काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संकिर्ण स्वार्थका लागि समय समयमा नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्ने गरिएको बताएका छन्।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको बार्षिकोत्सवको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले सेनालाई विवादमा तान्नका लागि हुने गरेका प्रयासहरुप्रति सजग र सर्तक रहन पनि सबैलाई आग्रह गरे। कानून उलंघन भए सम्बन्धित निकायले हेर्ने भएकाले वादप्रविादमा नउत्रने संस्थालाई वादविवादमा तान्ने खालमा काम गर्नु उचित नहुने तर्क उनले गरे।
उनले भने, ‘आफ्ना संकिर्ण स्वार्थका लागि नेपाली सेनालाई अनावश्यक ढंगले विवादमा तान्न खोज्ने, अपमान वा प्रोभोग गर्न खोज्ने लगायत विभिन्न खालमा प्रवृत्तिहरु देखिन्छन् र नेपाली सेनालाई घिसारेर विवादमा ल्याउन खोज्ने। नेपाली सेनाका सदासयतापूर्ण र राम्रा कृयाकलापमा पनि जस नदिने, श्रेय नदिने बरु कसरी त्यसको आलोचना गर्न सकिन्छ, विरोध कसरी गर्न सकिन्छ भनेर ठाउँ खोज्ने र अनुत्तरदायी ढंगले हिलो छ्याप्ने खालका कुराहरु उचाल्ने। त्यस्तो कुराहरु गर्नहुँदैन। नेपाली जनताको चेतनालाई समय समयमा अलमल्याउन खोज्ने, भ्रममा हाल्न खोज्ने प्रयास पनि हुने गरेका छन्। हामी त्यस्ता प्रयासहरुसंग सर्तक हुनुपर्छ।’
उनले सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भइरहेको दाबी गरे। विशेष गरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेनाको परिचालन एवं प्रयोग सही ढंगले गर्ने सवालमा परिषद्ले महत्वपुर्ण भूमिका निर्वाह गरिरहेको उनले उल्लेख गरे।
उनले भने, ‘सुरक्षा परिषद्को संबैधानिक कानूनी र व्यवहारिक रुपमा सही प्रयोग भएको छ। र यसले आफूलाई नीति निर्माणको तहमा र कार्यक्षेत्रमा खासगरी प्रतिरक्षा र राष्ट्रिय सुरक्षाको मामिलामा नेपाली सेना र सेनाको परिचालन एवं प्रयोग कसरी उपयुक्त ढंगले हुन सक्छ भन्ने नीतिहरु र अभ्यासका अनुभवहरुले हामीलाई परिमार्जित स्थितिमा पुर्याएको छ। हामी अहिले अन्यौलको स्थितिमा होइन बहुतै स्पष्टताको स्थितिमा छौं। विगतको अनुभवहरुलाई लिएर हामी अझ स्पष्टताका साथ अगाडि बढ्न जरुरी छ।’
तुलनात्मक रुपमा विश्वमा शान्तिको स्थिति भए पनि ठूलो सानो सबै राष्ट्रले अनुचित ढंगले प्रभाव विस्तारको मुद्दालाई अघि सारेको भन्दै उनले आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्लंघन हुन्छ कि भन्ने कुरामा सबैले ध्यान दिनुपर्ने बताए।
उनले भने, ‘प्रतिरक्षा र सुरक्षाको विषय र सैन्य परिचालन सम्बन्धी प्रश्नहरुलाई मुलतः राष्ट्रहरुले दुई हिसाबले सोचेको पाइन्छ। प्रभाव विस्तार र सम्प्रभुताको रक्षा। हामी प्रभाव विस्तारको पक्षमा होइन हामी न्योचित सम्प्रभुताको रक्षा र शान्ति सुरक्षाको पक्षमा छौं। ठूलो होस् वा सानो सबैले आफ्नो अनुचित ढंगले प्रभाव विस्तारमा होइन न्यायोचित हकको रक्षामा सैन्य शक्तिको प्रयोग गर्नुपर्दछ भन्ने हामी ठान्दछौं। कहीँ पनि अन्यथा ढंगले प्रयोग गरिनु उचित हुँदै होइन। कुनै पनि राष्ट्रले आफ्नो न्यायोचित हितको रक्षा र सम्बद्र्धनमा केन्द्रीत गर्नुपर्छ। आफ्नो राष्ट्रिय हितको रक्षा गरिरहँदा अरुको राष्ट्रिय हितको कहीँ कतै उल्लंघन हुन्छ कि भन्ने कुरामा हरेक राष्ट्र सजग सचेत हुनुपर्छ। यसअर्थमा हामी ग्लोबली र सर्वकालिक ढंगले सही सिद्धान्त, नीति र व्यवहारमा छौं।’
नेपाल सरकार सधै शक्तिको आडमा नभई सत्यको आडमा न्यायका कुरा स्थापित गर्न चाहने भएकाले सोही अनुसार प्रतिरक्षा र सुरक्षा लगायत नीति तय गरिएको उनले स्पष्ट पारे। राष्ट्रिय र प्राकृतिक विपतको समयमा नेपाली सेनाले नै अग्र भागमा बसेर काम गर्ने गरेको उल्लेख गर्दे उहाँले सुरक्षा,सेवा र निर्माण सम्बन्धी कामलाई समुचित र व्यवस्थित ढंगले अघि लैजाने कुराको व्यवस्थापन सुरक्षा परिषद्ले गर्ने बताए।
नेपाली सेनाको राष्ट्र निर्माण, सुरक्षा र प्रतिरक्षामा महत्वपुर्ण योगदान र गौरवपुर्ण इतिहास रहेको तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पनि ख्याति कमाएको भन्दै उनले नेपाली सेनाको प्रशंसा गरे।
प्रधानमन्त्री ओलीले हिंसाको बाटोमा लागेकालाई शान्तिपूर्ण राजनीतिको मुलधारमा फर्काएकाले आन्तरिक हिंसा टुंगिएको र विखण्डनवादको पनि अन्त्य भएकाले नेपाल राष्ट्रिय एकताको शान्तिपुर्ण र नयाँ युगको उचाईमा प्रवेश गरेको बताए। उनले सम्मृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय उद्देश्य र गन्तव्य प्राप्त गर्न सबै व्यवधानहरु हटेकाले अब नेपाल सजिलै समृद्धिको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरे।
