काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु हुनुअघि नेकपा माओवादी केन्द्रको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसेको छ।
सरकारलाई दिएको समर्थन फिर्ता र अब बन्नसक्ने सत्ता समीकरणकै बारेमा छलफल भइरहेको स्थायी कमिटी सदस्य गशेण साहले जानकारी दिए। मंगलवार बसेको स्थायी कमिटी बैठकले सत्ता समीकरणबारे नेपाली कांग्रेस र जनता समाजवादी (जसपा)सँग वार्ता गर्ने निर्णय गरेको थियो।
बैठक सकिएलगतै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई भेटन उनकै निवास बुढानीलकण्ठमा पुगेका थिए। सत्ता समीकरणबारे कुराकानी भए पनि देउवासँग कुनै सहमति भने भइनसकेको प्रचण्ड निकट नेताहरुको भनाइ छ।
हिजोको स्थायी कमिटी बैठक अर्को समीकरण नबनेसम्मका लागि सरकारलाई दिएको समर्थन फिर्ता नलिने निचोडमा पुगेको थियो। माओवादीका तर्फबाट सरकारमा सामेल भएका मन्त्रीहरुका विषयमा समेत उनीहरुको धारणा आइनसकेकाले तत्काल केही निर्णय नहुने नेताहरुले बताएका थिए।
आजै १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निरन्तरताका लागि जसपाका नेतासँगको छलफललाई तिब्रता दिएका छन्। मंगलवार जसपाको संसदीय दलको बैठकले सरकारसँग वार्ताका लागि वार्ता टोली गठन गरेको थियो।
