PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

माओवादी र जसपाको शीर्ष नेताबिच भेट : सत्ता समीकरणमा जारी छ छलफल



पहिलोपोस्ट

माओवादी र जसपाको शीर्ष नेताबिच भेट : सत्ता समीकरणमा जारी छ छलफल

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग भेटवार्ता गरेका छन्।

पार्टी कार्यालय पेरिसडाँडामा जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग प्रचण्ड र नेता श्रेष्ठले छलफल गरेका हुन्। प्रचण्ड निकट स्रोतले चार जनाबिच ४५ मिनेट कुराकानी भएको जानकारी दियो। सवा घण्टा कुराकानी भए पनि वार्ता भने सकारात्मक भइनसकेको स्रोतको दाबी छ।

'४५ मिनेट कुराकानी भयो। कुनै निचोड निस्कनुभन्दा पनि कुराकानीको सिलसिला सुरु जारी रहेको हो,' प्रचण्ड निकट स्रोतको भनाई छ।

बुधवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रचण्ड र नेता श्रेष्ठलाई कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मेवारी दिएको थियो। यसअघि प्रचण्डले मंगलवार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग उनकै निवासमा भेट वार्ता गरेका थिए। प्रचण्डले उक्त वार्ता सकारात्मक भएको बुधवारको स्थायी कमिटी बैठकलाई ब्रिफिङ गरेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए।

'वार्ता सकारात्मक त भएको छ। तर नेपालको पोलिटिक्समा कुन बेला के हुन्छ भर हुँदैन,' उनले भने।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अस्तित्वमा नरहेको फैसला गरेपछि एमालेका नेताहरु आफ्नो पुरानै पार्टीमा फर्किसकेका भए पनि माओवादीले भने सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन।

समर्थन फिर्ता लिएमा ओलीले संसदमा विश्वासको मत लिन ३० दिनको समय पाउने र त्यो बेलामा उनले आफ्नो पक्षमा बहुमत पुर्‍याउन सक्ने भएकाले माओवादी ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने रणनीतिमा छ। त्यसका लागि नेपाली कांग्रेस र जसपा निर्णायक हुने भन्दै माओवादीले कांग्रेस र जसपासँगको छलफललाई तिब्रता दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell