काठमाडौं: काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लब नेपाल पुलिससँग पराजित भएको छ। दुबैतर्फको फितलो ब्याटिङ भएको खेलमा आर्मीले पुलिसमाथि ३ विकेटको जित निकालेको हो।
टस जितेर ब्याटिङमा उत्रिएको आर्मीले ३०.१ ओभरमा अलआउट हुँदै ८७ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८.३ ओभरमा ७ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।
सुरुवाती ब्याटिङमा उत्रिएको आर्मीको ब्याटिङ चल्न नदिन पुलिसका सागर ढकालले सर्वाधिक ५ विकेट लिँदा पवन सर्राफले ३ र ललित राजबंशीले २ विकेट लिए।
सुरुवाती ब्याटीङ गरेको आर्मीको लागि लोकेस बमको सर्वाधिक ३२ रन बनाउँदा विक्रम सोबले १४ र रोहित पौडेलले १३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।
जवाफी ब्याटिङमा उत्रिएको पुलिसका लागि सुनिल धमलाले सर्वाधिक ३९ रन बनाउँदा पवन सर्राफ २२ रनमा अभिजित रहे। आर्मीको बलिङमा भने शहाब आलमले उत्कृष्ट प्रदर्शन गरे। उनले ९ ओभर बलिङ गर्दै ४५ रन दिएर ७ विकेट लिएका हुन्।
प्रतियोगितामा दोस्रो हार ब्यहोरेसँगै उपाधि होडमा आर्मी कमजोर देखिएको छ।
आजै कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा वाग्मती प्रदेश र एपीएफ भिड्दै छन्। सुरुवाती ब्याटिङ गरेको वाग्मतीले एपीएफलाई २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
