PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ महिला कर्मचारी सम्मानित



फूलमाया पुरी

अन्तर्राष्ट्रिय महिला दिवसमा १३ महिला कर्मचारी सम्मानित

विराटनगर: १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जना महिला कर्मचारी सम्मानित भएका छन्।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा अग्रपंङ्तिमा रहेर उत्कृष्ट रुपमा कार्य गर्ने १३ जना महिला कर्मचारीलाई सम्मान गरेको हो। सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन्।

मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशाला र प्रहरी कार्यालयमा कार्य गर्नेलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरुमा कोशी अस्पताल मोरङका कन्सल्ट्यान्ट प्याथोलोजिस्ट डा. कामना शर्मा, जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. ऋचा भट्टराई, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरकी स्टाफ नर्स दिव्या श्रेष्ठ र कार्यालय सहयोगी कञ्चन राय जिल्ला अस्पताल, धनकुटाकी अस्पताल नर्सिङ निरीक्षक शिला सुब्बा छन्।

त्यस्तै नगर अस्पताल बेलटार, उदयपुरकी स्टाफ नर्स निरु लिवाङ, मेची अस्पताल भद्रपुर झापाकी स्टाफ नर्स अनामिका राजवंशी, मेची अस्पताल भद्रपुरकी अनमी अनिता दाहाल, इलाका प्रहरी कार्यालय, रानीकी प्रहरी नायव निरीक्षक तारा विष्ट, विराटनगर महानगरपालिकाकी स्टाफ नर्स रेनुका चौधरी, विराटनगर महानगरपालिकाकी ल्याब टेक्निसियन नीता लुइँटेल, जिल्ला प्रहरी कार्यालय झापाकी प्रहरी जवान पूजा कुमारी विश्वास र मेची अस्पताल भद्रपुरकी कार्यालय सहयोगी सरिता दियाली रहेका छन्।

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनीहरुलाई सम्मान गरेका हुन्।

महिलाहरुले रोजगार सम्मान र सुरक्षा पाएमा देश विकासको आधार हुने आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकासमन्त्री हिक्मतकुमार कार्कीको भनाई छ।

महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ट रहेको उनले बताए। निर्वाचनलाई स्मरण गर्दै महिलाले नेतृत्व गरे सफलता पाएको पनि उनले तर्क गरे।

के भन्छन् सम्मानित हुनेहरु?

स्टाफ नर्स दिव्या श्रेष्ठ कोभिड काल अत्यन्तै चुनौतीपूर्ण रहेको बताउँछिन्। उनी कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा खटिएकी थिइन्।

‘जोखिम थियो तर पनि काम हो गरियो’, श्रेष्ठले भनिन्, ‘त्यसैलाई आज सामाजिक विकास मन्त्रालयले सम्मान गरेकोमा खुसी लागेको छ।’

सम्मानले अझै थप आफ्नो जिम्मेवारी पूरा गर्ने हौसला मिलेको उनले बताइन्।

सोही केन्द्रमा कार्यालय सहयोगीको रुपमा खटिएकी कञ्चन राय प्रदेश सरकारले सम्मान गर्दा सपना जस्तो लागिरहेको सुनाउँछिन्।

कोरोनाकालमा परिवारले काम छोड्न दबाब दिए पनि निरन्तर काममा खटिएकी उनी अहिले सम्मानित हुने खबरले आमा-बुबा अत्यन्तै खुसी भएको बताउँछिन्।

‘मलाई त सपना जस्तो लागिरहेको छ’, उनले भनिन्, ‘यो सम्मान पाउँदा मेरो आमा अति नै खुसी हुनुभको छ।’

३२ वर्ष स्वास्थ्यकर्मीका रुपमा बिताएकी अनिता दाहाल पहिलो पटक आफू सम्मानित भएको गर्व महसुस गर्छिन्।

‘३२ वर्ष यही क्षेत्रमा बिताए पनि आजसम्म कहिल्यै सम्मान पाएको थिइन’, उनले भनिन्।

जीवनमा पहिलोपटक पाएको सम्मानले निरन्तर खटिएको कामको मुल्याङ्कन भएको उनको भनाई छ। मेची अस्पताल भद्रपुर झापामा कार्यरत उनी अनमी हुन्।

सोही अस्पतालमा कार्यरत स्टाफ नर्स अनामिका राजवंशीले कोभिडको समयमा खटिँदा सम्मान पाइन्छ भन्ने सोचेकी थिइनन्। तीन वर्षदेखि कार्यरत राजवंशी त्यसबेला कामलाई प्राथमिकतामा राखेको र अहिले प्रदेश सरकारबाट सम्मानित हुन पाएकोमा खुसी व्यक्त गरिन्।

‘यसरी सम्मान पाउँछु भनेर कहिल्यै सोचेको पनि थिइन’, उनले भनिन्।

नेपाल भारत सीमाना, बिराटनगरको तल्लो भेग जोगवनी बोर्डरमा रहेर कोरोना कालमा खटिएकी प्रहरी नायव निरीक्षक तारा विष्ट पनि सम्मानित भएकोमा खुसी छिन्।

२३ वर्षदेखि उक्त पेसामा आवद्द भई राष्ट्रको सेवामा दिनरात नभनी खटिएकी उनी पहिलोपटक सम्मानित हुँदा हर्षित भएको बताइन्।

‘कोरोना समयमा मैले त बोर्डरमा रहेर जोखिम मोलेरै काम गरेको थिएँ। आज सही मूल्याङ्कन भएको महसुस गरेको छु’, विष्टले खुसी व्यक्त गरिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell