PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

त्यो 'अन्तिम बैठक'पछि बदलिएको पेरिसडाँडा : निराश नेता, अलमलमा कार्यकर्ता



प्रकाश भण्डारी

त्यो 'अन्तिम बैठक'पछि बदलिएको पेरिसडाँडा : निराश नेता, अलमलमा कार्यकर्ता

काठमाडौं : पुस ५ गते प्रतिनिधि सभा विघटन भएयता माओवादी केन्द्र र नेकपा एमालेका नेताहरुले सबैभन्दा बढी उतारचढाव भोगे। सडकमा शक्ति प्रदर्शनदेखि आरोपप्रत्यारोपसम्म उत्रे नेता कार्यकर्ता।

प्रतिनिधि सभाको विघटन र पुनर्स्थापनासँगै २ वर्षसम्म संघर्ष गरेको साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को इतिश्री हुँदै तथा एमाले/माओवादी केन्द्र पुनर्जन्मको साइत पनि यही मेसोमा जुर्‍यो।

नेताले गरेका फरक खाले निर्णयमा अदालतको निर्णयले एकैनासको पीडा थपिदियो।

विघटनको निर्णय अदालतले उल्ट्याउँदा जति निराश ओली देखिन्थे त्योभन्दा बढी निराशा अदालतले नेकपालाई विघटन गरेपछि एमालेका वरिष्ठ नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा छायो। अदालतको फैसलासँगै लड्डु खाएर प्रचण्ड-नेपालले खुसी मनाउ गर्दा ओली भारी मनका साथ बालुवाटारमा ७० औं जन्मजयन्ती मनाइरहेका थिए।

अदालतको फैसला भने ओली र नेपालका लागि जन्मदिनको उपहार बन्न पुग्यो। तर, ढुक्क मनले बर्थ डे सेलिब्रेसन नेपालले पनि गर्न पाएनन्। केक काट्न अघि नै अदालतले फैसला सुनाइदियो नेकपा नाम विवादको।

संसद विघटन बदरको फैसला ओलीको पराजय थियो भने नेकपा विघटनको फैसला प्रचण्ड-नेपाल सम्बन्धको तगारो। फैसलाले प्रचण्ड-नेपाल दोस्तीमा ब्रेक लागेसँगै नेता कार्यकर्तासमेत अलमलमा परेका छन्। उनीहरुमा निराशा छाएको छ।

जसको झल्को प्रचण्ड नेपालले पुस ५ गतेपछि मुख्यालय बनाएको माओवादी पार्टी कार्यालयमा छलर्ङ्ग देखिन्थ्यो।

ओली हटाउने प्रचण्ड - माधवको त्यो उत्साह

सुविधानगरको उकालो छिचोलेपछि पेरिसडाँडा पार्टी कार्यालय पुगिन्छ। उसो त कोटेश्वरबाट महादेव मार्ग हुँदै पनि पुग्न सकिन्छ पेरिसडाँडा। गत बिहीवार पेरिसडाँडा प्राँगणमा खचाखच पार्किङ गरिएका थिए सवारी साधन। साथमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिले माहोल नै आँकलन गर्न सकिन्थ्यो। पार्टी कार्यालयको माथिल्लो तलामा रहेको हलमा साबिकको नेकपाको प्रचण्ड नेपाल समूहले बोलाएको केन्द्रीय कमिटीको बैठक बस्ने तर्खर हुँदै थियो। सानो सानो समूहमा नेता कार्यकर्ता गफिँदै थिए।

बैठक सुरु भएपछि हल खचाखच भरियो। भित्र ठाँउ नपुगेपछि केही केन्द्रीय कमिटी सदस्य नै बाहिरै बसेर भाषण सुन्दै थिए।

अदालतले पुनर्स्थापना गरेपछि आइतवार प्रतिनिधि सभाको बैठक बस्ने तय भएको थियो। त्यसैको रणनीति बनाउन प्रचण्ड-नेपालले केन्द्रीय कमिटी सदस्यलाई पेरिसडाँडा बोलाएका थिए। कार्यकर्ता, सञ्चारकर्मी र सुरक्षा कर्मीको बाक्लो भिडलाई बेला बेलामा नेताहरु कौशीमा आएर हेर्थे। नेता कार्यकर्तमा विजयी भाव थियो भने ओलीले राजिनामा दिएनन् भन्नेमा आक्रोश पनि।

तर, धेरैको जिज्ञासा एउटै थियो-संसदमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँछ कि आउदैन? बैठकका निर्णय सार्वजनिक गर्दै स्थायी कमिटी सदस्य भीम रावलले अविश्वासको प्रस्तावबारे टुंगोमा पुगि नसकेको बताएपछि मेटियो कार्यकर्ताको छटपटी। ओलीबिरुद्ध त्यो दिन प्रचण्ड-नेपाल आक्रामक रुपमा प्रस्तुत भए।

ओली समूहका सुवास नेम्वाङसहित ७ जना नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो केन्द्रीय कमिटीले निर्णय गरेको थियो। जुन प्रचण्ड नेपालको संसद विघटन पछिकै सबैभन्दा बोल्ड डिसिजन पनि थियो।

त्यो अन्तिम बैठक

अविश्वासको प्रस्तावमा सहमति जनाउन नेपाली काँग्रेसले आनाकानी गरेपछि प्रचण्ड-नेपाल अलमलमै थिए। तैपनि संसद सुरु हुनु केही सयम अघिसम्म पनि काँग्रेसलाई मनाउने प्रयास भने जारी नै रह्यो। यही बेला प्रचण्ड नेपालले अप्रत्याशित खबर सुने- नेकपा नामको मुद्दा ऋषि कट्टेलले जिते। त्यसपछि संसदमा प्रचण्ड-नेपाल समूहको रणनीति नै बदलिएको थियो। अदालतको फैसलाले एमाले माओवादी ब्युँताइदिएपछि स्थायी कमिटी सदस्य भीम रावलले प्रधानमन्त्री ओलीको पार्टीबारे प्रश्न गरेका थिए। अदालतको फैसलाबारे प्रचण्ड-नेपाल समूहका नेताले खुद्रा जवाफबाहेक आधिकारिक धारणा सार्वजनिक गरेनन् बरु एउटै धारणा बनाउन सोमवारका लागि स्थायी कमिटीको बोलाए।

सोमवारको बैठक नेपाल र एमालेका अर्का बरिस्ठ नेता नेपाल लगायततका लागि बिदाइ बैठक बन्यो। त्यसअघि नेपाल समूहले आफ्नो छुट्टै भेला बोलाएर एमालेमै मिसिने निर्णय गरिसकेका थियो।

सोमवार अरु बेलाभन्दा पार्टी कार्यालयको महोल फरक देखियो। पेरिसडाँडामाथिको आकाशमा बादल मडारिएको थियो। नेता कार्यकर्ता अनुहार पीडा भावले डम्म थियो - सायद उनीहरुको मन पनि अनिश्चियमा मडारिएको थियो कि!

ओलीविरुद्धको मोर्चाबन्दीका लागि दोस्ती गरेका प्रचण्ड-नेपाल समूहका नेता अमिलो मन गरेर निस्किरहेका थिए। साना साना समूहमा छरिएर बसेका कार्यकर्तामा अनेक चर्चा चल्ने गर्थे। 'ओलीले सेटिङ मिलाएकै हुन्। अब माधव नेपाल पेलानमा परे,' यस्तै गफगाफ कार्यकर्ताको छलफलको विषय बनिरहेको थियो। सायद अन्तिम बैठक भएकैले होला साँझ अबेरसम्म नेताहरु बैठक हलबाट निस्केनन्। साढे ३ घण्टा लामो बैठकले निर्णय गर्‍यो- अब एमाले एमाले तिर र माओवादी माओवादी तिर। माओवादी केन्द्रका नेता नाराणकाजी श्रेष्ठले सोमवारको बैठक नै नेकपाको स्थायी कमिटीको अन्तिम बैठक भएको बताएका थिए। त्यो बैठकसँगै माओवादीले एमालेका नेताहरुलाई औपचारिक रुपमै बिदाइ गरेको थियो।

सुनसान पेरिसडाँडा

मंगलवार माओवादी केन्द्रको स्थायी कमिटी बैठक बोलाएका थिए दिउँसो १ बजेका लागि। ठीक १ बजे नै प्रचण्ड आइपुगे। तर अरु नेता भने आइपुगेका थिएनन्। अरु बेला भरिभराउँ हुने पार्टी कार्यालयको प्राँगण लगभग खाली थियो। बैठक हलभित्रको माहोल पनि बदलिएको थियो। प्रचण्डको दायाँबाया माधव नेपाल र झलनाथ खनालको अभाव देखिन्थ्यो।

बाहिर फाट्टफुट्ट नेता कार्यकर्ता गफिँदै देखिन्थे। क्यान्टिनमा सोमवारको जस्तो चियागफ चलिरहेको थिएन। पार्टी कार्यलयमा उपस्थित केही कार्यकर्ता भने मलिन देखिन्थे। प्रायजसोको बिचार एउटै थियो- ओलीको चाहना पुरा भयो। अब चुनावमा एमाले पनि हार्छ, माओवादी पनि हार्छ।

मंगलवारको बैठकले सत्ता समीकरणबारे जनता समाजवादी र नेपाली काँग्रेससँग छलफल गर्ने निर्णय गरेको छ। तर सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भने बैठक अनिर्णित रह्यो। बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले फागुन २९ गते केन्द्रीय कमिटीको बैठक र चैत १ गते भेला बोलाउने निर्णय भएको सुनाए।

गतिविधि माओवादीको, बोर्ड नेकपाकै

नेकपासम्बन्धीको अदालतको फैसलासँगै नेकपा एमालले पार्टी गतिविधिलाई तीब्रता दिएको छ। देशभरका पार्टी कार्यालयमा एमालेको बोर्ड झुण्डाउने ओली समूहका नेताले अभियान नै चलाइरहेका छन्। मंगलवार धुम्बाराहीको पार्टी कार्यालयमा पनि एमालेको बोर्ड टांगिएको छ। तर, माओवादी केन्द्रले भने ओली समूहको शैलीलाई पछ्याएको छैन।

मंगलवार माओवादीको स्थायी कमिटीको बैठक बसेको भए पनि नेकपाकै बोर्ड झुण्डिएको थियो। माओवादी केन्द्रको बोर्ड झुण्डाउने बारेमा छलफल भए पनि मंगलवार सम्म नेकपाकै बोर्ड झुण्डिएको थियो। माधव नेपाल, झलनाथ खनाल ललगाएतको कार्यालय पनि यथावत नै थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell