PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्ड-नेपालको पिरतीमा अदालत तगारो! ओलीको पेलानपछि परेको लभ, फैसलाले गराइदियो 'ब्रेकअप'



प्रकाश भण्डारी

प्रचण्ड-नेपालको पिरतीमा अदालत तगारो! ओलीको पेलानपछि परेको लभ, फैसलाले गराइदियो 'ब्रेकअप'
प्रतिनिधि सभा विघटनलाई सर्वोच्चले बदर गरेपछि खुसीयाली मनाउँदै प्रचण्ड माधव। फाइल फोटो

काठमाडौं : माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडाको महोल अरु दिनको भन्दा सोमवार भिन्न रह्यो। मन अमिलो पारेर नेताहरुले भित्र बैठकमा छुट्टिने सल्लाह गरिरहँदा बाहिर कार्यकर्ता भने अन्यौलमा थिए। अदालतले एमाले र माओवादीलाई आ-आफ्नो बाटो लाग्न भनेपछि केही समय यतादेखि समूह बनाएर बसेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुमा छटपटी थियो भने कार्यकर्तामा निरासा।

नेता छुट्टिन थालेको सुइको कार्यकर्ताले पाइसकेका थिए। प्रचण्डसँग छुट्टिनुअघि नेपाल समूहका नेताहरुले बानेश्वरको एक होटलमा बसेर अब अलग हुने निष्कर्श निकालेका थिए।

२००७५ जेठ ३ गते माओवादी र एमाले एकीकरण भइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बने यता पेरिसडाँडा प्राय: सुनसान थियो। तर,प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभाको विघटन गरेपछि पेरिसडाँडाको माहोल नै बदलियो। प्रचण्ड-नेपालले माओवादीको कार्यालयलाई हेडक्वाटर बनाएका थिए। दैनिक कार्यकर्ता र नेताको बाक्लो भिडले पेरिसडाँडाको महोल बदलिएको थियो। बिहान ११ बजेका लागि तोकिएको बैठक ३ बजेका लागि सरेको थियो सोमवार। ३ बजे नै बैठक सुरु हुने भनिए पनि बैठक केही ढिला भयो। अन्तिम बैठक भएकैले पनि होला नेताहरुले बैठक लामै गरे। झण्डै ३ घण्टा लामो बैठकमा प्रचण्ड नेपाललाई आ-आफ्नो बाटो लाग्ने निर्णय भयो।

फैसलाको तगारो

प्रचण्ड नेपालले पछिल्लो समय भाषणका क्रममा एउटा विषय दोहोर्‍याइ रहन्थे। एक अर्काको प्रशंसा उनीहरुको भाषणको साझा विषय जस्तै बनेको थियो। आफूहरुको सम्बन्ध ४ दशकभन्दा पुरानो भएको देखाउन उनीहरु विभिन्न घटनाक्रमलाई उदाहरणका रुपमा प्रस्तुत गर्थे। किन आफूहरु अहिले आएर एउटै पार्टीमा समूह बनाएर बस्नुपर्‍यो भन्नेबारे प्रस्टिकरण दिन्थे। ओलीले हेप्न थालेपछि रियल क्रान्तिकारी मोर्चा बनेको प्रचण्डले पुस १४ गतेको बिरोध सभामा बताएका थिए।  'यसलाई रियल क्रान्तिकारी मोर्चा भने पनि हुन्छ। ओलीबाट पीडित भएपछि हामी अहिले यसरी यहाँ छौ, ' प्रचण्डले भनेका थिए। धेरैजसो सार्वजनिक सभाहरुमा प्रचण्ड-नेपालले आफ्नो एक अर्काको एकै नासले प्रशंसा गर्दा ओलीको चर्को विरोध गर्ने गरेका थिए। तर आइतवार अदालतको फैसलापछि भने नेपाल निरीह देखिएका छन्। नेपाल समूहको बैठकले अदालतको निर्णय नमान्दा झनै संकट आउने भएकाले मान्नुको विकल्प नभएको निचोड निकालेको थियो।

सोमवार पेरिसडाँडाको बैठकपछि प्रतिक्रिया दिँदै नेपालले एमालेमै रहेर पनि ओली प्रवृति विरुद्ध संघर्ष गर्ने बताएका थिए। 'हामी चाहन्छौ सकारात्मक दिशामा मुलकलाई लाने। समाजको रुपान्तरणलाई अघि बढोस्। जनताका इच्छा आकांक्षा पुरा हुन्। हामी जहाँ रहे पनि लोकतान्त्रिक र वामपन्थी आन्दोलनलाई सशक्त बनाएर लान्छौ,' पेरिसडाँडाबाट बाहिरिँदै गर्दा नेता नेपालले भनेका थिए। नेपाल समूहका नेताहरुका अनुसार अहिले बाध्यात्मक अवस्थाका कारण ओली नेतृत्वको नेकपामा जान परे पनि नेपालले फेरी पनि प्रचण्डसँगको एकताबारे पहल गर्नेछन्। 'अहिले अदालतको फैसला कार्यान्वयन गर्ने भन्ने हो। जहाँ भए पनि एकताको पहल हुन्छ। कम्युनिस्ट आन्दोलन अगाडि बढ्छ, ' नेपाल निकट स्थायी कमिटी सदस्य भीम आचार्यले भने।

ओलीको पेलानले नै प्रचण्ड-नेपालको मिलन

नवौं महाधिवेशनबाट अध्यक्ष पदमा केपी ओली निर्वाचित भएपछि नेपाल पार्टी सत्ताबाट टाढा पुगे। ओलीले जसरी नेपालले आफ्नो समूहलाई पेलेका थिए त्यसरी नै नेपालमाथि इख देखाउन थालेपछि नेपाल उनीसँग रुष्ट बने। यतिसम्म की ओली बिरामी भएर सिंगापुरमा उपचारका लागि जाँदै गर्दा नेपालले स्वास्थ्य लाभको कामना गरे पनि ओलीले स्वीकारेनन्। बरु उनले 'तपाइ मेरो मृत्यु चाहनुहुन्छ' भन्दै नेपाललाई जवाफ फर्काए। त्यसयता प्रय: ओली-नेपाल सम्बन्धमा सुमधुरता आएन। ओलीबाट पेलानमा परेका नेपाल बरु ओलीको विकल्प खोज्ने मुडमा पुगेका थिए। नेकपा एकताका बेला कुममा कुम जोडेर जेटका दुई पाइलट भन्दै आफ्नो सम्बन्धको प्रचार गरेका प्रचण्ड-नेपालको सम्बन्धमा समेत राम्ररी अघि बढ्न सकेको थिएन।

ओलीको पेलान शैली माधव नेपालको हकमा मात्रै सिमित थिएन, प्रचण्डको हकमा पनि लागू गरे ओलीले। आलोपालो सरकारको सहमतिबाट ओली पछि हटेपछि प्रचण्ड झस्किएका थिए। त्यसपछि नै उनले ओलीविरुद्धको मोर्चाबन्दीलाई सशक्त बनाए। उता ओली प्रचण्ड नेपालको निकटतामा भाँजो ल्याउने प्रयासमा थिए। तर, त्यो सफल नभएपछि ओलीले वैशाखमा अध्यादेश ल्याएर प्रचण्ड-नेपाललाई तर्साइ दिए। भदौ २६ मा साविकको नेकपाको विवाद थामथुम पारिए पनि ओलीको पार्टी र सरकार सञ्चालनको रवैया कायमै रहेको भन्दै प्रचण्ड नेपालले फेरी मोर्चालाई सशक्त बनाएपछि ओलीको कुर्सी धरापमा पर्‍यो र पुस ५ मा संसद विघटनको निर्णयमा पुगे उनी।

पुस ५ यता प्रचण्ड-नेपालको सम्बन्ध यति गाढा बन्यो कि उनीहरुले पार्टीका अधिकांश सभाहरुमा मञ्च सेयर गरे। ओली र उनी निकट नेताहरुलाई कारवाही गर्दासमेत प्रचण्ड-नेपालको समान धारणा थियो-ओली पार्टी विरोधी गतिविधिमा लागे। तर, नेपाललाई अदालतको निर्णयलाई स्विकार्नुपर्ने बाध्यतामात्रै बनाएन निरीह भएर ओलीको नेतृत्वलाई स्वीकार्नुपर्ने अवस्थामा पुर्‍याएको छ। जबकि पुस ९ गते नेपालले अध्यक्षको पदबाट ओलीलाई हटाएर आफू अध्यक्ष भएका थिए भने प्रचण्ड-नेपालको समूहले ओलीलाई साधरण सदस्य नरहने गरी कारवाही गरेको थियो।

किन बने माधव नेपाल निराश?

अदालतको फैसला आएसँगै नेता नेपालले आफूलाई नै सबैधन्दा धेरै असर पर्ने गरी फैसला आएको विश्लेषण गरेका थिए। उनले आइतवार संसदबाट बाहिरिँदै गर्दा एमाले नछोड्ने प्रतिक्रिया दिएका थिए। त्यही दिन ओलीले आफ्नो समूहको संसदीय दलको बैठक बोलाएर नेपाललाई धम्की दिएका थिए। पार्टी विरोधी गतिविधि गरे कारवाही गर्ने ओलीको धम्की थियो। नेपालले अदालतको फैसलासँगै आफ्नो समूह र कानुन व्यवसायीसँगको छलफललाई तीव्र बनाएका थिए।

राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनलाई एमाले फुटाउन केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत आवश्यक थियो। तर उनको पक्षमा त्यो संख्या नरहेपछि उनी निरीह देखिएका हुन्। एमालेका १ सय २१ सांसद मध्य ४० जना मात्रै नेपालको पक्षमा छन्। नेकपा एमालेको २ सय ५ सदस्यीय केन्द्रीय कमिटीमा ९० जना नेता मात्रै नेपाल समूहमा छन्। यही कमजोर अवस्थाको विश्लेषण गरेर प्रधानमन्त्री ओली समूह भने अदालतको फैसला पछि एमाले एक ढिक्का रहने भन्दै उत्साहित छ। नेपालक लागि भने आफ्नो समूहको केन्द्रीय कमिटीमा नेताको संख्या र संसदीय दलको अल्पमत निरिहतको प्रमुख कारण बनेको छ।

अलग पार्टीमा रहेरै प्रचण्डसँग मित्रता

माओवादीको अबको रणनीति भनेको ओलीलाई दिएको समर्थन फिर्ता र कांग्रेससँग मित्रता हुने छ। एमालेको एउटा हाँगा (नेपाल समूह) उनीहरुको मित्र बन्नेछ भने तारोमा पर्नेछन् ओली। प्रचण्ड निटक नेता जनार्दन शर्माले अब ओलीलाई दिएको समर्थन फिर्ता हुने र नेपाल सँगको सम्बन्ध यथावत रहने बताएका छन्। 'एकता हुँदाको प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता हुन्छ। प्राविधिक रुपले अलग रहन परे पनि राजनीतिक हिसाबको सम्बन्ध रहन सक्छ,' शर्माले भने।

नेता नेपालले पनि अहिले आफूहरु टेक्निकल्ली रुपमा मात्रै अलग भएको बताएका थिए। 'हामी अदालतको फैसलाबारे पनि अध्ययन गर्दै छौ। यसका धेरै जटिलता पनि छन्। जहाँ रहे पनि मुख्य कुरा लोकतान्त्रिक आन्दोलनलाई सशक्त बनाउने हो,' सोमवारको पेरिसडाँडाको बैठकपछि नेपालले भनेका थिए।

फरक पार्टीमा रहेरै पनि प्रचण्ड-नेपालले मित्रता कायम राख्ने बताए पनि अब उनीहरुलाई यसअघिको जसरी मित्रता कायम राख्न सजिलो हुने छैन। अब संसदमा हुने अंकगणितमा ओलीले जारी गरेको ह्वीप नेपालले मान्नुपर्ने बाध्यता आउने छ। नमानेमा पार्टीबाट कारवाही गर्ने ओलीले धम्की दिइसकेका छन्। ओली निकट नेता सुवास नेम्वाङले एमालेमै फर्किएका नेताहरुलाई आफूहरु स्वागत गर्न तयार रहेको बताए। अदालतको फैसलालाई मान्य नेता नेपालले निर्णय गर्नु स्वागत योग्य भएको उनको भनाई छ। 'हामीले त पार्टीको निर्णय मान्नेलाई स्वागत गरेकै छौ। फेरी पनि एमालेमा फर्कने साथीहरुलाई स्वागत छ। पार्टी विरोधि गतिविधि गर्दा त त्यसबेला हुने कुराबारे त पार्टीकै विधि बिधान छन्,' उनले भने।

ओलीको नामसमेत सुन्न नचाहने नेता नेपाललाई अब ओलीकै नेतृत्वलाई स्वीकारेर अघि बढ्न सजिलो हुने छैन। प्रचण्डसँग मोर्चाबन्दी गरेर ओलीविरुद्ध संघर्ष छेड्दासमेत नेपाललाई भाउ नदिने ओलीले नेपाललाई मित्रवत ब्यवहार गर्नेमा ओली र नेपाल समूहकै नेता ढुक्क छैनन्। त्यसैले एमाले र माओवादी पार्टीको यात्रामा जति सिजलो प्रचण्डलाई हुने छ त्यति सजिलो एमालेभित्रको संघर्षमा नेपाललाई नहुने देखिन्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell