काठमाडौं : नेकपा एमालेको प्रधानमन्त्री ओली समूहको केन्द्रीय कमिटीको बैठकले वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाललाई थाहै नदिइ पदीय जिम्मेवारी खोसेको छ।
बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले महासचिव र अध्यक्ष बाहेकको जिम्मेवारीमा रहेका नेताहरुलाई पदीय जिम्मेवारीबाट हटाएको हो। नेकपा एमालेको महासचिव इश्वर पोखरेल छन् भने अध्यक्षको जिम्मेवारीमा केपी शर्मा ओली छन्।
स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन, माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्यको जिम्मेवारी, प्रदेश इञ्चार्जको जिम्मेवारिमा हेरफेर लगायतका निर्णय भएको छ आजको बैठकमा।
आफूलाई थाहै नदिएपछि वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले भने ओलीको कदमको विरोध गरेका छन्।
ओलीले गरेका निर्णय नेकपा एमालेको हुनै नसक्ने स्थायी कमिटी सदस्य युवाराज ज्ञवालीले दाबी गरे।
'एकीकरणपछि एमाले भएका मानिसहरुको बैठक होला, पूर्व एमाले र माओवादी भनेर सर्वोच्चले भनेको छ। त्यसको बैठक बसेको छैन। उहाँले १२ सय, १५ सय को कमिटी बनाउनु भएको थियो, त्यसको भेला होला। एमालेको होइन,' उनले भने।
ओलीको निर्णयलाई आफूले गम्भीर रुपमा लिएको ज्ञवालीले बताए। सर्वोच्च अदालतको फैसलापछि पार्टीको बैठक नै नराखी जिम्मेवारी खोसिनु आपत्तिजनक भएको उनको भनाई थियो।
'यो त गम्भीर कुरा हो। यसरी जाने हो भने गम्भीर रुपमा सोच्नुपर्ने हुन्छ,' उनले भने।
