PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने



एम बम

एलपीएल : उपाधिका लागि हिमालयन ह्वाइट हाउस र लिटल फ्लावर भिड्ने

कैलाली : धनगढीमा जारी चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपीएल) क्रिकेट प्रतियोगतामा हिमालयन ह्वाइट हाउस काठमाडौं र लिटल फ्लावर स्कुलबीच उपाधिको लागि भिडन्त हुने भएको छ। आज भएका सेमिफाइनलका खेलमा जित निकाल्दै दुवै टोली उपाधि नजिक पुगेका हुन्।

पहिलो सेमिफाइनलमा शारदा सरस्वतीलाई ८९ रनले पराजित गर्दै ह्वाइट हाउस फाइनलमा पुगेको हो। संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा पहिले ब्याटिङ गरेको ह्वाइट हाउसले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। ह्वाइट हाउसका लागि कप्तान दीपक बोहराले ७३ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै, अर्का दीपक बोहराले ६२ रनको अर्धशतकीय इनिङ्स खेले।

शारदाका गणेश बहादुर बिटालुले ३ विकेट लिए।

ह्वाइट हाउसले दिएको १ सय ६५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको शारदा १२ ओभरमा अलआउट हुँदै ७५ रनमा समेटियो। उसका गणेश बहादुरले सर्वाधिक २२ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्।

ह्वाइट हाउसका कप्तान दीपक र सन्दीप शाहीले ३/३ विकेट लिए। खेलको प्लेयर अफ द म्याच ह्वाइट हाउसका कप्तान दीपक चुनिए।

आजै भएको दोस्रो सेमिफाइनलमा लिटल फ्लावर स्कुलले बालबाटिकालाई ३ विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको बाल बाटिकाले १६ ओभर १ बलमा सबै विकेट गुमाउँदै ९० रन बनायो। उसका लागि विराट भण्डारीले २९ र कलम ओलीले २२ रन बनाए।

लिटल फ्लावरका पुष्करराज बडुले ४ विकेट लिए।

९१ रनको विजयी लक्ष्यसहित मैदानमा उत्रिएको लिटल फ्लावरले १८ ओभर ३ बलमा ७ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। लिटल फ्लावरको जितमा राजकुमार शाहले अविजित रहदै २४ र शैलेस केसीले २२ रन बनाए।

बाल बाटिकाका कमल ओलीले ५ विकेट लिए। खेलका म्यान अफ द म्याच लिटल फ्लावरका पुष्करराज बडु भए। भोलि संघीय प्रहरीको खेल मैदानमा फाइनल खेल हुनेछ।

प्रतियोगिताको विजेताले १ लाख २० हजार पाउने छन्। त्यस्तै, उपविजेताले ६० हजार प्राप्त गर्दा सर्वोत्कृष्ट खेलाडीले १० हजार पाउने छन्। उत्कृष्ट ब्याट्सम्यान, बलर र उदयमान खेलाडीले ५/५ हजार पाउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell