काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष एवं सुदूरपश्चिम संयोजक डा भीम रावलले कैलाली घटनापछि पार्टीका महासचिव ईश्वर पोखरेललाई टेलिफोन गरेर घटनाबारे जानकारी गराएका छन्।
रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा रावलले आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश पार्टी कार्यालय चटकपुरमा रावलको ‘नेम प्लेट’ हटाएर उद्योगमन्त्री लेखराज भट्टको राखेपछि केपी ओली समूह र माधव नेपाल समूहबीच झडप भएको थियो। माधव समूहले भट्टको ‘नेम प्लेट’ पनि हटाइसकेका छन्।
उक्त घटनाबारे आफूले महासचिवलाई टेलिफोन गरेर जानकारी गराएको उपाध्यक्ष रावलले बताए। ‘महासचिवलाई टेलिफोन गरेर यो के हो भनेर जानकारी मागे। उहाँले अनविज्ञ प्रकट गर्नुभयो,’ उनले भने।
रावलले उपमहासचिव विष्णु पौडेललाई सम्पर्क गर्न खोजे पनि फोन नउठाएको बताए। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग पनि सम्पर्क हुन नसकेको रावलको भनाइ छ। ‘उहाँसँग पनि कुरा गर्न खोजेको थिए। सम्पर्क हुन सकेन। सम्पर्क नभएकाले कुरा भएन। उहाँ त अध्यक्ष हो,’ उनले भने। घटनाबारे पार्टीमा छलफल हुने, सुदूरपश्चिम प्रदेश कमिटीको बैठक बस्ने र उचित ढंगले अगाडि बढ्ने रावलले बताए।
रावलले धनगढीमा गुण्डागर्दी प्रवृत्ति देखिएको रावलले आरोप लगाए। ‘अहिले नै यस्तो चरित्र देखाइयो। पार्टी विधि प्रक्रिया विधिसम्मत ढंगबाट चलाउन चुनौती देख्छु। चटकपुरमा गुण्डागर्दी गरेर एमालेलाई समाप्त गर्छन्। आक्रमण गरेपछि प्रतिकार गर्छौं। एमाले फुटाउने र सिध्याउने षडयन्त्र पनि हुनसक्छ। हाम्रा पार्टीका सदस्यलाई धम्की दिएका छन्। पार्टी पंक्तिले प्रतिवाद गर्छ,’ उनले भने।
स्वघोषित इन्चार्ज र अध्यक्ष भन्नेलाई कारवाही गर्न माग गर्दै नगरेमा सरकार संरक्षित गुण्डागर्दी हो भन्ने बुझ्नुपर्ने रावलको भनाइ छ। कर्ण थापाको गुण्डागर्दीले यो घटना भएको रावलको आरोप छ।
