PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

श्रीमान बोकेर दौडिने खेलमा तेस्रो भएकी सीताः जसले सात वर्षदेखि प्यारालाइज भएका श्रीमानलाई जुरुक्क बोकेर दौडिन्

श्रीमान बोकेर दौडिने खेलमा तेस्रो भएकी सीताः जसले सात वर्षदेखि प्यारालाइज भएका श्रीमानलाई जुरुक्क बोकेर दौडिन्

रोजन श्रेष्ठ/पहिलोपोस्ट


तनहुँ: देवघाट गाउँपालिकाले नारी दिवसको अवसरमा श्रीमतीले श्रीमान् बोकेर दौडने खेल आयोजना गर्‍यो। देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा सोमबार प्रतियोगिता आयोजना गरिएको थियो।

प्रतियोगितामा विष्णु अधिकारी र पद्मा अधिकारीको जोडीले प्रथम स्थान हात पारे। त्यस्तै गंगा गुरुङ र नवीन गुरुङको जोडी दोस्रो हुँदा सीता लामिछाने थापा क्षेत्री र बमबहादुर थापा क्षेत्रीको जोडी तेस्रो भयो।

'हाम्रो २०५९ मा बिहे भएको हो। गाउँमा यसै खेतिकिसानी गर्छौँ,' तेस्रो भएपछि बमबहादुरले भने, 'बुढेसकालमा पनि बुढी तगडै रहिछे भन्ने लाग्यो। एकदमै खुसी लाग्यो।'

मुसुमुसु हाँस्दै ४५ वर्षे सीताले भनिन्: रमाइलो लाग्यो।

उनीहरुको लागि सोमबारको यो दिन जिवनभरको लागि सम्झन लायक भएको छ। उनीहरुको अनुहारमा बेग्लै खुसी झल्किएको थियो। तर यो खुसीसँगै दुखका दिन पनि नभएका होइनन्। खुसीसँगै दुखका ती दिनहरु पनि सीताले साट्न भ्याइन्।

उनले आफ्नो सङ्घर्षका कुराहरू सुनाउन थालिन्। 'खानेकुरामा त मेरो घरमा जति दुख अरू तिर नहोला। सत्य कुरा नै बोल्नु पर्छ मैले। असत्य कुरा बोल्नु हुँदैन। श्रीमानलाई प्यारालाइसिस भएको अहिले सात वर्ष भयो,' उनले भनिन्, 'दुई वटी छोरीहरू छन् एउटी ६ मा र अर्की ७ कक्षामा पढ्दै छिन्। बालबच्चा श्रीमान् मैले नै पालेको हो अहिलेसम्म।'

बमबहादुरको देब्रे हात राम्ररी नचल्ने हुँदा काम गर्न नमिल्ने उनले सुनाइन्।

'आफ्नो खुट्टामा उभिनु पर्छ। छोरी होस या छोरा राम्ररी पढ। र, आफ्नो खुट्टामा उभिनुपर्छ,' उनले नारी दिवसको उपलक्ष्यमा नयाँ पुस्तालाई सुझाव दिँदै भनिन्।

देवघाट गाउँपालिकाका दुर्गाबहादुर थापाले महिलाहरू पनि पुरुष जत्तिकै केही गर्न सक्छन् भन्ने सन्देश दिन यो प्रतियोगिता आयोजना गरेको बताए। उनले जनयुद्धदेखि संविधानसम्मको सङ्घर्षले महिला र पुरुषलाई बराबरी बनाएकोले समानताको सन्देशदिन प्रयोतियोगिताको आयोजना गरेको तर्क गरे।

'यो मैत्रीपूर्ण खेल हो। यसमा धेरै पुरस्कार राशि पनि राखेका छैनौँ। सहभागी सबै दम्पतीलाई हामीले खादा लगाएर सम्मान गरेका छौँ,' उनले भने, 'यसले महिला पनि शारीरिक र मानिसक रूपमा सक्षम छन् भन्ने सन्देश दिन्छ जस्तो लाग्छ।'



ट्रेन्डिङ पोस्ट

Ncell