PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

‘कुडा कर्णालीका’ : कला, साहित्य, रंगकर्मी र लेखकको नजरमा यस्तो छ कर्णाली



पहिलोपोस्ट

‘कुडा कर्णालीका’ : कला, साहित्य, रंगकर्मी र लेखकको नजरमा यस्तो छ कर्णाली

सुर्खेत : कर्णाली उत्सवको कुडा कर्णालीमा (हाम्मो मान्नमी), ‘आम्नै कथा आम्नै बान्की’ मा कर्णालीको कला, साहित्यको विषय कोट्याउने प्रयास गरिएको छ। बहसमा सहभागी रंगकर्मी हिराविजुली नेपाली, देउडा गायक नेत्रराज शाही, साहित्यकार बुद्धि सागर र लेखक सरला गौतमले ‘आम्नै कथा, आम्नै बान्की’ शिर्षकमा बहस गरे। समग्रमा कर्णाली ऐतिहासिक, सम्भावनाको खानी, र दुःख पीडा मात्रै नभएर साहसिक र सपना देख्नेहरुको थलोका रुपमा पनि रहेको छ।

रंगकर्मी हिराबिजुली नेपाली २०६५ सालमा ‘कर्णाली दख्खिन बग्दो छ’ नाटक प्रस्तुत गरेका हिरा अहिले नाट्य क्षेत्रमा व्यस्त छन्। कर्णालीको सुन्दरताको बयान गरिरहँदा पहाड र डाँडाहरु विकट, दुर्गमको प्रतिक हुन नसक्ने उनको तर्क छ।

‘सम्भावनाको खानी हुन सक्छ। कर्णालीमा रंगमञ्चको गतिविधि न्युन छ। जुन गतिमा रंगमञ्च अघि बढ्नुपर्ने थियो सामाजिक कारकले अघि बढ्न सकेको छैन। समाजले हेर्ने दृष्टिकोणले गर्दानै पछि परेको छ, उनले आफ्नो अनुभव सुनाए, ‘घरकै मेरो दाईले हेर साइला खसी, बाख्रा बेचेर आयोग पढ्न जा, वा विदेशतिर जा भन्नुहुन्थ्यो। तर, मलाई रंगमञ्चको ‘भूत’ सुनेर उडाईदिन्थे।’

रंगमञ्च सामाजिक न्यायका लागि साधन बनेको छ र यसलाई समाज रुपान्तरणको महत्वपूर्ण औजारका रुपमा लिन सकिने रंगकर्मी हिराबिजुलीको अनुभव छ।
रंगमञ्च नेतृत्व तहबाट बेवास्तामा परेको उनी बताउँछन्।

‘नेतृत्व तह रंगमञ्चका लागि उदार, माया गर्ने भएन की? फल स्वरुप यो अवस्थामा छौँ,’ उनले भने।

रंगमञ्चका लागि कुनै न्युनतम पूर्वाधार समेत कर्णालीमा निर्माण हुन नसक्दा रंगमञ्चको ‘रंग’ फिजाउन गाह्रो भएको रंगकर्मी हिराबिजुलीको अनुभव छ।

त्यस्तै, देउडा गायक नेत्रराज शाहीको नजरमा देउडा कर्णालीको धरातल भएकाले पहिचान र इतिहास पनि हो।

उनी देउडाकै लयमा भन्छन्, ‘धनी भयो प्रकृतिको विकट भयो भूमी, कस्तुरी वास्ना खोज्छ चारैतिर घुमी।’

साहित्यकार बुद्धिसागरको नजरमा कर्णालीको साहित्य विगतको तुलनामा अहिले केही हदसम्म सुधार भएको छ। विगतमा कर्णालीमा कसैका लेख, रचना पढ्न व्यापारीहलाई ल्याउन लगाउनुपर्दा त्यो पर्याप्त नहुने भन्दै उनले अहिले टेक्नोलोजीका कारण हातहातमा पाइने बताउँछन्।

‘विगतको तुलनामा साहित्य क्षेत्रमा केही सुधार भएको छ। यसक्षेत्रमा अहिले उज्यालो छ’, उनी भन्छन्, ‘विभिन्न कार्यक्रम, उत्सवहरु भइरहेका हुन्छन्, जसले अन्तिममा ‘मोति’ दिईयोस्।’

लेखक सरला गौतमको नजरमा कर्णाली रुँदैन मात्रै, सपना पनि देख्छ, पीडाको खानी मात्रै होइन, विचारको खानी पनि हो।

‘हामीलाई विचार बन्नलाई माइकल, डेभिड नै चाहिन्छ?’ लेखक गौतम प्रश्न गर्छिन्, ‘कर्णाली विचारको थलो पनि हो, सपना पनि हो। विगत १०÷१२ वर्षअघि सपना देखेका मान्छेहरुले राम्रो सफल्ता पाएको र लेख्नेहरुले दुःख, पीडा मात्रै देख्यौँ, सफलता र सपनादेख्नेहरुको कथा बाहिर ल्याउन सकेनौँ।’

उनी अगाडि थप्छिन्,  ‘कर्णालीको अध्याँरोको बारेमा धेरै कुरा भयो, तर, चुपचाप दियो कसले बालिदियो, कर्णालीको सभ्यता कसले सिंगारिदियो? चर्चा छैन।’

लेखक गौतमले कर्णाली तथा सुदुरपश्चिमका सफलता चुमेका उदाहरणीय व्यक्तिहरुको बयान गर्दै स्वप्नील मान्छेहरु बसेको कर्णाली, अध्याँरोसँग मुठ्ठि कस्ने होईन, उज्यालो बाल्नुपर्ने बताउँछिन्।

उनी भन्छिन्,  ‘कर्णाली देखिएको कर्णालीमात्रै होईन्, कर्णाली दार्शनिक छ, कर्णालीलाई हेर्ने देष्टिकोण चाहिन्छ, कर्णाली समग्र वृक्ष जस्तो हो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell