PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

५ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने युरेनियम सहित ४ जना पक्राउ, प्रयोगशालमा परीक्षण गर्दा ठहरियो - सक्कली



सविन ढकाल

५ अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने युरेनियम सहित ४ जना पक्राउ, प्रयोगशालमा परीक्षण गर्दा ठहरियो - सक्कली

काठमाडौं : पहिलो पटक साढे दुई किलोग्राम युरोनियम सहित नेपालमा मानिस पक्राउ परेका छन्। ठूलो परिणाममा युरेनियम नै जफत भएको यो पहिलो घटना हो।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआइजी हरिबहादुर पालका अनुसार  युरेनियम - २३८ जफत भएको छ भने ४ जना पक्राउ परेका हुन्।

पालका अनुसार जफत भएको युरेनियमको मूल्य ५ अर्ब रुपैयाँभन्दा बढी हुन आउँछ। राजधानीको बौद्धमा रहेको एउटा घरबाट युरेनियम जफत भएको हो। पक्राउ परेका अभियुक्तले बयानमा २० वर्ष अघि नै भारतको एउटा खानीबाट युरेनियम ल्याएको जनाएको प्रहरीको दावी छ।

प्रहरीले हिजो युरेनियमसहित उनीहरुलाई पक्राउ गरेको हो। पालका अनुसार उनीहरुसँग भेटिएको पदार्थ नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको हो।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्। नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापकै बागजोरका हुन्। न्यौपाने भने सिन्धुली सुनकोशीका हुन्।

जफत भएको युरेनियम प्राकृतिक युरोनियम हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरोनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ। 

यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यसलाई सबैभन्दा मूल्यवान धातुका रुपमा लिइन्छ। दोस्रो विश्वयुद्धमा जापानमा हानिएको पारमाणु बममा यो धातुको प्रयोग भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell