PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

२९ वर्षदेखि आकाशमा उड्दै आएकी प्रियाको नजरमा एयर होस्टेस्: 'हाँस्दै चियाकफी सर्भ गर्नेमात्रै हैन, विमानभित्रको डाक्टर हो, सुरक्षाकर्मी हो'



लक्ष्मी बलायर

२९ वर्षदेखि आकाशमा उड्दै आएकी प्रियाको नजरमा एयर होस्टेस्: 'हाँस्दै चियाकफी सर्भ गर्नेमात्रै हैन, विमानभित्रको डाक्टर हो, सुरक्षाकर्मी हो'

बुवाआमा छोरीले धेरै पढोस् भन्ने चाहन्थे। प्रिया थापा भने छुट्टै सपनाको उडान भर्ने सोचमा थिइन्। उनलाई एयर होस्टेसको ग्ल्यामरस् जीवनशैलीले लोभ्याइरहेको थियो। एयर होस्टेस बन्ने बच्चैदेखिको इच्छा भने हैन। उनको चिनजानकी एकजना दिदी एयर होस्टेस थिइन्। राम्रो लूगा लगाएर काममा जाने, विदेशमा गएर सपिङ गर्ने। उनको 'लाइफ कलरफुल' लाग्थ्यो प्रियालाई। त्यही दिदीको रहनरहन र दैनिकीले उनको ध्यान आकाशमा उड्ने विमानतर्फ मोडिरहेको थियो।

१९ वर्षको हुँदा नै एयर होस्टेस भन्ने हुटहुटीले उनलाई ट्रेनिङसम्म पुर्‍यायो। प्रशिक्षण पूरा गरेर नेपाल एयरलाइन्समा एयर होस्टेसका लागि छानिइन् पनि। तर मनमा डर थियो- परिवारको। एयर होस्टेस भएपछि घरकी कान्छी पढ्दिनन् भन्ने सोच हाबी थियो। तर पछि परिवारलाई 'कन्भिन्स' गरिन् र शर्त राखेर उनी विमानको 'क्रु मेम्बर' बनिन्।

‘शुरुमा परिवारले मान्नुभएको थिएन। पास भएभन्दा घरमा पत्याउनुभएको पनि थिएन। अहिले जागिर नगर भन्नुहुन्थ्यो। पढाईलाई निरन्तरता दिन सकिनछु भने राजीनामा दिन्छु भनेर शर्त राखेकी थिएँ। पछि  जगिरसँगसँगै पढेको देखेर निकै खुसी हुनुभएको थियो।’

जागिरसँगै पढाइ पुरा गर्न निकै गाह्रो हुने रहेछ। यद्यपि, परिवारसँग राखेको शर्त पालना त गर्नै पर्‍यो। नेपाल एयरलाइन्समा २९ वर्षदेखि कार्यरत प्रिया सातौँ तहमा इन्फ्लाइट सुपरभाइजरको रुपमा कार्यरत छिन्। स्नाकोत्तरसम्मको पढाइ पुरा गरेकी उनले आफूलाई एयर होस्टेस भन्दा 'क्याबिन क्रु' भन्न रुचाउँछिन्। सन् २०१५ देखि नेपाल एयरलाइन्समा प्रशिक्षणसमेत दिदैँ आइरहेकी छिन्।

+++

बाहिरबाट हेर्दा एयरहोस्टेसको जागिर जति ग्ल्यामरस छ। भित्र भने अलि फरक पाटो रहेको उनको अनुभुति छ।

एयर होस्टेसको रुपमा उनको पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बन्यो भारतको नयाँ दिल्ली। पहलो उडानमा सोचेभन्दा फरक वातावरण पाइन् जहाजभित्र। उत्साहित भइनन्। विमान भित्रको बेग्लै दुनियाँलाई 'जागिर' कै रुपमा मात्रै महसुस गरिन्। अनि सम्झिइन्: २/३ महिनाको कठिन तालिम।

तालिममा विमानको सिस्टम फेल भए यात्रुलाई कसरी सुरक्षित गर्ने, विमान अवतरण भइसकेपछि पनि प्लेन क्र्यास भयो भने कसरी यात्रुलाई सुरक्षित बनाउने, पानीमा जहाज ल्यान्ड गराउँदा कसरी यात्रुलाई तैराउने लगायतका विषयमा बढी जोड दिइन्थ्यो। जुन उनले आफ्नो पहिलो उडानपछि सम्झिइन्।

‘एयर होस्टेसको काम हाँसेर चियाकफी सर्भ गर्नेमात्र होइन। विमानभित्रको डाक्टर, आगो नियन्त्रक र परामर्शदाता पनि हामी नै हौँ। पहिलो प्राथमिकता यात्रुलाई सुरक्षा दिने हो। आकाशमा उडिरहेको बेला जे पनि हुनसक्छ। डेढ मिनेटमा यात्रुलाई बाहिर निकाल्न सक्ने सक्षम हुन्छन् एयर होस्टेस,' प्रियाले एयर होस्टेसको जिम्मेवारीबारे भनिन्,'एयर होस्टेसले त ब्याग बोक्ने, विदेश घुम्ने, सपिङ् गर्ने र ब्रान्डेड लुगा लगाउने त हो भनेर सोच्छन् सबैले। तर यो भित्र निकै जिम्मेवारी र जोखिम रहेको हुन्छ। जुन पाटो धेरैलाई थाहा छैन।’

बाहिरबाट एयर होस्टेसको 'कलरफूल लाइफ' देखेर एभिएसन फिल्डमा होमिएकी थिइन् उनी। जब काम गर्दै गइन्, दैनिक उडानमा दिनचर्या बित्दै गयो, कलरफूल नभए पनि आफ्नो पेशाप्रति गर्व बढ्दै गयो उनको।

'जहाजमा विभिन्न देशका मान्छेहरु यात्रा गर्छन्। कोही रिसाएर आइरहेका हुन्छन्। कोही रक्सी खाएर आइरहेका हुन्छन्। सबै मान्छेसँग कसरी व्यवहार गर्ने भन्ने कुरा सिकें।'

+++

२९ वर्ष भयो प्रिया नियमित रुपमा उडान भर्दैछिन्। घरसँग शर्त राखेर अघि बढेकी प्रियाले जीवनसाथीबाट राम्रै साथ पाए। श्रीमान् र छोराको साथ र सहयोगसँगै बढ्दैछ कामप्रतिको सन्तुष्टि पनि। त्यसैले अरु पेशा अंगाल्नेतर्फ सोचेकी छैनन्। तर यात्राको क्रममा चिनेको र विमानमा यात्रा गरिरहने व्यक्तिले 'अझै काम गरिरहनुभएको छ?' भनेर प्रश्न गर्दा भने उनी दिक्क मान्छिन्। यसबीच उनले नेपालमा राजतन्त्र रहेको बेला राजा वीरेन्द्र र रानी एश्वर्यासँग 'रोयल फ्लाइट'मा चीन जाने अवसर पाएकी थिइन्। राजारानीसँगै उडानमा जाँदा डर र उत्साह दुवै महसुस भएको थियो उनलाई। विमानमा रानीसँग भएको एउटा घटना बिर्सनै सक्दिनन् उनी।

'रानीको लागि भनेर मनपर्ने फ्लेभरको आइसक्रिम राखिएको थियो। तर आइसक्रिम दिने बेला त्यो आइसक्रिम आइस जस्तो भएको थियो। बल्लतल्ल तापक्रममा ल्याएर आइसक्रिम रानीलाई दिएका थियौं,' प्रियाले सुनाइन्।

एयर होस्टेस केटीमात्रै हुन्छ भन्ने भ्रम अझै मानिसमा रहेको उनको बुझाइ छ।

'एयरहोस्टेस दुब्ली, राम्री र तरुनी हुनुपर्छ भन्ने मान्यता अहिले पनि समाजमा हाबी छ। सुरक्षा दिने भनेको अनुभवले पो हो। अनुहारले त होइन नि। जबकी अरु क्षेत्रमा पनि उमेर भएर पनि काम गर्न हुने तर एयर होस्टेसले गर्न किन नहुने?' उनी प्रश्न गर्छिन्।

एयर होस्टेस जोसुकै बन्न सक्ने उनले बताइन्। 'सामान्य मान्छे पनि एयर होस्टेस बन्न सक्छ। शारीरिक रुपमा सक्षम भने हुनुपर्छ,' उनले भनिन्।

एयर होस्टेसको उमेर हदको विषयमा भने प्रियालाई चित्त बुझेको छैन।

भन्छिन्, 'नेपालमा ५० वर्ष पुगेपछि एयर होस्टेसले अवकाश लिनुपर्छ। विदेशमा ६०/७० वर्ष पुगे पनि मजालेले काम गरिरहेका हुन्छन्। नेपालमै पनि अरु पेशामा ५८ वर्षको उमेर हद हुन्छ। तर हाम्रो पेशामा ५० वर्षको उमेरसम्म मात्र काम गर्न मिल्छ जुन जायज होइन।'

त्यसैले नेपाल सरकारले कानुनमा परिमार्जन गरेर भएपनि एयरहोस्टेसलाई अरु पेशासरह समान व्यवहार गर्नुपर्ने उनले बताइन्। साथै अरु पेशाजस्तो पद बढुवा हुनुपर्ने उनको भनाई छ।

उनी भन्छिन्, 'मैले पाँचौ तहबाट शुरु गरेको सातौँ तहसम्म मात्र बढुवा हुन्छ। मेरो शैक्षिक योग्यता पनि छ। पढाउँछु पनि तर बढुवा भने छैन। अरु पेशामा जसरी यसमा नि पद बढ्ने भएको भए थप उत्प्रेरणा मिल्ने थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell