काठमाडौं : चन्द्रागिरी नगरपालिकास्थित श्री विष्णुदेवी माध्यमिक विद्यालयको पुनर्निर्माणका लागि भारतले सरकारले ६ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सोमवार भारतीय राजदूतावासको पुनर्निर्माण तथा विकास सहकार्य प्रभागका प्रमुख डा. प्रफुल्लचन्द्र शर्मा र चन्द्रागिरी नगरपालिकाका मेयरको उपस्थितिमा शिलान्यास गर्दै पुनर्निर्माण कार्यको शुरुवात गरे।
उक्त कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशक, भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अधिकारी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामुदायिक सदस्य तथा विद्यालयका विद्यार्थीहरुको पनि उपस्थिति थियो।
भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण हुने विद्यालयमा शैक्षिक, प्रशासनिक तथा प्रयोगशाला र पुस्तकालय गरी अब बन्ने नयाँ संरचनामा तीनवटा ब्लकहरु हुनेछन्।
जसमा १३ वटा कक्षा कोठा, परीक्षाहल, प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, पुस्तकालय, विद्यालय व्यवस्थापन समितिका लागि कक्ष, प्रशासनिक कक्ष र छात्र तथा छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचनाको सुविधा रहनेछन्।
यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ।
