कैलाली : सर्वोच्च अदालतको पछिल्लो फैसलापछि सुदूरपश्चिम सरकार पनि अल्पमतमा परेको छ। तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणको समयमा माओवादी केन्द्रका तर्फबाट मुख्यमन्त्री बनाउने सहमतिमा प्रदेश सरकार गठन प्रक्रिया अघि बढेको सुदूरपश्चिममा उक्त सहमति अहिले फेरी सर्वोच्चले पूर्ववत् हैसियतमा पुर्याइदिएपछि सरकार अल्पमतमा परेको हो। तर, अहिलेको गठबन्धन कायमै रहेको अवस्थामा भने सरकारको भविष्य सुरक्षित देखिएको छ।
तत्कालीन नेकपाको गुट विभाजन चर्किएको समयमा पनि सुदूरपश्चिम सरकारको भविष्य अन्योलमा पुगेको थियो। अहिले पनि एमाले तर्फ माधव नेपाल समूहको वर्चस्व बढी देखिएकाले प्रदेश सरकारको भविष्य सुनिश्चित त छ तर पार्टीले केन्द्रबाटै सर्कुलर गरेको अवस्थामा भने प्रदेश सरकार फेरबदल हुने निश्चित छ।
५३ सदस्यीय प्रदेश सभा रहेको सुदूरपश्चिममा सरकार गठनका लागि एकल बहुमत कसैसँग पनि छैन। तर, गठबन्धन पछि भने एमाले सबैभन्दा सहज अवस्थामा छ। सरकार गठनका लागि २७ प्रदेश सभा सदस्य आवश्यक रहन्छ। त्यसमा एमालेसँग २५, कांग्रेससँग १४, माओवादीसँग १२ र जनता समाजवादी पार्टीसँग २ सदस्य छन्। एमाले र जसपा मात्रै मिले पनि अहिलेको गठबन्धन फेरिएमा सरकार बन्न सक्ने अवस्था रहन्छ।
के अहिलेकै गठबन्धन सम्भव छ?
सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टको नेतृत्वमा रहेको सरकारको भविष्य अब यसै प्रश्नले निर्क्योल गर्ने छ। एमालेका तर्फबाट प्रतिनिधित्वरत सदस्यहरूले भने अहिलेकै गठबन्धन रहन सक्ने बताएका छन्।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका उप–नेता तथा एमाले पार्टीमा संसदीय दलको नेताको हैसियतमा रहने प्रकाश शाह अहिलेकै गठबन्धन अघि बढ्ने बताउँछन्।
‘अहिले नै वर्तमान समीकरण अल्पमतमा पर्यो भनेर भन्ने स्थिति छैन’, उनले भने, ‘वामपन्थीहरूको एकताको सम्भावना कायमै रहेकाले सरकारले अहिलेकै अवस्थामा निरन्तरता पाउन सक्छ। तर त्यसमा पनि केन्द्र सरकारको गठन प्रक्रिया कस्तो बन्छ त्यसले बढी अर्थ राख्छ।’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेत तारा लामा तामाङको प्रतिक्रिया पनि यस्तै छ।
‘सुदूरपश्चिममा स्पष्ट बहुमत कसैको नभएको अवस्थामा हाम्रो कार्यगत एकता गर्दा जुन सहमति भएको थियो सोही अनुरूप अघि बढ्ने भन्ने हाम्रो धारणा हो। अब माथिबाट केही त्यस्तो एलाइन्स भयो भने त्यसपछिको प्रक्रिया कस्तो रहन्छ अहिले भन्न सकिन्न तर तत्काल अविश्वासमा जाने र सरकार फेर्ने भन्ने कुरा केही पनि छैन’, उनले भने, ‘हामीले विश्वास छैन भनेको अवस्थामा पो मुख्यमन्त्रीले विश्वासको मत लिने हो अहिले हाम्रो अविश्वास नै छैन।’
तत्कालीन नेकपाको गुटगत विवादमा माओवादी छोडेर लेखराज भट्टसँगै ओली गुटमा लागेका प्रदेश सभा सदस्य भने फेरी माओवादीमै फर्केका छन्। ओली गुटमा लागेपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका झपट बोहराले पनि अहिले सरकार एमाले माओवादी गठबन्धनकै रहने बताए। उनले सर्वोच्चको निर्णय पछि अब पूर्ववत् पार्टीमै फर्किनुपरे पनि विप्लवलगायतका शक्ति जोडेर अब कम्युनिस्टको एकताको पक्षलाई थप बलियो बनाउने र सरकारको भविष्य पनि सुरक्षितै रहने दावी गरे।
तर, एमाले भित्रै पनि गुटगत विवाद चर्किएको अण्डमा भने सुदूरपश्चिममा सरकार फेरबदल हुने देखिन्छ। त्यो अवस्था माधव पक्षको वर्चस्व रहेको एमाले गुटलाई ओलीले सर्कुलर लगाएर अविश्वास प्रस्ताव ल्याउन लगाएको खण्डमा आउन सक्ने देखिन्छ।