PahiloPost

May 15, 2024 | २ जेठ २०८१

गोलपोस्ट पछाडिको खुला आकाशमुनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास

गोलपोस्ट पछाडिको खुला आकाशमुनि अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अभ्यास

मुकुन्द घिमिरे/पहिलोपोस्ट


उत्तरतिरको गोलपोस्ट पछाडिको ट्र्याक एण्ड फिल्डमा नीलो रङको म्याट्रेस ओछ्याइएको छ। त्यहाँ बिहान र बेलुका १५/२० जना स्पोर्टस् पर्सनहरु देखिन्छन्। यो दृश्य हो त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको। यहाँ बन्द प्रशिक्षण चलिरहेको छ, कबड्डीको।

त्यसो त नेपालमा कबड्डी भन्यो भने धेरैले फिल्म ठान्न थालेका छन्। किनकि 'कबड्डी' फिल्मका सिक्वेलहरु जति चर्चित भए, खेल चाहिँ उति चर्चाहीन। त्यसो त केही वर्ष अघिसम्म नेपालको राष्ट्रिय खेलमै दरिन्थ्यो कबड्डी। तर, अहिले सन्दर्भ फेरिएको छ। नेपालको राष्ट्रिय खेलमा कबड्डीलाई भलिबलले किक आउट गरिसकेको छ।

+++

सिनियर खेलाडी कल्याण भुजेलको दैनिकी दशरथ रंगशालाको त्यही कुनाबाट सुरु हुन्छ। र, त्यहीँबाटै दिनको अन्त्य पनि। बंगलादेशमा आयोजना हुन गइरहेको बंगबंधुकप कबड्डीका लागि रंगशालामा बिहान र बेलुकी दुई सत्रमा अभ्यास चलिरहेको छ। रंगशाला भने पनि अभ्यास चाहिँ खुला आकासमुनि नै हो।

त्यहीँ अभ्यासका लागि आइपुग्छन् कल्याण। उनी टोलीका सिनियर खेलाडीमध्येका एक। घर चाहिँ जनकपुर। अझ भनौं, कबड्डीको राष्ट्रिय टोलीमा प्रदेश २ बाट एक्ला खेलाडी।

उनी कबड्डीबाट राष्ट्रिय खेलाडीमा डेब्यु भएका चाहिँ होइनन्। पहिले उनी क्रिकेट खेल्थे, पछि खोखो। त्यसपछि उनको इन्ट्री भयो कबड्डीमा। 

कबड्डीमा अहिले राष्ट्रिय टोली कप्तानविहीन छ। त्यसैले उनी त्यसका पनि बलियो दावेदार हुन्।

+++

टोलीको ट्रेनिङ फागुन १२ गतेबाट सुरु भएको हो र चैत १ गतेसम्म हुने प्रशिक्षक विष्णु भट्टले बताए। अहिले १६ जना खेलाडीबाट १० जना छानिएर बंगलादेश जानेछन्। यी १६ जना खेलाडी अघिल्लो वर्ष १३ औं दक्षिण एसियाली खेलकुदमा बन्दसत्रको अभ्यासका लागि मुम्बई गएका खेलाडी नै हुन्।

'आठौ राष्ट्रिय खेलकुदबाट छानिएका २८/२८ जना खेलाडीबाट छानेर १३ औं सागका लागि खेलाडी छनोट भएका थिए,' प्रशिक्षक भट्टले भने, 'बंगबंधु कप कबड्डी प्रतियोगिताका लागि १३ औं सागको अन्तिम १६ सम्म पर्ने खेलाडीहरुलाई यहाँ बोलाइएको छ।'

टिमको अभ्यास छोटो देखिए पनि प्रतिस्पर्धी देशहरुको पनि तयारी उस्तै रहेको प्रशिक्षक भट्टले सुनाए। यद्यपि, संघले तयारीका लागि आवश्यक सबै पक्षमा ध्यान नपुर्‍याएको हो कि भन्ने झल्कन्छ, अभ्यासलाई हेर्दा।

+++

'मैले त सानैदेखि कबड्डी खेलेको। व्यवसायिक हिसाबले चाहिँ १२/१३ वर्ष भयो। यससमेत गरेर मेरो पाँचौं अन्तर्राष्ट्रिय खेल हुनेछ,' २९ वर्षीय भुजेलले भने। पहिला उनी क्रिकेट खेल्दा क्षेत्रीय तह पुगेका थिए। क्रिकेट राजनीति चित्त नबुझेपछि उनी लागेका थिए, खोखोतिर। उनले खोखोबाट दुईवटा राष्ट्रिय खेलकूदमा सहभागिता जनाए। ११ औं सागमा खोखो सूचीमा थियो तर अन्तिम समयमा रद्द भयो। 'त्यसपछि मैले खोखो छोडेँ,' उनले भने।

त्यसपछि उनको खेलको गन्तव्य बन्यो कबड्डी। र, यसमै जम्न थाले। त्यसयता विभिन्न प्रतियोगिताहरुमा राम्रो प्रदर्शन गर्दै आएका उनले पदक पोल्टामा पारिरहेका छन्।

टिममा उनी राइट कोभर पोजिसनमा खेल्छन्।

रंगशालामा देखिने कबड्डीको अभ्यासले देखाउँछ राज्यले यसलाई कति उपेक्षा गर्छ। उपेक्षाको यो तह खेलाडीहरुको घरबाटै सुरु हुन्छ। भुजेलको परिवार नै कबड्डी खेलसँग जोडिएका। त्यसैले 'करिअर' बन्दैन भन्दै घरबाट सुझाव पाउँथे - नखेल। किनकि उनका दाजु दिदी दुवैले कबड्डीबाट खासै उपलब्धी हात पारेका थिएनन्।

त्यसैले, उनी पहिले अरु खेलतिर भुले। अन्तिममा त्यही खेलमा फर्किए जुन परिवारको सुझाव विपरीत थियो।  कबड्डीमै लागेको पनि एक दशक भन्दा धेरै भइसक्यो उनको।

+++

'यो खेल फिजिकल पनि हो र टेक्निकल पनि हो,' प्रशिक्षक भट्ट भन्छन्, 'फिटनेस त चाहिन्छ नै सँगसँगै 'तक्निक' पनि चाहिन्छ।'  

भुजेल त कबड्डीलाई जोखिमको खेल पनि मान्छन्।

'यसमा बलले मात्र हुँदैन बुद्धि पनि त्यतिकै आवश्यक पर्छ,' उनले भने, 'कहिले ७ जनासँगै एक्लै लड्नुपर्छ, कहिले छ जनासँग। गाह्रो हुन्छ।'

त्यस्तो अवस्थामा चोटपटक लाग्ने डर पनि उत्तिकै हुने। चोट खेलमा मात्र होइन, अभ्यासमै हुने रहेछ। अभ्यास गर्दा रनिङको क्रममा लागेको चोट देखाउँदै उनले भने, 'अभ्यासमा रनिङको क्रममा चोट लागेर एंकलमा दुखाइ भएको थियो। झण्डै तीनदिन अभ्यास गर्न सकिनँ। रिस्क धेरै छ।'

भारतको चर्चित प्रो कबड्डीको अक्सनमा पनि उनी परेका थिए। तर, त्यसमा छनोट चाहिँ भएनन्। नेपालका सञ्जय श्रेष्ठ, जयबाहदुर बोहोरा, लालमोहन यादव लगायतका खेलाडी भने परेका थिए छनोटमा। यद्यपि, त्यस खेलबाट नेपाली टोलीको विकासमा भने ठूलो प्रभाव भेटेनन् प्रशिक्षक भट्टले।

+++

भारतमा प्रो कबड्डी खेलेकामध्ये लालमोहन यादव टोलीमा छन्। आर्मीका खेलाडीको वर्चस्व रहेको नेपाली टोलीको कप्तानका अर्का दावेदार उनी पनि हुन्। हालसम्म चारवटा राष्ट्रिय खेलकुदमा आर्मीबाट सहभागी हुँदा चारै पटक टोलीलाई स्वर्णपदक दिलाउन सफल रहे उनी। त्यसबाहेक दुई वटा साफ, एउटा एसियन गेम र अर्को एउटा इन्टरनेशनल गेम खेलेका छन् उनले।

'बंगलादेशका लागि छोटो समयमा राम्ररी तयारी गरिरहेका छौं। हाम्रो गुरुहरु पनि लाग्नु भएको छ,' उनले भने।

आर्मीबाट ८ जना छन् छानिएका। सागपछि कोभिड १९ का कारण सामुहिक अभ्यास हुन सकेन। त्यसको असर हो, छोटो समयमा अभ्यास सक्नुपर्ने अहिलेको बाध्यता।

भारतमा गएर प्रो कबड्डी खेल्दा यादवले यहाँभन्दा धेरै कुराहरु फरक पाएका रहेछन्।

'त्यहाँका हरेक सिस्टम, फिजिकल फिटनेसदेखि टेक्निकलसम्मका हरेक पक्षमा मानिसहरु लागेका हुन्छन्। एउटा टिममा २२/२४ जना स्टाफ हुन्छन्। खेलाडी चाहिँ १८ देखि २४,' उनले भने।

फिजियो, कोचदेखि न्युट्रिसन लगायत विभिन्न क्षेत्रका स्टाफ धेरै हुने देखेका उनका लागि यहाँको अभ्यास चाहिँ औशत लाग्नु सामान्य हो। नहोस् पनि किन, रंगशालामा अभ्यास चलिरहँदा एकजना फिजियो पनि देखिएनन्। न्युट्रिसियनको कुरा त परको विषय।

++‌+

नेपाली खेलकुदको तुलना गर्ने पहिलो अन्तर्राष्ट्रिय मञ्च भनेको दक्षिण एसियाली क्षेत्र नै हो। दक्षिण एसियामा खास गरी महिला कबड्डीमा नेपालको स्थान राम्रो छ। अघिल्लो वर्ष सागमा रजत पदक जित्यो पनि नेपाली कबड्डी महिला टिमले।

'महिला टिमका लागि ओभरवेट त इण्डिया छ। पछिल्लो सागलाई हेर्दा श्रीलंका र बंगलादेश नेपालको बलियो प्रतिस्पर्धी हुन्,' सागमा महिला टिमलाई प्रशिक्षण दिएका भट्टले भने, 'बाँकी टिमहरु भन्दा चाहिँ नेपाल माथि छ।'

राम्रो व्यवस्थापन र तालिम दिनसक्ने हो भने भारतलाई पनि नेपाली टोलीले टक्कर दिनसक्ने भट्टको दाबी छ। सागमा भारतले दोस्रो रोजाइको टिम ल्याएर स्वर्ण लिएर गएको थियो। त्यसैले उनले दावी गरेजति सहज जित चाहिँ निकाल्न कठिन नै छ।

१३ औं सागमा तयारी राम्रो भए पनि राम्रा खेलाडीहरुले अन्तिम समयमा चोट ब्यहोर्दा राम्रो नतिजा निकाल्न नसकेको भुजेलको तर्क थियो।

'भने अनुसार घरेलु मैदानमा प्रदर्शन देखाउन सकिएन,' उनले भने।

नेपाली टोली सहभागी हुन गइरहेको बंगबन्धु कप एसियन लेभलको प्रतियोगिता हो।

'यसमा एसियाली खेलकुदहरुमा पहिलोदेखि चौथो स्थान बनाउने साउथ कोरिया, भारत, पाकिस्तान र इरानबाहेक अन्य देशहरुले सहभागिता जनाउने छन्,' प्रशिक्षक भट्टले भने।

भुजेल बंगलादेशमा हुने प्रतियोगिताबाट मेडल आउनेमा आशावादी सुनिन्छन्।

'हाम्रो टिमले राम्रो गर्नसके एउटा पदक आउने पोजिसन चाहिँ ल्याउन सक्छौं। खाली हात आउनु पर्दैन,' भुजेलले भने।

नेपाली टोलीमा बहुसंख्यक आर्मीका खेलाडी भएकाले टोलीको फिटनेस नबिग्रिएको भट्टको भनाइ छ। अझै केहीदिनको अभ्यासले बाँकी खेलाडी पनि फर्ममा आउने उनले बताए।

+++

कबड्डीका पूर्व प्रशिक्षक विमल पोखरेल २०३४ सालमा संघठित भएको कबड्डीले यसको क्षमता जति विकास नभएको स्वीकार्छन्। दोस्रो सागमा नेपाली टोलीको कप्तानी गरेका उनको बहुदल आएपछि लामो समयसम्म राष्ट्रिय प्रतियोगिता नहुँदा खेलको रफ्तार बिग्रिएको ठम्याइ छ।।

'अलिकति पछाडि नै परेको हो। अहिलेसम्म अरु खेलहरु जुन रुपमा गए त्यो रुपमा पछिल्लो दुई चार वर्षलाई छाडेर जान सकेन,' उनले भने।

यता प्रशिक्षक विष्णु भट्ट पहिलाको पुस्ताले माटोमा खेलेको भए पनि अहिले कम्तीमा केन्द्रमा म्याटको व्यवस्था हुँदा केही सहज अवस्था रहेको सुनाए।

पछिल्लो समय राष्ट्रपति सिल्डमा समावेश भएयता खेलाडी उत्पादनमा सहज भएको उनको विश्लेषण छ।

'६/७ वर्ष भयो, राष्ट्रपति रनिङ सिल्डमा समावेश भएयता यो खेलले अलि गति पाएको छ,' उनले भने।

कबड्डी धेरै जिल्लामा खेलिने भए पनि तुलनात्मक रुपमा तराईका जिल्लामा लोकप्रिय छ।

अन्य खेलका राष्ट्रिय स्तरका प्रतियोगिता हुँदा पनि एक्पोजर कम भएको गुनासो आइरहँदा कबड्डीमा भने राष्ट्रिय स्तरका प्रतियोगिताको कमी नै देखिन्छ।

जे होस, उपलब्ध श्रोत साधनमा नेपाली खेलाडीहरुले राम्रो प्रदर्शन भने गर्दै आएका छन्। बंगलादेशमा हुने प्रतियोगिताका लागि नेपाली टोलीलाई शुभकामना।



ट्रेन्डिङ पोस्ट

Ncell