काठमाडौं : जनता समाजवादी पार्टी (राजपा) का नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज छलफलमा जुट्दैछन्। सत्ता साझेदारीको प्रस्ताव आएपछि राजपाले अघि सारेको शर्तहरुमा प्रधानमन्त्रीबाटै प्रष्ट बुझ्नका लागि नेताहरु बालुवाटार जान लागेका हुन्।
महन्थ ठाकुर, राजेन्द्र महतो, उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राई छलफलमा रहने नेता महतोले जानकारी दिए। छलफलको केन्द्रीय विषयवस्तु सत्ता साझेदारी र मधेशसँग जोडिएका मुद्दा रहेको उनले बताए।
नेता सुरेन्द्र झाका अनुसार सत्तारुढ दल नेकपा एमाले र जसपाले गठन गरेको कार्यदलबाट प्रधानमन्त्री ओलीसम्म अनौपचारिक प्रस्ताव पुगेको र त्यसबारे उनको धारण जान्नका लागि नेताहरु छलफलमा जुटेका हुन्।
'प्रधानमन्त्रीले हाम्रो साथ खोज्नुभएको छ। हाम्रा केही मुद्दा छन्। पूरा गरे साथ दिन्छौं । गिफ एण्ड टेकमा जानुपर्छ भन्ने हो,' उनले भने।
राजपाले रेशम चौधरीको रिहाइ, लाल आयोग प्रतिवेदन सार्वजनिक र संविधान संशोधनमा प्रधानमन्त्रीबाट स्पष्ट रूपमा बुझ्न खोजेको हो।
चौथो शक्ति भए पनि मुलुकको पछिल्लो राजनीतिमा रजपा सबैभन्दा प्रभावशाली बनेको छ। सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीको अस्तित्व समाप्त पारेर नेकपा एमाले र माओवादी केन्द्र पुनर्स्थापित गरेपछि सत्ता समीकरण गतिशील बन्न पुगेको छ। माओवादी र एमाले दुवै नेतृत्वले राजपालाई आफूसँग जोड्न भरमग्दुर प्रयास गरेका छन्।
प्रधानमन्त्री ओली राजपाका माग पूरा गरेरै भए पनि सत्तामा टिकिरहने र माओवादीका अध्यक्ष प्रचण्ड कसैगरी पनि ओलीलाई सत्ताबाट बाहिरको बाटो देखाउने प्रयासमा भिडिरहेका छन्।
