PahiloPost

Dec 24, 2024 | ९ पुष २०८१

यस्तो हुनेछ कुडा कर्णालीमा, आजबाट हुँदैछ उत्सव सुरु



पी बी खड्का

यस्तो हुनेछ कुडा कर्णालीमा, आजबाट हुँदैछ उत्सव सुरु

सुर्खेत : कर्णालीलाई चिन्ने र चिनाउने उद्देश्यसहित आजबाट कर्णाली उत्सवको दोस्रो संस्करण सुरु हुँदैछ। दिउँसो दुई बजेट बुलबुले उद्यानबाट कुडा कर्णालीको नारासहित सुरु हुने कर्णाली उत्सव तीन दिनसम्म सञ्चालन हुनेछ। 

कर्णाली प्रदेशमा लोपोन्मुख भाषा, सभ्यता र संस्कृति, प्रदेशको समृद्धिको सम्भावनाको खोजी गर्ने आधारहरु, स्वास्थ्य अवस्था लगायतका विषयमा नीति निर्माण तहका व्यक्तित्व, राजनीतिज्ञ, अर्थविज्ञ, स्वास्थ्यकर्मी, साहित्यकार लगाएत दुई दर्जन बढी प्राज्ञिक र बौद्धिक व्यक्तिले बहस गर्नेछन् कुडा कर्णालीमा। 

आयोजक ऋति फाउण्डेसनका अनुसार पहिलो दिनमा ‘विचार विमर्श’, दोस्रो दिन ‘हाम्मो मान्नवी’, तेस्रो दिन ‘सुर्के थैली’ र चौथो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ मूल शिर्षकहरुमा छलफल तथा विचार विमर्श हुने मुल आयोजक समितिका संयोजक कमल लम्सालले जानकारी दिए। 
यी हुन् बहस हुने विषय र व्यक्ति!

उत्सवमा विभिन्न १४ वटा सेसन हुने छ। उत्सवको पहिलो दिन अर्थात् उद्घाटनपछि ‘कर्णाली किन घुम्ने?’ विषयवस्तुमा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा, ‘कर्णाली चिनाउने योगी’ शीर्षकमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा. डा. जगतप्रसाद उपाध्याय, ‘सार्वजनिक नीति निर्माणमा सार्वजनिक बहसको महत्व’ शीर्षकमा प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्का, र ‘वीरेन्द्रनगरका वैभव’ शीर्षकमा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले विचार तथा धारणा राख्ने कार्यक्रम तय भएको आयोजकको भनाई छ। 

‘मुख्य माण्ठ, मूल कडा’ सत्रमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र प्रदेश २ का मुख्यमन्त्री लालबावु रावतसँग पत्रकार दिलभूषण पाठकले बहस गर्नेछन्। प्रदेश हाँक्ने जिम्मेवारीमा बसेका मुख्यमन्त्रीद्वयले पोख्नेछन् संघीयताको अनुभव, काम गर्दाका सजिला र अप्ठ्यारा पाटाहरु।  

त्यस्तै, ‘कहरी सुकालो होला कइले जाला कैठ’ सत्रमा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापा, संक्रमणरोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्य विज्ञ डा. सुरेश तिवारी र डा. दुर्गा थापाबिचको बहसमा लेखक माधव चौलागाईले सहजीकरण गर्नेछन्। यस सत्र विशेषगरी कर्णालीको स्वास्थ्य अवस्था र स्वास्थ्य अवस्था सुधारको उपायको खोजी हुने छ। 

‘पढ्नु पड्डो छ : साक्षर शिक्षित र प्राज्ञिक कर्णाली’ सत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति प्रा. डा. नन्दबहादुर सिंह, युवा राजनीतिज्ञ मिलन पाण्डे, वीरेन्द्रनगर नगरपालिकाको उप प्रमुख मोहनमाया ढकालसंगको बहसमा पत्रकार राजेन्द्र बानियाँले सहजिकरण गर्नेछन्। 

‘कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा. दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा पुप्पराज कँडेल, डा. रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीबिच बहस हुने छ । 

त्यस्तै, ‘छाउ र भाउ’ सत्रमा लेखक राधा पौडेल, राजनीतिज्ञ विन्दा पाण्डे र स्वास्थ्यकर्मी नवराज केसीले बहस गर्नेछन् । 

‘बाडो थाडो र ओटालो’ सत्रमा कर्णाली प्रदेश योजना आयोगका सदस्य दीपेन्द्र रोकाया, जुम्लाका गोविन्द नेपाली र समाजशास्त्री डा. टीकाराम गौतमले बहस गर्नेछन्। जसको सहजीकरण पत्रकार दीपा दाहालले गर्नेछिन्।

‘आफ्नै कथा, आफ्नै बान्की’ सत्रमा साहित्यकार बुद्धिसागर, रंगकर्मी हिरा बिजुली नेपाली, देउडा गायक नेत्रराज शाही, लेखक सरला गौतमबिच बहस हुने कार्यक्रमको ‘सेड्युल’ छ। 

प्रसिद्ध पर्यटकीय गन्तव्य बुलबुले उद्यानमा सञ्चालन हुने उत्सव आगामी २९ गतेसम्म सञ्चालन हुने आयोजक ऋति फाउडेशनका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell