काठमाडौं : संवैधानिक परिषद सम्बन्धि सरकारले ल्याउन लागेको अध्यादेश अस्वीकृत गर्नका लागि प्रतिनिधिसभामा दर्ता विरोधको सूचना परेको छ।
विरोधको सूचना स्वीकृत भएमा अध्यादेशको प्रक्रिया अघि बढ्दैन। स्वतः अस्वीकार भएर निष्क्रिय हुन्छ। विरोधको सूचना अस्वीकृत भएमा मात्र अध्यादेशको बाँकी प्रक्रिया अघि बढ्नेछ।
संवैधानिक परिषद (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशको विषयलाई लिएर सूचना परेको हो।
सांसदहरु लक्ष्मणलाल कर्ण र मोहम्मद इस्तियाक राईले सूचना दर्ता गराएका हुन्।
संविधानको मर्म र भावना विपरीतका व्यवस्था भएको भन्दै उनीहरुले दर्ता गरेका हुन्।
संविधानको धारा २८४ को संवैधानिक परिषदको गठन सम्बन्धी व्यवस्थाको प्रतिकूल हुने गरी कानुन संशोधन गर्न खोजिएको भन्दै विरोध भएको हो। संविधानले परिकल्पना गरेको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत रहेको साथै संविधानसँग अध्यादेश बाझिएकाले अध्यादेश ल्याउनु संसदीय मान्यता र भावना विपरीत रहेको सूचनामा उल्लेख छ।
गत २३ गते यो अध्यादेश टेबुल गरेपछि सत्तारुढ बाहेक सबै दलले विरोध जनाउँदै वाक आउट गरेका थिए। त्यसलाई काउन्टर दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले 'एसिड आक्रमण विरुद्धको कानुन' ल्याउन खोज्दा विरोध भएको आरोप लगाएका थिए।
भोलि फागुन २६ गते प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठकमा ६ वटा अध्यादेश पेश हुँदैछ।
