PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

‘कर्णाली उत्सव, कुडा कर्णालीका’ सुरु, मुख्यमन्त्रीले भने, ‘पछिल्लो पुस्ता बाउबाजेको थातथलो थाहा नहुने अवस्थामा छ’



पी बी खड्का

‘कर्णाली उत्सव, कुडा कर्णालीका’ सुरु, मुख्यमन्त्रीले भने, ‘पछिल्लो पुस्ता बाउबाजेको थातथलो थाहा नहुने अवस्थामा छ’

सुर्खेत : ‘कर्णाली उत्सव, कुडा कर्णालीका’ आजबाट सुरु भएको छ। कर्णाली चिन्ने र चिनाउने उद्देश्य सहित उत्सवको उद्घाटनमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको इतिहास र भाषा लोप हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

कर्णालीबाटै सुरु भएको खस भाषाबाट नेपाली भाषा उत्पत्ति भएको र पछिल्लो समय अंग्रेजीसहित अन्य भाषाको प्रयोग बढ्दै गएकाले नेपाली भाषा संग्रहालयमा सीमित हुने चिन्ता व्यक्त गरेका हुन्।

‘पुराना हाम्रा संकृति, कला परम्परालाई पछिल्ला पुस्ताहरुले बिर्सदै गए,’ मुख्यमन्त्री शाहीले भने, ‘नेपाली भाषा लोप हुने अवस्था छ, नेपाली भाषा संग्रालयमा मात्रै सीमित हुने अवस्थामा छ।’

यो उत्सवमा बौद्धिक व्यक्तित्वहरुको जमघट भएको भन्दै इतिहास रक्षाका लागि वैचारिक बहस हुन जरुरी रहेको बताए।

‘पछिल्ला पुस्ताहरु आफ्नो बाउ बाजेको थातथलो कस्तो थियो भन्ने इतिहासहरु थाहा नहुने अवस्थामा छन्,’ उनले भने, ‘इतिहास ज्ञान भएकाले मान्छेको संघर्षका बारेमा जान्न, बुझ्नका लागि इतिहास बुझ्न र जान्न जरुरी छ।’

उत्सवमा कर्णालीको भोक, आजको अवस्था र भविष्यबारे बहस गर्नुपर्नेमा जोड दिए। तब मात्रै कर्णालीको मार्गचित्र कोर्न सजिलो हुने छ। ‘भोकका विषयमा, विगतको कर्णाली कस्तो थियो त्यो विषयमा जान्नुपर्छ,’ उनले भने, ‘तामाको भाडाँमा अन्न राख्ने कर्णाली प्लाष्टिमा राख्नुपर्ने किन भयो ? बहस गर्नुपर्छ।’

आजको कर्णाली कस्तो छ र भविष्य कता जाँदै छ भनेर राजनीतिक, सांस्कृतिक, सामाजिक, आर्थिक हिसावले बुझ्नुपर्ने उनी बताउँछन्। ‘भविष्य कस्तो छ? भोलिका दिनमा कता जाँदै छ कर्णाली? हाम्रै कारणले पछि पर्ने, हाम्रै कारणले अघि बढ्ने हो,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णालीको उत्खनन् गर्नुभन्दा पनि कर्णालीका भविष्यको बारेमा कहाँनिर समस्या छ, पहिचान गरेर समस्या समाधानतर्फ लाग्नुपर्छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell