PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अध्यादेश कार्यसूचीबाट हटेको संसद १२ मिनेटमै सकियो, बैठकअघि निराश हुँदै फर्किए प्रधानमन्त्री ओली



पहिलोपोस्ट

अध्यादेश कार्यसूचीबाट हटेको संसद १२ मिनेटमै सकियो, बैठकअघि निराश हुँदै फर्किए प्रधानमन्त्री ओली

काठमाडौं : प्रतिनिधिसभाको बैठक चैत ३ गते १ बजेसम्मका लागि स्थगित भएको छ।

कार्यसूचीबाट अध्यादेश हटाइएको बैठकले १४ जनाको शोक प्रस्ताव पारित गरेको छ। १२ मिनेट चलेको बैठकले प्रतिनिधिसभा सदस्यद्वय सानु शिवा, सूर्यबहादुर केसी, पूर्वसदस्यहरु दीपकबहादुर गुरुङ, राममान श्रेष्ठ, संविधानसभा सदस्य राममान श्रेष्ठ, मानपुर चौधरी, पूर्वसदस्य वीरबहादुर लामा, ओमप्रसाद गौचनको निधनमा शोक प्रस्ताव पारित गरेको हो।

त्यसैगरी पूर्वसदस्य इन्द्रहाङ लिम्बु, संविधानसभा सदस्य भीमप्रसाद गौतम, पूर्वसदस्य कमनसिं लामा, गंगादत्त जोशी, एकनाथ रानाभाट, कुवेरप्रसाद शर्मा, शंकरप्रसाद उप्रेतीको निधनमा पनि शोक प्रस्ताव पारित भएको संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिए।

यसअघि पहिलो बैठकमा सरकारले संवैधानिक परिषद् सहित ७ वटा अध्यादेश प्रस्तुत गर्ने तय भएको थियो। तर दाहाल-नेपाल समूह, कांग्रेस, जसपाले विरोध जनाउँदै बैठकमा अवरोध गरेका थिए। दाहाल-नेपाल समूहले बहिष्कारै गरेको थियो। बहिष्कारका बाबजुद कानुनमन्त्री लिलानाथ श्रेष्ठले अध्यादेश प्रस्तुत गर्ने प्रयास गरेका थिए। त्यसपछि कांग्रेस र जसपाले रोस्टम घेराउ गरेर नाराबाजी गरेका थिए।

त्यसको भोलिपल्ट फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण विरुद्धको कानुन रोक्न दाहाल-नेपाल समूह, कांग्रेस र जसपाले संसदमा सेटिङ गरेको आरोप लगाएका थिए।

मंगलवार मात्रै माओवादी केन्द्र, जसपा र कांग्रेसले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश कार्यसूची नराख्न माग गर्दै विरोध सूचना संसद सचिवालयमा दर्ता गराएका थिए। उक्त मागलाई सम्बोधन गर्दै सभामुख अग्निप्रसाद सापकोटाले अध्यादेशलाई कार्यसूचीबाट हटाएका हुन्।

अध्यादेश कार्यसूचीमा नरहेको सूचनापछि संसद भवन पुगेका प्रधानमन्त्री ओली उपनेता सुवासचन्द्र नेम्वाङसँग परामर्श गरी बैठक सुरु हुनु अघि नै फर्किएका थिए। फर्किँदा ओली सञ्चारकर्मीसँग बोल्न मानेनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell