काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न नसकेपछि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेट्न पुगेका छन्।
ओली विरुद्ध अविश्वासको प्रस्ताव लैजान सक्ने विषयमा अध्यक्ष प्रचण्ड र देउवाबिच छलफल भएको हो। उनीहरुबिच २० मिनेट कुराकानी भएको थियो। देउवा र प्रचण्डबिच भेट भएको नेपाली काँग्रेसका नेता रमेश लेखकले पुष्टि गरे।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट प्रचण्ड सोझै देउवालाई भेट्न पुगेका हुन्। आज माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको थियो। बैठकमा यो विषयले ठाउँ पाए पनि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग छलफल गरेरमात्र निर्णय लिने रणनीति माओवादीले लिएको छ।
यता, प्रधानमन्त्री केपी शर्माले जनता समाजवादी पार्टीसँग सरकार साझेदारी लगायतका विषयलाई लिएर वार्ता गर्न कमिटी नै बनाइसकेका छन्।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत राजनीतिक बन्दीलाई रिहाइ गर्नुपर्ने, संविधान संशोधन गर्नुपर्ने विषयमा छलफल गर्न, सहमति निर्माण गरेर कार्यान्वयन गर्न समिति बनाइएको जसपाका नेताले बताएका छन्। कार्यदलमा जसपाका तर्फबाट सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण छन् भने एमालेबाट सुवास नेम्वाङ, प्रधानमन्त्रीका सल्लाकार राजन भट्टराई र उपमहासचिव विष्णु पौडेल छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई माओवादी केन्द्रले समर्थन फिर्ता लिएमा विश्वासको मत लिनुपर्ने बाध्यता छ। त्यसका लागि जसपा र कांग्रेसमध्ये कुनै एक पार्टीको समर्थन ओलीलाई आवश्यक छ।
