यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को खेलमा इटालियन क्लब युभेन्टसलाई हराउँदै पोर्चुगिच क्लब पोर्टो अन्तिम ८ मा प्रवेश गरेको छ।
गएराति सम्पन्न दोस्रो लेगको खेलमा युभेन्टसले ३-२ गोल अन्तरले जित निकाले पनि अवे गोलको आधारमा पोर्टोले जित निकालेको हो। यसअघि पहिलो लेगको खेलमा पोर्टोले २-१ गोल अन्तरले जित निकालेको थियो। समग्रमा ४-४ को बराबरी हुँदा अवे गोलका आधारमा पोर्टोले जित निकाल्दै अर्को चरणमा प्रवेश पाएको हो।
गएरातिको खेलमा सर्जियो ओलिभेराले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गर्दा खेलको १९ औं मिनेटमा पोर्टोले अग्रता बनाएको थियो। पहिलो हाफमा १ गोलले पछि परेको घरेलु टोलीका लागि फेडेरिको किएजाले गोल गर्दै खेलको ४९ मिनेटमा खेल बराबरीमा ल्याए। उता खेलको ५४ औं मिनेटमा पोर्टोका मेहदी तरेमीले रातो कार्ड खाँदै बाहिरिँरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो।
उता युभेन्टसका लागि किएजा ले नै ६३ औं मिनेटमा गोल गरेका थिए। त्यस्तै थप समयमा दुबै टिमले गोल थपे। पोर्टोका ओलिभेराले ११५ र युभेन्टसका एड्रिएन रबिओटले ११७ मिनेटमा गोल गर्दा खेलमा ३-२ गोल अन्तरले जित निकाल्न युभेन्टस सफल भयो। यद्यपि समग्रमा भने अवे गोलका आधारमा जित निकाल्दै पोर्टोले अन्तिम ८ को यात्रा तय गर्यो।
