PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

युरेनियम किन्न प्रहरी आफैँ अपरेसनमा, आखिर कहाँबाट कसले ल्यायो अर्बौको वस्तु?



सविन ढकाल

युरेनियम किन्न प्रहरी आफैँ अपरेसनमा, आखिर कहाँबाट कसले ल्यायो अर्बौको वस्तु?

काठमाडौं : नेपाल प्रहरीकै इतिहासमा सबैभन्दा ठूलो परिणाममा युरेनियम बरामद भएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले एक साता लामो अनुसन्धानपछि ठूलो परिणाममा युरेनियमसहित चार जना मानिस पक्राउ गर्न सफल भएको दावी गरिरहेको छ।

महानगरीय प्रहरी कार्यालयको टोलीले सोमवार बौद्धबाट २ किलो ५ सय ग्राम युरेनियम बरामद गरेको हो। प्रहरीले बरामद गरेको युरेनियम- २३८ क्याटोगोरीमा पर्छ। प्रहरीका अनुसार २ सय ३५ क्याटोगोरिको युरेनियम सबैभन्दा उत्कृष्ट मानिन्छ। युरेनियम-२३५ को मूल्य १ किलोको १८ अर्ब रुपैयाँसम्म पर्ने गरेको प्रहरी अधिकृतहरू बताउँछन्।

पक्राउ पर्नेमा ४० वर्षीय नारायण सिंह तामाङ, ४० वर्षकै जानुका तामाङ, २० वर्षीय प्रकाश चौहान र २० वर्षीय मनोज न्यौपाने रहेका छन्। नारायण सिंह र जानुका रामेछाप लिखु तामाकोशीका हुन् भने चौहान रामेछापकै बागजोरका हुन्। न्यौपाने भने सिन्धुली सुनकोसीका हुन्।

प्रहरीले बरामद गरेको युरोनियम-२३८ को मूल्य ५ अर्ब भन्दा बढी पर्छ। जफत भएको युरेनियम प्राकृतिक युरेनियम हो। युरेनियम २३८ लाई प्रशोधन गरेर युरेनियम २३५ बनाइन्छ। एक किलोग्राम युरेनियम २३५ बाट निस्किने ऊर्जा तीन लाख टन कोइलाबाट निस्किने ऊर्जा बराबर हुने मानिन्छ। १० ग्राम युरेनियम २३५ को मूल्य २० लाख ९ हजार डलर अर्थात् १८ करोड रुपैयाँभन्दा माथि पर्न जान्छ।

यो पारमाणविक भार भएको रेडियोधर्मी धातु हो। यसलाई सबैभन्दा मूल्य वान धातुका रूपमा लिइन्छ। दोस्रो विश्वयुद्धमा जापानमा हानिएको परमाणु बममा यो धातुको प्रयोग भएको थियो।

प्रहरीले बरामद गरेको युरेनियम नै भएको ल्याबबाट पुष्टि भइसकेको प्रहरीले दावी गरेको छ।

'हामीले ल्याबमा परीक्षण गराएका थियौँ। युरेनियम नै भएको जानकारी आएको छ,' महानगरीय प्रहरी कार्यालयका एआइजी हरिबहादुर पालले भने। पालका अनुसार उनीहरूसँग भेटिएको पदार्थ नेपाल विज्ञान तथा प्राविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को  ल्याबमा परीक्षण गर्दा सक्कली पुष्टि भएको हो।

कहाँबाट आयो युरेनियम ?

प्रहरीले बिहीवार काठमाडौंको बौद्ध टुसालबाट युरेनियम सहित चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो। ४० वर्षीय जानुका तामाङले युरेनियम बिक्री गर्न लागेपछि प्रहरीले पक्राउ गरेको हो। जानुकाका आफन्त पर्ने एक पुरुषले करिब २० वर्षअघि भारतबाट युरेनियम ल्याएको प्रहरीमा बयान दिएको एआइजी पालले बताए।

'२० वर्षअघि भारतको एक खानीबाट ल्याएर घरमा राखेको बताएकी छिन्। उनका आफन्त भने अहिले विदेशमा छन्। त्यही मौकामा उनले बिक्री गर्न खोजेको देखिएको छ,' एआइजी पालले भने।

युरेनियम भारतबाट ल्याउने अमर लामा भन्ने मानिस भने अमेरिका रहेको प्रहरीले जानकारी दिएको छ। उनी शारीरिक रुपमा अशक्त रहेको प्रहरीले जनाएको छ। 'प्यारालाइसिस भएर शरीर नचल्ने अवस्था रहेछ। हामीले अमेरिकामा कन्ट्याक्ट गरेका थियौँ। ल्याउने मानिस नै प्यारालाइसिस भएपछि थप खुल्न सकेको छैन,' एआइजी पालले भने।

युरेनियम घरमा रहेको जानकारी उनले नारायण सिंहलाई सुनाएकी थिइन्। उनले त्यसपछि यसको बजार मूल्य अर्ब भन्दा बढी भएको सुनाएपछि बिक्री गर्न तयार भएका थिए। बिक्री गर्ने मानिस भने  मनोज न्यौपाने र प्रकाश चौहानलाई खोज्न जिम्मा दिएका थिए। उनीहरूले मानिस खोजेर बिक्री गरे जनही २ करोड रुपैयाँ कमिसन समेत दिने सहमति भएको पक्राउ परेका अभियुक्तले बयान दिएका छन्।

तर, प्रहरीले युरेनियम बिक्री गर्ने जानकारी पाएपछि ग्राहक बनेर अपरेसन गरेको थियो। उनीहरूले १ अर्ब ५ करोड रुपैयाँ मूल्यमा बिक्री गर्न तयार भएको थियो। प्रहरीले मार्च ३ मा विधिविज्ञान प्रयोगशाला पहिलो पटक परीक्षण गराएको थियो।

प्रहरीले पक्राउ गरेका चार जनालाई विस्फोट पदार्थ ऐन २०१८ अन्तर्गत पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। तर, यतिका ठूलो मात्रमा युरेनियम सर्वसाधारण मानिस कहाँ भेटिनु आफैमा अपत्यारिलो देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell