PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

कस्तो छ १५ रुपैयाँको खाजा, कसरी खुवाउँदैछन् विद्यालय प्रशासनले?



फूलमाया पुरी

कस्तो छ १५ रुपैयाँको खाजा, कसरी खुवाउँदैछन् विद्यालय प्रशासनले?

मिठो दलिया खाजाको बासना चालिरहेको थियो विद्यालय परिसरमा। लिटोझैं देखिएको दलिया लिएर लहरै बसेका कोही चम्चा चलाउँदै थिए, कोही खाजा सकिएर चम्चा चुस्दै थिए। अलि ठुला विद्यार्थी साना साना विद्यार्थीलाई खाजा बाँड्न व्यस्त देखिन्थे। कोही स्कुल ड्रेसमै कोही आउट ड्रेसमै।

यही माझमा थिइन् रिया पासवान पनि। कक्षा २ पढ्ने रियालाई मिठो दलिया औधी मिठो लागेछ। अब उनी खाजा खानै भएपनि सधैं स्कुल आउने बताउँदैथिइन्। 'कस्तो मिठो छ नि खाजा,' चम्चा मुखतिर लाँदै रिया भन्दै थिइन्, 'अब त सँधै आउने हो स्कुल।'

यता कक्षा ४ पढ्ने गीता मल्लिकलाई रियाको कुरा मन परेनछ। 'सँधै यही खाजा खान्छु, अहिले मिठो लाग्न छाड्यो,' रियातिर फर्केर प्वाक्क भनिन्।

रियासँगै छेवैमा टाँसिएकी उनकी साथीलाई भने खाजा थप्न मन लागेछ। उनले शिक्षिकासँग खाजा थपिदिन आग्रह गर्दैथिइन्।

***

यो दृश्य हो मोरङको विराटनगर महानगरपालिका वडा ४ स्थित कचनबारीमा रहेको श्री आधारभूत विद्यालयको। जहाँ एकै कोठामा आटेको छ प्रशासन, शिक्षक कार्यालय, अनि भान्सा। एक कुनामा चिया पकाउने अर्को कुनामा खाजाका सरजाम। त्यहीँ दुई जना शिक्षिकाहरु ठुलो डेक्चीमा खाजा पकाउँदै छन्।

‘हिजो त राम्रो पाकेनछ क्यार। केटाकेटीले मन लाएर खाएनन्,’ एक शिक्षिका भन्दैथिइन्।

‘आज मिठो दलिया हो चिनी थप्नुपर्छ। पक्कै खालान्,’ अर्की शिक्षिकाले थपिन्।

झण्डै १५ मिनेटपछि उनीहरुले छेवैको टेबलमा स्टिलका कचौराहरु फिँजाए। बनाइएको खाजा सबैमा बराबर राखे। त्यसबेलासम्म उता खाजा ब्रेकको घण्टी बज्यो।

कार्यकक्षको बाहिर पेटीमा लाइनै विद्यार्थी बसे। कक्षा ६, ७ र ८ का केही छात्राहरुले खाजा बाँड्न थाले।

खाजा कक्षा ५ सम्म मात्र

शिक्षक कार्यालय र कक्षाकोठा बाहिर पिढींमा लहरै विद्यार्थी बसेका थिए। यसरी नै हरेक दिन दिउँसोको खाजा खाने गरेको शिक्षक बेधनिधि भट्टराईले बताए।

उनका अनुसार ५ कक्षासम्मका प्रत्येक विद्यार्थीका लागि विद्यालय दिवा खाजाको व्यवस्था गरिएको छ। ८ कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा २५८ जना विद्यार्थीमध्यये कक्षा ५ सम्मका १७५ जना विद्यार्थीले खाजा खान पाउँछन्।

हरेक साताको आइतवारदेखि बिहिवारसम्म दिउँसोको १:१५ बजे टिफिन ब्रेक हुन्छ। गएको फागुन १२ देखि कक्षा ५ सम्मका विद्यार्थीका लागि स्कूलले खाजाको व्यवस्था गरिरहेको प्रअ बद्रीप्रसाद पराजुलीले बताए।

उनका अनुसार नेपाल सरकार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सार्वजनिक गरेको सहजीकरण पुस्तिकामा उल्लेख भएअनुसार नै पोषणयुक्त खाजा खुवाउन थालिएको हो।

नेपाल स्वास्थ्य फूड इन्डस्ट्रिज प्रालिले तयार पारेको हो यी खाजा। खाजाको मेनुमा तीन परिकार छन् - नमकिन दलिया, मिठो दलिया र खिचडी।

आधारभूत माविलगायतका विराटनगर महानगरपालिकाभित्र ५६ वटा सामूदायिक विद्यालय छन्। जसमध्ये ५२ वटा विद्यालयले खाजा कार्यक्रम सञ्चालन गर्ने महानगर शिक्षा शाखा अधिकृत कृष्ण भट्टराईले बताए।

उनका अनुसार गत माघ पहिलो साताभित्रै सञ्चालनमा आउने गरी शाखाबाट ५२ वटै विद्यालयको खातामा रकम पठाइसकिएको छ।

त्यसो त गत साउनबाटै विद्यालय दिवा खाजा कार्यक्रम सञ्चालनमा ल्याउनु पर्ने थियो। तर कोरोना महामारीका कारण रोकिएको उनको भनाई छ।

‘गत पुस २ गतेबाट विद्यालयहरु सञ्चालनमा आए। कोरोना संक्रमणको बढी जोखिम भएका कारण पुसभरी विद्यालय पुन सञ्चालन कसरी गर्ने भनेर परीक्षणका रुपमा हेरिएको थियो,’ भट्टराईले भने, ‘अवस्था सामान्यतर्फ गएको र सबै विद्यालयमा भौतिक रुपमै विद्यार्थी उपस्थितिमा पठनपाठन गर्न सक्ने अवस्था भएपछि गत माघबाट सबै विद्यालयहरु नियमित सञ्चालनमा छन्।’

‘विद्यालय खुल्न नसकेका कारण यो कार्यक्रम ढिलो सञ्चालनमा आएको हो। तर अब सबै विद्यालयको खातामा पैसा पठाइसकिएको छ’ उनले थपे।

खाजाको १५ रुपैयाँ, प्रभाव के?

भट्टराईका अनुसार प्रतिविद्यार्थी १५ रुपैयाँका दरले तत्काललाई वैशाखसम्मका लागि ६९ दिनको रकम निकासा गरिएको छ। एक शैक्षिक सत्रमा १८० दिनको खाजा खर्च पाउने उनले जानकारी दिए।

निर्देशिकाले सामुदायिक विद्यालयमा मात्र भनेको हुँदा सबै सार्वजनिक विद्यालयमा खाजा कार्यक्रम पुग्न नसकेको उनी बताउँछन्।

निर्देशिकाले स्पष्ट रुपमा नबोलेको हुँदा महानगरपालिका भित्र रहेका १७ वटा मदरसा स्कूल र ३ धार्मिक गुरुकूलमा खाजा कार्यक्रमका लागि रकम उपलब्ध गराउन सकेको छैन। ती विद्यालयले भने खाजा रकम माग गरिरहेका छन्। यस विषयमा कुनै ठोस निर्णय भएको छैन।

शिक्षा विकास समन्वय इकाई प्रमुख टंकप्रसाद गौतमका अनुसार विद्यालय दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयका शिक्षण सिकाइमा प्रभावकारी हुनेछ।

'हिजोका दिनमा विद्यालयमा यस किसिमको व्यवस्थापन थिएन। जसले गर्दा दिउँसोको समय खाजा खान गएका विद्यार्थी विद्यालय फर्किदैन थिए,' गौतमले भने, 'शिक्षण सिकाइमा चुनौती थियो। भोको पेट बालबालिका सिक्नका लागि तयार हुँदैनन्। त्यसैले खाजा कार्यक्रम अत्यन्तै महत्वपूर्ण छ।'

मेनुको विषयमा ग्रामीण क्षेत्रमा भन्दा शहरमा चुनौती देख्छन् उनी। ‘मेनुले भने अनुसारको खिचडी र चनाभन्दा चाउचाउ र बिस्कुटमा रमाउने गर्छन् बालबालिका’ उनले भने ‘यदि आमाले घरमा पकाएको सफा ताजा खाना टिफिन बक्समा राखेर पठाउने हो भने उत्तम हुने थियो।’ जंग फुड छाडेर घरबाटै खाजा ल्याएको दिनको रेकर्ड राखेर खाजाको पैसा मासिक आमाको आम्दानी हुने र बालबालिकाले स्वस्थ्यकर खाजा खान पाउने उनको भनाई छ। सामुदायिक विद्यालय दिवा खाजा मापदण्ड तथा कार्यक्रम सहजीकरण पुस्तिका, २०७६ अनुसार विद्यार्थी संख्या कम भएर विद्यालयमा खाजा तयार गर्न कठिन भए घरबाटै आमाले आजा पठाउन सक्नेछन्।

‘स्थानीय उत्पादनलाई प्रयोगमा ल्याइ सबै बालबालिकामा एकरुपता ल्याउन त विद्यालयले नै व्यवस्था गर्नु उपयुक्त हुन्छ,’ गौतमले भने।

व्यवस्थापनमा केही चुनौती देखिए पनि खाजा कार्यक्रम शैक्षिक गुणस्तरमा वृद्धि गर्ने अवसर भएको प्रअ पराजुलीको भनाई छ। स्थानीय तहले नै खाजाको व्यवस्था गरिदिए अझ सहज हुने उनले बताए।

सस्तो कि सकस?

विराटनगर महानगरपालिका शिक्षा महाशाखाका प्रमुख दुर्गाप्रसाद खतिवडाले यो कार्यक्रम व्यवस्थापनका लागि नगरलाई अनुरोध आएको बताउँछन्। तर व्यवस्थापन चुनौती भएकोले विद्यालयबाटै नै खाजा कार्यक्रम सञ्चालन गर्न ठीक हुने उनले बताए।

'नगरले नै टेन्डर गरेर सबै विद्यालयका लागि तयारी खाजाको व्यवस्था गरिदियोस् भन्ने पनि आएको थियो। तर यो पहिलो पटक आएको कार्यक्रम हो,' खतिवडाले भने, 'सबै विद्यालयका लागि नगरले व्यवस्था गर्दा ठूलो रकम हुन आउँछ। र त्यसमा झन् व्यवस्थापनमा चुनौती देखिन्छ। त्यसैले हामीले सबै विद्यालयमार्फत खाजा कार्यक्रम चलाउन भनिसकेको अवस्था छ।'

विद्यालय खुलेका मितिदेखि प्रति विद्यार्थी १५ रुपैयाँका दरले खाजाको रकम दिने नगरपालिकाले निर्णय गरेर पेस्की पठाइसकेको छ। खाजा कार्यक्रम सञ्चालन गर्नका लागि हरेक वडाका विद्यालयहरुलाई एक दिने कार्यशाला गोष्ठी गरी जानकारी गराएको थियो।

निर्देशिकाले भनेअनुसारका विभिन्न मोडालिटीमध्ये सबैभन्दा उपयुक्त विद्यालय स्वयंले व्यवस्थापन गर्नु हो। त्यसो  त प्रत्येक विद्यार्थीलाई प्रतिविद्यार्थि रु १५ का दरले रकम नै दिने कि भन्ने पनि थियो तर त्यसलाई संशोधन गरी तीस जनाभन्दा कम विद्यार्थी भएमात्र बनाइएको छ। विराटनगर महानगरपालिकामा कुनै पनि विद्यालयमा ३० जना भन्दा कम संख्यामा प्राथमिक तहका विद्यार्थी छैनन्।

त्यसो त यदि विद्यालयमै खाजा बनाउने हो भने त्यसका लागि आवश्यक जनशक्ति र अन्य सामाग्री व्यवस्थापनको विषयमा निर्देशिका स्पष्ट छैन। यस विषयमा मन्त्रालयले नै निर्णय गर्ने भनिएको छ। तर अहिलेसम्म भएन। त्यसैले कहिलेसम्म पर्खिएर बस्ने? त्यसैले तत्कालका लागि विद्यालय आंफैले बजार मूल्य अनुसार त्यसको व्यवस्थापन गर्नुपर्ने खतिवडा बताउँछन्।

गत वर्ष महानगरले विराटनगर १८ र १९ नम्बर वडामा कक्षा तीनसम्मका विद्यार्थीका लागि खाजा कार्यक्रम सञ्चालन गर्दै आएको थियो। अब केन्द्रले नै कार्यक्रम ल्याएकोले आगामी वर्षहरुमा प्रभावकारी हुनेमा आफू विश्वस्त भएको खतिवडाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell