काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले अहिलेको राजनीतिक संकट अहिलेको स्थिति उत्पन्न हुनुको पछाडि मुख्य रूपले ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली नै जिम्मेवार रहेको बताएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा सर्वोच्च अदालतले आइतवार गरेको फैसलापछि मसालका महामन्त्री मोहनविक्रम सिंहले वक्तव्य जारी गर्दै यस्तो बताएका हुन्।
उनले सर्वोच्चको फैसलापछि नेकपाको वैधानिक अस्तित्व नभएको भन्दै अब उनीहरु पुन: एकीकरण वा संयुक्त मोर्चा मध्ये जुन बाटो समाते पनि ओलीको बर्हिगमनले निर्णयात्मक महत्व राख्ने बताएका छन्।
मसालले नेकपा भित्र एकता कायम राख्नुपर्ने समेत बताएको छ। नेकपा भित्रको फुटको असर त्यो सङ्गठनमा मात्र नपरेर त्यसको दुष्परिणाम देशको सम्पूर्ण राजनीतिमा पर्ने उसले टिप्पणी गरेको छ। 'नेकपाभित्रको फुटका कारणले संसदमा कुनै दलको बहुमत रहन गएको छैन र संसदमा गम्भीर प्रकारको अस्थिर र अन्योलको वातावरण तयार भएको छ । त्यो स्थितिमा एकातिर, देशभित्र प्रतिगामी शक्तिहरु र, अर्कातिर विदेशी साम्राज्यवादी शक्तिहरूको चलखेल बढ्ने सम्भावना बढेर गएको छ,' वक्तव्यमा भनिएको छ, 'त्यसको परिणामस्वरुप देशमा गम्भीर प्रकारको संवैधानिक र राजनीतिक सङ्कट उत्पन्न हुने, गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षतामा समेत आँच पुग्ने सम्भावना देखा परेको छ।'
उनले ओलीकै कार्यशैलीका कारण अहिलेको स्थिति उत्पन्न भएको बताएका छन्।
'हाम्रो पहिले पनि यो विचार रहेको थियो र अहिले पनि छ कि त्यस प्रकारको स्थिति उत्पन्न हुनुका पछाडि ओलीको व्यक्तिवादी र स्वेच्छाचारी कार्यशैली नै जिम्मेवार छ। उनको त्यस प्रकारको कार्यशैलीका कारणले नै नेकपामा फुट भयो, संसदको विघटन भयो र संसदको पुनर्स्थापनापछि पनि अन्योल र अस्थिर प्रकारको राजनीतिक स्थितिको सिर्जना भएको छ,' वक्तव्यमा भनिएको छ, 'संसदको पुनर्स्थापनापछि बसेको हाम्रो पार्टीको केन्द्रीय समितिले नेकपाको एकीकरणमा जोड दिएको थियो। त्यस प्रकारको एकीकरणका लागि हामीले २ वटा कुराहरूमा जोड दिएका थियौँः प्रथम, सर्वोच्चको फैसला समेतको कारणले नैतिकताका आधारमा प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्दछ र द्वितीय, त्यो सङ्गठनको नेतृत्व र प्रधानमन्त्री समेतबारे ओली र प्रचण्ड–माधव पक्षहरूका बीचमा विभाजित नेता र कार्यकर्ताहरूले विधिसम्मत तरिकाले निर्णय गर्नुपर्दछ।
पूर्व नेकपा एक नभए देश प्रतिगमन तिर जाने वक्तव्यमा भनिएको छ। 'अहिले सर्वोच्चको फैसलापछि उनीहरू एउटै सङ्गठनमा रहेका छैनन्। तर पूर्व नेकपाको फुटका कारणले संसदमा र देशमा जुन राजनीतिक स्थिति उत्पन्न भएको छ, देशी र विदेशी प्रतिगामी शक्तिहरूलाई खेल्ने मौका मिलेको छ र
त्यसबाट देशका वृहत्तर हितमा आँच पुग्ने सम्भावना देखा परेको छ, त्यो अवस्थामा पूर्व नेकपाका पक्षहरू बीचको एकता अहिले पनि राष्ट्रिय आवश्यकता बन्न गएको छ,' वक्तव्यमा भनिएको छ, 'सर्वोच्चको फैसलाका कारणले उनीहरू बेग्लाबेग्लै भएको भएपछि, उनीहरूको बीचमा पुनः एकीकरण हुन्छ कि हुँदैन? त्यो उनीहरूले निर्णय गर्ने कुरा हो। त्यो सम्भव नभएपनि उनीहरूले संयुक्त मोर्चा बनाएर संसद, सरकार र देशको राजनीतिलाई स्थिरता दिने प्रयत्न गर्नुदेश, जनता र स्वयम्उनीहरूको हितमा हुनेछ भन्ने हाम्रो मत छ।'
सिंहले नेकपाका विभाजित दुबै पक्षहरूले त्यसमाथि ध्यान दिएर दूरदर्शितापूर्वक समस्याको समाधान गर्नका लागि अपील गरेका छन्।
'जुन पक्षहरूले देशलाई प्रतिगमनको दिशामा लैजान चाहान्छन्, उनीहरूले पूर्व नेकपाभित्रको कुनै प्रकारको एकता वा संयुक्त मोर्चा होइन, उनीहरूका बीचमा विग्रह र फुटमा नै जोड दिनेछन्र त्यसलाई बढी भन्दा बढी बढाउन प्रयत्न गर्नेछन्,' वक्तव्यमा अगाडि भनिएको छ, 'त्यसबाट देशी वा विदेशी प्रतिगामी शक्तिहरूलाई मदत पुगेपनि त्यसरी देश र जनताको हितमा कुठाराघात नै हुनेछ भन्ने हाम्रो दृढ र निश्चित विचार छ। हामीले देशमा आमूल परिवर्तन गर्न विद्यमान व्यवस्थामा परिवर्तनका लागि सङ्घर्ष गर्ने नीतिमा जोड दिनुपर्ने कुरा स्पष्ट छ। तर त्यसो गर्दा देश प्रतिगमनतिर नजाओस्, त्यसप्रति पनि उच्च प्रकारको सतर्कता अपनाउनुपर्ने आवश्यकतामा हामीले जोड दिन्छौँ।'
यता मसालको चुनावी मोर्चा राष्ट्रिय जनमोर्चाले पनि सर्वोच्चको फैसलापछि ओलीले राजिनामा दिएर राजनीतिक संकटको निकास दिनुपर्ने जनाएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति प्रकाशित गर्दै प्रतिनिधिसभा विघटन र नेकपाभित्रको अन्तरविरोध वा कलहमा केपी ओलीको व्यक्तिवादी, अराजक कार्यशैली नै बढी जिम्मेवार रहेको आरोप लगाएका छन्। उनले अहिलेको जटिल समस्या र अन्यौलताको स्थिति अन्त्य गर्न केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर समस्यामा निकास दिनुपर्ने बताएका हुन्।
उनले पनि अदालतको आदेश पछि दुबै पक्ष पुन: एकीकरण वा संयुक्त मोर्चा बनाएर सरकार बनाउनुपर्ने बताएका हुन्।
