कुरा हो, २०२१ सालको। त्यतिवेला भर्खरै किशोरावस्था टेकेकी वसुन्धरा भुसाललाई कलाकार भुवन चन्दले ‘आमा’को सुटिङ हेर्न जाने प्रस्ताव गरिन्। उमेरले १५ पुगेकी भुसाल फिल्मको छायाँकन हेर्ने प्रस्ताव आएपछि मक्ख परिन्।
भुवनसँग राम्रै चिनजान थियो वसुन्धराको । महेन्द्र राजमार्ग बन्दै गर्दा, २०१८ सालतिर जनकवि धर्मराज थापाको नेतृत्वमा नेपाल कला केन्द्रबाट एउटा टोली नृत्य देखाउन वीरगञ्ज, विराटनगर जस्ता स्थानमा पुग्यो। टोलीकी सदस्यमा भुवन र वसुन्धरा पनि थिए। त्यही बेला निकटता बेढेको थियो दुवैबिच। सँगै नाटक खेल्नेदेखि नृत्य गर्ने क्रम बढ्यो। भुवनलाई नाचघरमा भेट्न जाँदा उनले सुटिङ हेर्न जाने प्रस्ताव पाएकी थिइन्।
शाही नेपाल चलचित्र संस्थानद्वारा निर्माण गर्न लागिएको उक्त फिल्मको मुख्य भूमिकामा थिइन् भुवन। र त्यही सुटिङ हेर्न गएकी किशोरी नेपाली फिल्म जगतमा पहिलो महिला हास्य कलाकारका रूपमा उदाइन्।
सानैदेखि चुलबुले र जिस्काउने स्वभावकी वसुन्धराले सोचेकै थिइनन् यो स्थानमा पुग्छु भन्ने । अहिले उनले नेपाली कला जगतमा आधा शताब्दी बिताइसकिन्।
‘ब्वाइज कट’ कपालमा सुटिङ हेर्न पुगेकी चुलबुले केटीलाई निर्देशक हीरासिंह खत्रीले केही बेर हेरिरहेका थिए।
‘इधर आउतो छोकरा,’ खत्रीले बोलाइहाले। खुर्रर कुद्दै पर पुगिन् वसुन्धरा। खत्रीको प्रश्न थियो, ‘तुम फिल्ममे काम करोगे?’
खासै हिन्दी बोल्न नजान्ने उनले फर्काइन्, ‘देगा तो करेगा।’ यही संवाद उनको जीवनको ‘टर्निङ पोइन्ट’ बनिदियो।
त्यतिबेला नाच्नु, गाउनुलाई समाजमा खराब दृष्टिकोणले हेरिन्थ्यो। यो पेशामा लागेका महिलाले समाज मात्रै होइन, घर परिवारबाटै पनि साथ पाउन मुस्किल थियो।
वसुन्धराले पनि यो अवस्थाबाट गुज्रिनुपर्यो। उनी विगत यसरी सम्झिन्छिन्, ‘समाजले कुरा काट्थे, घरमा कुटाइ खान्थेँ। कहिलेकाँही नाचेर आउँदा रात पर्थ्यो। यति भएपछि छिमेकीले पनि कुरा काट्ने बहाना पाइहाल्थे।’
यद्यपि, आफ्नो रुचिको पेशालाई निरन्तरता दिइरहिन् उनले।
‘आमा’ मा उनी हास्य कलाकारको भूमिकामा थिइन्। उनको पात्रलाई हल्का रूपमा लिएर बिग्रिएकी केटी भन्थे सबैले। घरमा पहिले निकै रिसाए पनि समयसँगै सरकारले बनाएको फिल्म भएपछि गाली गर्न छाडेको सुनाउँछिन् वसुन्धरा।
फिल्मको केही छायांकन नेपालमै भयो भने बाँकी कलकत्तामा।
मान्छे हसाउँने भूमिका। निर्देशकले निर्देशन दिए, कुनै रमाइलो थेगो राख्। उनले मामा सम्झिइन्। धादिङ मावली भएकी उनका मामा उनलाई भन्थे, ‘ए रातै ! भाञ्जी आइन्। ल नाच् नाच्।’
निर्देशकलाई उनले यही थेगो राखेर ‘डाइलग’ सुनाइन् । एक ‘टेक’ मै सुट सकियो।
पहिलो फिल्म आमामा भुन्टीको भुमिकामा देखिएकी वसुन्धरा २०२३ सालमा ‘हिजो आज भोलि’ मा च्यान्टी बनिन्। त्यसपछि उनको अभियन यात्रा अहिलेसम्म जारी छ। ‘मनको बाँध’ मा ‘नक्कली’ पात्रबाट चर्चित बनेपछि उनलाई सिने क्षेत्रमा त्यही उपनामले चिनिन थाल्यो।
+++
‘आमा’ मा काम गरेपछि परिवार उनको पेशालाई लिएर सकारात्मक रुपमा लियो। कुरा काट्ने पनि कम हुँदै गए। यसले उनमा आत्मविश्वास त बढायो नै, कलाकारिताको लत लगाइदियो।
‘गरेपछि राम्रैसँग गरुँ’ भन्ने लागेपछि ३ वर्ष प्रज्ञा प्रतिष्ठानमा नाटकको तालिम लिइन्। २०२४ सालमा नाचघरमा अस्थायी जागिर खाइन्। प्रतिष्ठान पुग्न उनी त्रिचन्द्र कलेज हुँदै जानुपर्थ्यो।
कलेजका केटा जिस्काउँथे, ‘हिजो आज के भयो के भयो ए रातै तिम्रै माया लाग्छ।’
रिस उठेपछि ‘मरेस् तिमीहरू’ भन्दै गाली गर्थिन् उनी।
२०२३ सालमा राजा महेन्द्रको जन्मोत्सवमा कार्यक्रम राखियो। उनले पनि कलाकारका रूपमा प्रस्तुति दिइन्। पुलिस क्लबमा त्यहीँ दिन हो चेतनारायण भुषालसँग उनको पहिलो भेट भएको।
वसुन्धराले धर्म दाइ बनाएकी थिइन् डिबी लामालाई। लामा प्रहरीका आइजी। चेतनारायण चाहिँ सब–इन्सपेक्टरका रूपमा प्रहरीको सांस्कृतिक क्षेत्र हेर्थे।
लामाका मिल्ने साथी भएकाले चेतनारायणसँग पनि मित्रता भयो। उनीसँग पहिलोपल्ट वसुन्धराले नाचेको गीत थियो, ‘तिमी आउने बाटो दियालोको साटो ।’ त्यसपछि नाटकमा पनि दुवैले सँगै काम गरे। प्रेम बस्यो, दुवैले २०२४ सालमा विवाह गरे । विवाहपछि अभिनय र कलामा निरन्तर लागिरहन अझ सहज भयो उनलाई।
‘कोही अरू मेरो श्रीमान भएको भए सायद म यो क्षेत्रबाट पलायन भइसक्थेँ,’ उनले भनिन् ।
गोपालराज मैनालीसँगको सहकार्य
प्रकाश थापाको निर्देशनमा बन्न लागेको थियो - सिन्दुर। हास्य कलाकारका रूपमा गोपाल मैनालीको जोडिको भूमिकामा थिइन् वसुन्धरा ।
मैनालीको पात्रको नाम थियो, चङखे अनि उनको चाहिँ ‘नक्कली ।’
फिल्म त हिट भयो नै यो जोडी पनि चर्चित भयो । दुवैका लागि ‘अफर’ आउन थाले ।
उनीहरूको जोडी यसरी पर्दामा बढी देखिन थालेपछि कतिपयलाई लागेछ, ‘यी साँच्चै बुढाबुढी हुन्।’ कतिसम्म भने एकपल्ट उनलाई न्यूरोडमा श्रीमानसँग घुम्दा ‘चङ्खे त फिल्मभन्दा अर्कै रहेछ’ समेत भनेको सम्झिन्छिन् उनी।
नयाँ दिनहरु आए तर यी पुराना प्रसंगहरु सम्झिन र यसबारेमा कुरा गर्न रमाइला लाग्छ उनलाई। तर दाजुबहिनीकोझैं सम्बन्धलाई कतिपयले खराब मान्दा भने दु:ख पनि लाग्थ्यो। छोराले पनि सानो छँदा भन्थ्यो, ‘त्यो चङ्खे मामासँग फिल्म नखेल्नु।’
मैनालीको मृत्युपछि वसुन्धरालाई लाग्यो, हास्य विधाको एउटा खम्बा ढल्यो।
अहिले पनि मनपर्ने हाँस्य कलाकारको नाम लिनुपर्दा गुरूको दर्जा दिएकी मैनाली नै पहिलो नम्बरमा आउँछन्। त्यसपछि उनलाई मनपर्नेमा कलाकार हुन्, राजराम पौडेल। दुवैले सँगै धेरै चलचित्रमा अभिनय गरेका छन्।
उनको बुझाइमा कलाकारिता
‘कलाकार भनेको सेतो रङ्ग हो,’ भन्छिन् वसुन्धरा। जसमा जुन रंग मिसायो, त्यही बनिदिन्छ।
कलाकारको कुनै जात र धर्म नहुने भन्दै उनी जस्तोसुकै परिस्थिति र भुमिकामा काम गर्न सक्नुपर्ने बताउँछिन्।
७ वर्षको उमेरदेखि लागेर हालसम्म चलचित्र उद्योगमा टिकिरहनु चानचुने कुरा होइन। नायिका त जो पनि हुन सक्छ। तर राज्यबाट पाएको ‘हास्य साम्राज्ञी’ को उपाधि उनलाई अतुलनीय लाग्छ उनलाई।
हास्य विधामा मौका पाउन गाह्रो हुने उनको बुझाइ छ। नायिकाकै भूमिकामा उनी खेलेका चलचित्र पनि छन्। तर त्यसैलाई निरन्तरता दिएको भए आज उनी पनि फुर्सदिली हुनेथिइन्।
केवल नायक नायिकको भुमिका खोजेर चलचित्र क्षेत्रमा लामो टिक्न नसक्ने उनको अनुभव छ। ‘हुन त कतिपय हिरोको उमेर गए पनि नायककै भूमिका गरिरहेका छन्। तर सँगैका नायिकाहरू रिटायर भइसके’ उनी भन्छिन्।
उनी गर्वसाथ सुनाउँछिन्, ‘हास्य कलाकारको उमेर हुँदैन।’