PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

माओवादीका नेता बालुवाटारबाट किन फर्किएनन्? नारायणकाजी श्रेष्ठ जवाफ : केही दिन पर्खिनुस् न



पहिलोपोस्ट

माओवादीका नेता बालुवाटारबाट किन फर्किएनन्? नारायणकाजी श्रेष्ठ जवाफ : केही दिन पर्खिनुस् न

काठमाडौं : नेकपा माओवादी केन्द्रको बुधवार बसेको स्थायी कमिटी बैठक पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने विषयमा अनिर्णित भएको छ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय नभएको जानकारी दिए। 

'नैतिक रुपले राजीनामा दिनु जरुरी थियो। त्यस्तो नभएकाले अरु पार्टीसँग छलफल गरेर हामी निर्णय गर्छौ,' उनले भने। पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँग भएको वार्तातको बैठकलाई ब्रिफिङ गरेका थिए।

यस्तै, केन्द्रीय कमिटीको चैत १ गतेको बैठक र २ गते कार्यकर्ता भेला भएकाले भेलामा सहभागी हुने नेता कार्यकर्ताको बैठकले मापदण्ड निर्धारण गरेको श्रेष्ठले बताए।

पार्टीको संगठनात्मक स्थितिबारे प्रतिवेदन पेश गर्न चार सदस्यीय कार्यदल गठन गर्ने पनि बैठकले निर्णय गरेको छ। जसमा स्थायी कमिटी सदस्य गरिराजमणि पोखरेल, वर्षमान पुन, पम्फा भुषाल र जनार्दनर्दन शर्मा रहेका छन्।

एमालेका नेताहरु आफ्नो पुरानै पार्टीमा फर्किसक्दा माओवादीका नेता किन फर्किएनन्?

जवाफमा श्रेष्ठले केही दिन पर्खन आग्रह गरेका छन्। उनले चाँडै एमालेमा रहेका नेता माओवादी केन्द्रमा फर्कने बताए।

'केही दिन पर्खनुस न। बैठकमा आए मात्रै फर्किएको हुन्छ र? उहाँहरुले यसबारेमा आफ्नो चाडै धारणा सार्वजनिक गर्नुहुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell