PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीले खोसे माधव नेपालदेखि बामदेव गौतमसम्मको जिम्मेवारी, प्रदेश इन्चार्ज पनि खोसुवामा



प्रकाश भण्डारी

ओलीले खोसे माधव नेपालदेखि बामदेव गौतमसम्मको जिम्मेवारी, प्रदेश इन्चार्ज पनि खोसुवामा

काठमाडौं : नेकपा एमालेको ओली समूहको बालुवाटारमा बसेको बैठकले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका नेताहरुको जिम्मेवारी खोसेको छ।

पार्टी विधानको बाधा अडाकाउ फुकाउ सम्बन्धि निर्णय गर्दै ओलीले बोलाएको बैठकमा प्रदेश र विभागको जिम्मेवारीमा रहेका नेताहरु हेरफेर भएको ओली समूहका नेता तथा एमाले केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले जानकारी दिए। 'विधानको बाधा अडाकाउ, विभागीय जिम्मेवारीमा हेरफेर र प्रदेश इञ्चार्जमा नेताहरुको हेरफेर भएको छ,' उनले भने।

यस्तै, नेकपा विवादका बेला तटस्थ बसेका वामदेव गौतमलाई समेत ओलीले जिम्मेवारीबाट हटाएका छन्। संगठन विभागको प्रमुखको जिम्मेवारीमा रहेका वामदेव गौतमलाई हटाउँदै ओलीले एमाले उपमहासचिव विष्णु पौडलेललाई नियुक्त गरेका छन्।

ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरुलाई प्रदेश इञ्चार्जबाट पनि हटाएका छन्। प्रदेश १ मा नेपाल समूहका भीम आचार्य प्रदेश इञ्चार्ज रहेकोमा ओलीले सुवास नेम्वाङलाई जिम्मेवारी दिएका हुन्। प्रदेश २ मा सत्यनारायण मण्डल प्रदेश इञ्चार्ज बन्दा नेकपा माओवादी केन्द्रका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई वाग्मती प्रदेशको इञ्चार्जको जिम्मेवारी तोकिएको छ। नेपाल समूहका अष्टलक्ष्मी शाक्यको वाग्मती प्रदेशको जिम्वारी खोसिएको हो। सुदुर पश्चिममा नेपाल समूहका भीम रावललाई प्रदेश इञ्चार्जको जिम्मेवारीबाट हटाइएको छ भने माओवादी केन्द्रबाट नेकपा एमालेको आजै केन्द्रीय सदस्यमा मनोनीत भएका उद्योगमन्त्री लेखराज भट्टलाई ओलीले इञ्चार्ज तकिएको छ।

यस्तै, माओवादी केन्द्रका बादल, भट्टसहित ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा लगाएत २३ जना नेता नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित भएका छन्। नेकपा एमालेको २ सय ४१ जनाको केन्द्रीय कमिटी रहेकोमा ओलीले २३ जना थप गर्दै अब एमालेको २ सय ६४ जनाको केन्द्रीय कमिटी बनाएका छन्।

विदेश विभाग प्रमुखको जिम्मेवारीमा रहेका माधव नेपालको जिम्मावारी पनि खोसिएको ओली समूहका नेता तथा केन्द्रीय कमिटी सदस्य विशाल भट्टराईले बताए। नेपालको ठाउँमा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएको भट्टराईले बताए।

निर्वाचन विभागको जिम्मेवारीमा नेपाल समूहका राजेन्द्र पाण्डे रहेकोमा ओलीले आफू निकट नेता छविलाल विश्वकर्मालाई नियुक्त गरेका छन् भने पार्टीको प्रचार विभागबाट योगेश भट्टराईलाई हटाएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तोकिएका छन्। उनलाई पार्टी प्रवक्ताको जिम्मेवारी पनि दिइएको छ।

यस्तै, आजको केन्द्रीय कमिटी बैठकले नेकपा एमालेको १० औ महाधिवेशन मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय गरेको छ।

ओली समूहले वरिष्ठ नेता नेपाल र झलनाथ खनाललाई थाहै नदिइ बैठक गरेको थियो। ओलीले चैत १ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको भन्दै नेपाल समूहका नेतालाई जानकारी गराएको भए पनि आजै बैठक गरेर नेपाल-खनाल समूहलाई वाइपास गरेका हुन्।

अर्को केन्द्रीय कमिटीको बैठक फागुन ७ गतेका लागि बोलाउँदै ओलीले नेपाल-खनाल समूहका नेतालाई समेत बोलाउन पार्टी महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएका छन्।

ओलीले बैठकमा नेपाल-खनालले आत्मालोचना गर्नुपर्ने बताएका थिए। ओली समूहका नेता विशाल भट्टराईले नेपाल खनालले आत्मालोचना गरे सजिलै पुनर्मिलन हुनसक्ने बताएको जानकारी दिए।

'अबको बैठकमा बरिष्ठ नेताहरुलाई पनि बोलाउनु भन्नुभएको छ। आत्मालोचना गरेमा फेरि पनि पार्टीमा सहज वातावरण बन्छ भन्ने प्रधानमन्त्रीको धारणा रह्यो,' उनले भने।

एमालेको नेपाल-खनाल समूहले ओली समूहको बैठकलाई गम्भीर आपत्तिको विषय भएको प्रतिक्रिया दिएको छ। नेपाल समूहका नेता तथा स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले ओलीले गरेको बैठक नेकपा एमालेको बैठक हुनै नसक्ने भन्दै आपत्ति जनाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell