नख्खुस्थित एनसेल कार्यालय अगाडि बम विष्फोट भयो। एक जनाको सर्वसाधारणको मृत्यु भयो। चन्दा आतंक, ठाउँठाउँमा एनसेलका टावरहरुमा आगजनी गरिरहेको यो समूहका कारण ज्यान नै गुमाउन पुगे सडकमा हिँडिरहेकाले।

२०७५ फागुन २१ गते सरकारले सिके राउतलाई मुलधारमा फर्कायो। त्यतिबेला प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवको आलोचना गर्दै खलपात्रको रुपमा उभ्याए। सिके राउतलाई प्रचण्ड जत्तिकै नेताको रुपमा उभ्याए। त्यसको सात दिनपछि सरकारले फागुन २८ गते विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगायो।

यसबीच विप्लवका दर्जन बढी कार्यकर्ता मारिए। कोही फेक इन्काउन्टरमा कोही आफैले पड्काउन लागेको बम पड्किएर। सयौँ नेता कार्यकर्ता जेल परे।

एकीकृत जनक्रान्तिको नारा दिएर ग्रामीण इलाकामा सक्रिय रहेका विप्लवको समूह गत शुक्रवार मुल राजनीतिमा फर्किएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको आलोचना गर्दै विप्लवको तारिफ गर्दै मञ्चमा विप्लवलाई हसाए।

विप्लव शुक्रवार राष्ट्रिय सभागृहमा मुसुमुसु हाँस्दै गर्दा काठमाडौं नजिकैको मकवानपुरको चित्लाङमा पुराना जीर्ण घरहरुमा विप्लवले २०७१ सालमा दिएको 'एकीकृत जनक्रान्ति'का नाराले रंगिएका देखिन्थे। रंग मधुरो हुँदै गएको थियो। विप्लवले नयाँ पार्टीको नेतृत्वको गरेको यो ६ वर्ष विप्लवले 'एकीकृत जनक्रान्ति'लाई गति दिन सकेनन्।

तत्कालिन मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसँग क्रान्ति गर्न भन्दै हतारिएर निस्किएका उनले न क्रान्तिको जग बसाल्न सके, न त राजनीतिक उपलब्धि नै हासिल गरे। पार्टीमाथि प्रतिबन्ध लाग्यो। नेता कार्यकर्ता धमाधम पक्राउ परे। उनको शक्ति कमजोर हुँदै गयो।

'संसदीय व्यवस्था' डेट एक्सपायर भन्दै पुरानो राज्य सत्ता ढलाएर नयाँ राज्य सत्ता स्थापना गर्ने, सत्ता साझेदारीको नारा अगाडि सारेका उनले विस्तारै जनमतको कुरा गर्न थाले।

पछिल्लो पटक शक्तिहीन हुँदै जाँदा उनले फेरि शक्ति आर्जनको बाटो खोजे सरकारसँग वार्ता। १४ बुँदे प्रस्ताव लिएर बालुवाटर प्रवेश गरेको विप्लवको वार्ता टोली ३ बुँदेमा सहमति जनाउन बाध्य भयो-

१. नेपाल सरकार तथा नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न सहमत भएका छौं।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्न सहमत भएको छ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताको रिहाइ र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

न सरकारसँगको वार्तामा एकीकृत जनक्रान्तिको कुरा उठ्यो, न उनले पछिल्लो समय अगाडि सारेको जनमतको नै कुरा उठ्यो। न त सत्ता साझेदारीको। बस केवल उनी आफ्ना सबै सिद्धान्तलाई त्याग्दै काठमाडौंमा अवतरण भए विप्लव- गाउँ पुग्दा गाउँका भित्तामा पोतिएका 'एकीकृत जनक्रान्ति जिन्दावाद'का नारा पनि मधुरा हुँदै गए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell