कैलाली : कैलालीको धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) मा काठमाडौंको हिमालय ह्वाइट हाउस सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको दोस्रो खेलमा काठमाडौंकै नेक्सस स्कुललाई ४ विकेटले पराजित गर्दै ह्वाइट हाउस अन्तिम चारमा प्रवेश गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेक्ससले १९ दशमलव ५ ओभर सबै विकेट गुमाउँदै १ सय ४ रन बनायो। उसका लागि उत्तम थापाले ३२ रन बनाए। बलिङतर्फ ह्वाइट हाउसका गजेन्द्र बोहराले ५ विकेट लिए।
१ सय ५ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको ह्वाइट हाउसले १५ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। ह्वाइट हाउसको जितमा दीपक बोहराले अविजित रहदै ४३ रन बनाए।
नेक्ससका पप्पु रायले ३ विकेट लिए। खेलका म्यान अफ द म्याच ह्वाइट हाउसका गजेन्द्र बोहरा भए।
योसंगै प्रतियोगितामा सेमिफाइनलमा पुग्ने तीन टिमको टुङगो लागेको छ। यसअघि बाल बाटिका र लिटल फ्लावर अन्तिम चारमा प्रवेश गरिसकेका छन्।
यसअघि आजै भएको पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वतीले स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई ५६ रनले पराजित गर्दै प्रतियोगितामा दोश्रो जित निकालेको छ। शारदाले दिएको १ सय १७ रनको लक्ष्य पछ्याएको स्टेपिङले १४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै मात्र ६० रन बनाउन सक्यो।
स्टेपिङका लागि विशाल बिष्टले १७ र अभिषेक कुँवरले १६ रन बनाउन बाहेक अन्य खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्।
स्टेपिङलाई सस्तैमा समेट्न शारदाका लागि विकास सुनार र गणेश बहादुरले समान ४/४ विकेट लिए। यसअघि पहिले ब्याटिङ गरेको शारदाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १६ रन जोडेको थियो। शारदाका लागि सुदिप रोकायाले ३४ रन जोडे। उनले ३५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३४ रनको योगदान दिएका थिए। त्यस्तै सागर चन्दले २६ रनको योगदान दिँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ स्टेपिङका लागि अभिषेक कुँवर, रोमन बिष्ट र प्रवेश साउँदले समान २/२ विकेट लिए।
अब शारदा सरस्वतीले आफ्नो तेश्रो खेल भोली अत्तरीयाको होलिल्याण्डसँग खेल्ने छ।