PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

महाशिवरात्रीमा ट्राफिक प्रहरीले यस्तो बनायो सवारी रुट



पहिलोपोस्ट

महाशिवरात्रीमा ट्राफिक प्रहरीले यस्तो बनायो सवारी रुट

काठमाडौं : भोलिको महाशिवरात्रीको अवसरलाई ध्यानमा राखेर ट्राफिक प्रहरीले सवारी रूट फेरबदल गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले यस पटक चावहिल, गौशाला, तिलगंगा क्षेत्रमा नियमित जस्तै निर्बाध रूपमा सवारी साधन चलाउने व्यवस्था मिलाइएको जानकारी दिएको छ।

त्यस्तै, चक्रपथमा चल्ने सवारी साधनलाई दर्शनार्थीको चापका कारण सञ्चालन गर्न नसक्ने अवस्था आएमा गौशाला क्षेत्रमा निषेध गरी वैकल्पिक सडक प्रयोग गरेर सञ्चालन गरिने महाशाखाका एसएसपी जनकराज भट्टराईले जानकारी दिए। मालवाहक सवारी साधनहरू तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट कोरिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट कोरिडोर हुँदै होटेल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालबाहक सवारी साधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

दर्शनार्थी एव भक्तजनहरूका सवारी साधनहरूलाई भने वनकाली खुल्ला चौर, सिफलचौर, गुह्येश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ। यसैगरी पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवा प्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारी साधन गौशाला प्रहरी र वनकालीभित्र राखिने एसएसपी भट्टराईले जानकारी दिए।

वागमती कोरिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुह्येश्वरी पारी पार्किङ स्थान तोकिएको छ। गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीको मोडबाट रातो पुल हुँदै गौशालातर्फ, द्वारिका होटेलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने महाशाखाले जनाएको ।

चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न समेत महाशाखाले अनुरोध गरेको छ।

गत वर्षका शिवरात्रिमा करिब १० लाख मानिसहरू पशुपति क्षेत्र पुग्न गरेको दाबी गरे पनि यस पटक भने अन्य वर्षको तुलनामा कम मानिस आउने आकलन गरिएको छ। कोभिड १९को कारण भारतबाट दर्शन गर्न आउने मानिसको सङ्ख्या कम हुने देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell