PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई नेतृत्व दिएमात्रै ओलीलाई साथ : मुनु सिग्देल



निशा गुरुङ

वाग्मती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई नेतृत्व दिएमात्रै ओलीलाई साथ : मुनु सिग्देल

हेटौंडा : वाग्मती प्रदेशसभा सदस्य एवम् माधव समूहका नेकपा एमाले नेतृ मुनु सिग्देलले अष्टलक्ष्मी शाक्यको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने अवस्था भए प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई साथ दिने बताएकी छिन्।

मुख्यमन्त्री डोरमणि पौडेलको कार्यशैलीका कारण आफूहरुले अविश्वास प्रस्ताव ल्याएको बताउँदै उनले अब पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्री बनाउनुपर्ने बताइन्।

प्रदेशसभामा एमालेका ५८ छन्। प्रदेश संसदीय दलको निर्वाचनमा पौडेलले अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका थिए। पौडेलले ३४ मत ल्याएका थिए भने शाक्यले २४ मत ल्याएकी थिइन्।

सिग्देलले सर्वोच्च अदालतको फैसलासँगै आफूहरु पार्टी र सरकारको नेतृत्वमा परिवर्तन भए पूर्ववत् रुपमा नै जिम्मेवारीमा रहन तयार रहेको बताइन्।

एकीकरण अघिको नेकपा एमालेमा मकवानपुर जिल्ला अध्‍यक्ष रहेकी सिग्देलले सर्वोच्चको फैसलासँगै आफू फेरि जिल्ला अध्यक्ष बनेको दाबी गरिन्। अदालतको काम पार्टी फुटाउने र जुटाउने नभएकाले अदालतको फैसला मान्नुपर्ने तर संवैधानिक ब्याख्या आवश्यक रहेको उनको भनाइ छ।

'एकताको पक्षमा तर बोर्ड फेरियो'

मकवानपुरको जिल्ला पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाउँदै ‘नेकपा एमाले’ को बोर्ड राखिएको छ।

एमाले मकवानपुर अध्यक्ष सिग्देलले आफूहरु ३ वर्ष अगाडि फर्किएर पूर्ववत् अवस्थामा आइसकेकाले हतार हतार गरेर ताला फोडेर कार्यालयमा ‘पदस्थापन’ गर्ने अवस्था नभएको बताइन्।

उनले पहिलाका आरोप-प्रत्यारोप अब 'सपना' जस्तो भएको बताइन्।

‘हिजोसम्म नेताहरुले एकले अर्कालाई तथानाम भन्ने र उक्साउने काम गरे,’ उनले भनिन्, 'पार्टीभित्र सबै सम्भावना हुने हुँदा व्यक्तिगत रिस लिनु हुँदैन।'

उनले जसले जहाँ गाली गरे पनि राजनीतिक मुद्दाहरु यथावत् नै रहने बताउँदै 'हिँड्दा कुम ठोकिन्छ भने झैं काम गर्दै जाँदा तीक्तता आउनु जायज' भएको बताइन्।

सिग्देलले केन्द्रमा कुरा मिल्न थालेपछि मकवानपुरमा कुरा मिल्ने बताइन्। उनले सबैसँग छलफल गर्दै अब पार्टी कार्यालय नियमित जाने बताएकी छिन्।

प्रदेशसभामा एमालेका ५८, माओवादी केन्द्रको २३ सदस्य, काँग्रेसका २२,  राप्रपाका २, नेपाल मजदुर किसान पार्टीका २, साझा विवेकशीलका ३ र १ जना स्वतन्त्र सांसद् छन्।

सत्तारुढ दलबाट प्रमुख सचेतक रहेका केशवराज पाण्डेले प्रदेशसभामा एमालेको बहुमत रहेको भन्दै एमालेकै सरकारले निरन्तरता पाउने बताए। एमालेका माधव समूहले केपी ओली समूहलाई साथ दिएमात्र वाग्मतीमा डोरमणि पौडेलको नेतृत्वमा सरकार टिक्ने सम्भावना रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell