काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि वमबारी गरेको स्वीकार्दै 'कंकाल निकालेर कलरफुल रिभोलुसन' गर्ने उद्घोष गरेका छन्।
शहीद भरत ढुंगाना स्मृति ग्रन्थ सार्वजनिक कार्यक्रममा बोल्दै उनले भर्खरै भूमिगतबाट खुला राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लवलाई पनि संदेश दिए - हामी सहकार्यको बाटोमै छौं।
भएको उपलब्धी थोरै भए स्वीकार्नुपर्ने बताउँदै उनले केही होइन भनेर एक्लै बस्न नहुने बताए।
'साच्चै लडेको को हो? शास्त्रार्थ गरौं। चिन्ता नगरौं। खतरा अहिले पनि छ। म आन्दोलित र चिन्तित छु,' प्रचण्डले भने।
उनले राष्ट्रिय स्वाधिनताको लडाई पूरा भइनसकेको बताउँदै प्रतिक्रियावादीको जोड माओवादी उपलव्धि ध्वस्त पार्नेमा रहेको बताए। उनले नेपाली जनतालाई बिद्रोह गर्ने अधिकार रहेको बताए।
'ओली बिरुद्ध १९ पेजको प्रस्ताव गर्दा 'बमबार्ड द हेडक्वाटर' गरेकै हो,' प्रचण्डले भने, 'कलरफुल रिभोलुसनबाट प्रतिक्रियावादीका षड्यन्त्र चकनाचुार पार्न सकिन्छ।'
उनले हजारौं कंकाल निकाल्ने पनि बताए। 'वैज्ञानिक समाजवादीका निम्ति शहीदलाई सम्मान गर्छौ,' उनले भने, 'हामीले जनयुद्धको सिद्धन्त बिर्सेका छैनौं।'
