महाशिवरात्रीको रात महादेवलाई निकै जाडो हुन्छ भन्ने कथन छ। त्यसैले महादेवलाई जाडो हुनबाट बचाउन टोलभरीका युवाहरु जम्मा हुन्थे। राति बाल्न काठ, दाउरा खोज्न बिहानदेखि तयारी हुन्थ्यो। यो दिन काठ चोरी गर्यो भने पाप लाग्दैन भन्ने विश्वास भएकाले जहाँ काठ देखियो त्यो ल्याएर राति बाल्न ठिक्क पार्ने समेत गरिन्थ्यो। बिहान भने सडकमा बाटो छेकेर राति महादेवलाई प्रसाद चढाउन (जगात) चन्दा उठाउने समेत गरिन्थ्यो।
जब विस्तारै सन्ध्या हुन्थ्यो तब नेवार बाहुल्य बस्तीमा गीत गुञ्जिन सुरु हुन्थ्यो:
महाद्य: त चिकुल, गनेद्य: त इकुल
हलिमली सिया छाय् , मिप्वा च्याका क्वाक्क याय्
(महादेवलाई जाडो भयो, गणेशलाई रिंगटा लाग्यो, मकैभटमास भुटेर चढाउ, आगो बालेर तातो बनाउँ)
तिहारमा देउसी भैलो खेले झै युवाहरु सक्दो काठ, पैसा, मकै, भटभास माग्थे। नदिए महादेव रिसाउछन् सम्म भन्थे।
'मि: पनेत सिं निका हिं .... बिगु ख: सा याक्न ती, मखु ख: सा लिहाँ वने,
महाद्य:वं तँ वसा, जिमिसँ मस्यु न्हा न्हा!'
(आगो ताप्न दुई टुक्रा दाउरा देउ, दिने भए छिटो देउ,
नदिने भए फिर्ता जान्छौं, महादेव रिसाए भने हामीलाई थाहा छैन है!)
महाशिवरात्रिको दिन पानी पर्ने विश्वास छ। त्यसैले रातभर महादेवको आह्वानमा आगो बाल्ने, त्यही मकै भटमास भुट्ने, हलुवा बनाउने, टोल भरीका मानिसहरु भेला भएर धुनी जगाउने गरिन्थ्यो। रातको समयमा धेरै स्थानमा एकै समयमा आगो बाल्ने भएकोले जाडोको महसुस नै हुन्नथ्यो। महाशिवरात्रीको रात यस्ता दृश्य काठमाडौंमा सामान्य हुन्थ्यो।
अहिले पनि यी गीतहरु नेवार बाहुल्य वस्तीहरुमा गुञ्जिन्छन्। शिवालय, मछिन्द्रनाथ, भीमसेन, गणेशका मन्दिरहरुमा धुनी जगाउने गरिन्छ। बालबालिका र युवाहरु 'महाद्य: यात चिकुल' भन्दै गीत गाउँदै गरेको देख्न सकिन्छ। यद्यपि, यो क्रम पहिलाभन्दा घट्दो छ।
पहिला जस्तै दाउरा चोरेर ल्याउने कुरा भएन। नजिकै उपलब्ध जंगल वा काठ गोदामबाट काठ ल्याइन्छ। टोलभरका मानिसहरुबाट पैसा उठाएर काठ, मकैभटमास किन्ने र आगो बाल्ने गरिन्छ। सामुहिक रुपमा आगो बालेर हुने यो प्रचलन केही घण्टामा सीमित हुँदै गएको छ।
नेवार समुदायमा मध्यकालदेखि मात्रै शिवारात्रि प्रचलित हुँदै गएको इतिहासकारहरु बताउँछन्। त्यसअघि नै काठ र दाउरा बालेर जाडो भगाउने गरिएको उनीहरु बताउँछन्। यस दिनबाट जाडो कम हुने र गर्मी बढ्ने जनविश्वास समेत रहेको छ।
'सिलाचह्रे' का रुपमा नेवार समुदायले शिवारात्रिलाई मनाउँदै आएका छन्। सिला नेपाल संवत् अनुसारको एक महिना हो। चह्रे भनेको चतुर्दशी। चन्द्रमासको चौधौं रात सिलाचह्रे पर्छ। संस्कृतज्ञ र इतिहासविद् प्रा धनबज्र बज्राचार्यका अनुसार सिलाको वास्तविक अर्थ 'दाउरा अथवा काठको महिना हुन आउँछ'। त्यसैले सिलाचह्रेको दिन दाउरा, काठ जम्मा गरेर बेलुकी आगो बालेर त्यसैमा मकै भटमास आदिर भुटेर चाड मनाउने परम्परा रहेको छ। यो चलन शिव धर्मसँग कुनै किसिमले सम्बन्धित नरहेको उनको तर्क छ। पछि विस्तारै शिवरात्रीमा धुनी जागाउने र सिलाचह्रे एकआपसमा मिलेको देखिन्छ।
बज्राचार्यका अनुसार सातौं शताब्दीतिर पशुपति भक्त राजा अंशुवर्माको समयमा नेपाल भाषाको शब्द 'सिला'को संस्कृतीकरण भयो र शिवरात्रिको नाममा नेपालमा मात्रै होइन भारतमा पनि प्रचलित भयो। सातौं शताब्दीभन्दा पहिले शिवरात्रिको उल्लेख कतै नपाइएको उनको दाबी छ।
शास्त्रिय दृष्टिकोणले शिवलिङ्ग पृथ्वीमा पहिलो पटक प्रकट भएको दिनलाई महाशिवरात्रिको रूपमा लिने गरिएको कथन समेत रहेको छ।