PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सत्ता सहयात्राबारे एमाले र जसपाले अब अनौपचारिक परामर्श गर्ने, मागबारे बनेन साझा धारणा



प्रकाश भण्डारी

सत्ता सहयात्राबारे एमाले र जसपाले अब अनौपचारिक परामर्श गर्ने, मागबारे बनेन साझा धारणा
Photo: facebook.com/Prime-Ministers-Press-Advisor

काठमाडौँः सत्तारुढ नेकपा (एमाले) को वार्ता टोली र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताबीचको वार्ता निष्कर्षविहीन रुपमा सकिएको छ। वार्तालाई निरन्तरता दिने समझदारीका साथ बिहीबारको छलफल सकिएको हो। अनौपचारिक रुपमा छलफललाई अघि बढाउने सहमतिसाथ वार्ता टुंगिएको हो। उठाइएका विषयमा दुबै पक्षमा अनौपचारिक छलफलपछि औपचारिक वार्ता अघि बढ्ने एमालेका तर्फबाट वार्ता टोलीका एक सदस्य सुवास नेम्वाङले बताए।

सर्वोच्च अदालतले एकीकृत ने क पाको नाम बदर गर्दै दुबै दल फरक फरक हुने फैसला गरेपछि एमाले सत्ता सहयात्रीको खोजीमा छ। एमालेले पछिल्ला दिनमा जसपासँगको वार्तालाई अघि बढाएको छ। तर, जसपाले अहिलेसम्म सरकारमा सहभागी हुने वा विश्वासको मत प्रधानमन्त्रीलाई दिनेबारे कुनै निर्णय लिएको छैन।

बिहीबार पनि जसपाले सरकारमा सहभागी हुनेबारे कुनै ठोस प्रतिवद्धता जनाएन। यस्तै, सत्तारुढ एमालेका तर्फबाट पनि जसपाले उठाएका मागबारे स्पष्ट धारणा दिइसकेको छैन।

वार्तापछि नेम्वाङ दुबै पक्षबाट कुनै पनि ठोस प्रतिवद्धता जनाइ नसकेको बताए। उनले भने, ‘सरकारले पनि माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएको छैन। उहाँहरुले पनि समर्थनबारे कुनै पनि प्रतिवद्धता जनाउनुभएको छैन । वार्ता हार्दिकतापूर्वक र सकारात्मक रुपमा अघि बढेको छ। अब अनौपचारिक गृहकार्यपछि वार्ता औपचारिक रुपमा हुन्छ।’

जसपाले सरकारमा सहभागी हुन सांसद रेशम चौधरीको रिहाइ, लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधनलाई बटमलाइन बनाएको छ। मागबारे सत्तारुढ दलको वार्ता टोलीले कुनै पनि प्रतिवद्धता जनाएको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell