PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओली सरकारलाई साथ दिने कि नदिने? माओवादी केन्द्रको स्थायी समितिमा आज हुँदै छलफल



पहिलोपोस्ट

ओली सरकारलाई साथ दिने कि नदिने? माओवादी केन्द्रको स्थायी समितिमा आज हुँदै छलफल
माओवादी मुख्यालय पेरिस डाँडा।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली यतिखेर नेकपा माओवादी केन्द्रको समर्थनमा बनेको सरकारको नेतृत्व गरिरहेका छन्। विधिवत रुपमा नेकपा विघटनमा पुगेपछि ओलीको सरकार कति टिक्छ त? 

यसको उत्तर माओवादीले लिने आगामी कदमले नै निर्धारित गर्ने छ। आज नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक डाकेको छ। त्यसको मुल एजेन्डा सरकारलाई दिएको समर्थन फिर्ता लिने कि नलिने भन्ने हुनेछ।

'आज बैठक डाकिएको छ। सरकारलाई समर्थन दिएको विषयमा पनि छलफल हुनेछ,' माओवादी स्थायी कमिटी सदस्य देव गुरुङले भने। उनले बैठकले कस्तो निर्णय गर्छ अहिले नै भन्न नसकिने बताए।

सर्वोच्च अदालतले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई पूर्ववत पार्टीमा फर्काइदिएपछि नेकपा एमाले र माओवादी केन्द्रले बेग्लाबेग्लै हिसाबले पार्टीगत गतिविधिलाई तिब्रता दिएका छन्।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको सचिवालय बैठक मंगलवारका लागि बोलाएका थिए। तर, तयारी नपुगेको भन्दै बैठक स्थगित भएको छ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थायी कमिटी बैठक आजका लागि बोलाएका छन्। दिउँसो १ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक बोलाएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

'समसामयिक विषयमा धारणा बनाउन आजै बैठक बोलाइएको हो,' उनले भने।

प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव नेपालले साविकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अन्तिम स्थायी कमिटी बैठक पेरिसडाँडामा सम्पन्न गरेका थिए। प्रचण्ड-नेपालले उक्त बैठक एमाले माओवादी अलग भएको घोषणा गरेका थिए। प्रचण्डले अदालतको फैसलाका कारण नेपालसँग अलग हुनुपरेको प्रतिक्रिया दिएका थिए भने नेपालले आफू जहाँ भए पनि वाम एकताका लागि सक्रिए हुने बताएका थिए।

प्रचण्ड समूहमा रहेका एमालेका नेताहरु आफ्नो पुरानै पार्टीमा फर्किसक्दा समेत ओली समूहमा रहेका माओवादीका नेताहरु भने पुरानो पार्टीमा फर्किएका छैनन्। ओली समूहमा मन्त्रीका रुपमा सहभागी भएका माओवादीका नेताहरुले के गर्ने भन्ने विषयमा आन्तरिक छलफल तिब्र पारेका छन्। 

स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार आजको बैठकमा ओली सरकारलाई समर्थन गरिरहने कि नगर्ने भन्नेबारेमा निर्णय हुनेछ। 'अहिले नै के भनौं, बैठकमा कुरा उठ्छ र यसबारेमा निर्णय नै हुन्छ,' पोखरेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell