विराटनगर : षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कारबाट नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धमेन्द्र झा र पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने सम्मानित भएका छन्। नेपाल पत्रकार महासंघ मोरङले सूचनाको हक राष्ट्रिय पुरस्कारबाट झा र प्रोत्साहन प्रादेशिक पुरस्कारबाट न्यौपानेलाई सम्मान गरेको छ।
झालाई प्रदान गरिएको षष्टिका सूचनाको हक राष्ट्रिय पुरस्कारको राशी ५१ हजार ५१ रुपैयाँ रहेको छ। र, न्यौपानेलाई प्रदान गरिएको सूचनाको हक प्रोत्साहन पुरस्कार पुरस्कार राशी १५ हजार १५ रूपैयाँको रहेको नेपाल पत्रकार महासंघ मोरङका सचिव अर्जुन आचार्यले जानकारी दिए। शुक्रवार विराटनगरमा आयोजित औपचारिक कार्यक्रममा पत्रकार झालाई र झापाका पत्रकार न्यौपानेलाई सम्मान गरिएको हो।
दुवै पुरस्कार प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले पत्रकार झा र न्यौपानेलाई दोसल्ला ओढाई माला र टोपी लगाएर नगद प्रदान गरी सम्मानपत्रका साथ सम्मान गरेका हुन्।
सूचनाको हक कार्यान्वयन गराउन लागि पर्ने पत्रकार र अभियन्ताहरुको सम्मान र उत्प्रेरणा बढाउन विराटनगर सचेत नागरिक केदारबहादुर बस्नेतले आफनी स्वर्गीय पत्नी षष्टिका बस्नेतको स्मरणमा चार बर्षअघि अक्षय कोषको स्थापना गरी पुरस्कार राशीको स्थापना गरेका थिए।
सूचनाको हक राष्ट्रिय पुरस्कार यस अघि सूचना आयोगका पूर्व प्रमुख आयुक्त्त विनय कसजु, नेपाल पत्रकार महासंघका पूर्व सभापति तारानाथ दाहाल र शिव गाउँलेले पाइसकेका छन्।
त्यस्तै, सूचनाको हक प्रोत्साहन पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साल र सूचनाको हकका अभियन्ता राजु अधिकारीले प्राप्त गरिसकेको महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बताए।
